अनलाइनबाट मतदाता नामावली संकलन र अद्यावधिक गरिदै

0
279

दार्चुला, माघ १७ गते ।
निर्वाचन आयोगले अनलाइनबाट मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य सुरु गरेको छ । आयोगको सुचनाअनुसार जिल्ला निर्वाचन कार्यालय दार्चुलाबाट नामावली संकलन तथा अद्यावधिक कार्य सुरु भएको जिल्ला निर्वाचन अधिकारी प्रदीप सिंह धामीले बताउनुभयो ।
आयोगले पुष २५ गते प्रेस विज्ञप्तिमार्फत अनलाइनमार्फत नामावली संकलन र अद्यावधिकको कार्य गरिने जनाएको थियो । माघ २ गतेदेखि अनलाइनबाट फारम भर्न सकिने व्यवस्था मिलाइएको थियो भने माघ १५ गतेदेखि जिल्ला निर्वाचन कार्यालयमा मतदाताको रुजु गर्ने कार्य सुरु गरिएको छ ।
मतदाताले निर्वाचन आयोगको वेभसाइटमार्फत नामावली संकलनको फारम भर्न सकिने व्यवस्था रहेको जिल्ला निर्वाचन अधिकारी धामीले बताउनुभयो । ‘अनलाइन फारममा नेपाली नागरिकता प्रमाणपत्रको दुबैतर्फको फोटो खिचेर अपलोड गर्नुपर्ने हुन्छ’ उहाँले भन्नुभयो । मतदाताको व्यक्तिगत विवरण फारममा भरेपछि जिल्ला निर्वाचन कार्यालयमा सनाखत गर्न आउने दिनसमेत आवेदकले रोज्नुपर्ने हुन्छ ।
इन्टरनेटको पहुँच भएको र धेरै भीडभाड हुने जिल्लाका लागि अनलाइनमार्फत मतदाता नामावली संकलन र अद्यावधिक गर्ने कार्य सजिलो भएको जिल्ला निर्वाचन अधिकारी प्रदीप सिंह धामीले बताउनुभयो । दार्चुलामा माघ १५ गते २ जना र १६ गते २ जनाले नामावली दर्ता गराएका छन् ।
इन्टरनेट प्रयोग गरिरहने व्यक्तिका लागि अनलाइनमार्फत फारम र विवरण भर्न कुनै अप्ठेरो नरहेको जिल्ला निर्वाचन कार्यालयका सुचना अधिकारी चित्रप्रकाश जोशीले बताउनुभयो । सेवाग्राहीकोे सुविधाका लागि जिल्ला निर्वाचन कार्यालयले समेत अनलाइन विवरण भर्नमा सहयोग गरिरहेको उहाँले जानकारी दिनुभयो ।
नयाँ मतदाताले जुनसुकै जिल्ला निर्वाचन कार्यालयमा उपस्थित भएर सनाखत गर्न सकिने व्यवस्था आयोगले गरेको छ । विवाह र बसाइसराइका कारण मतदाता नामावली अद्यावधिक गर्नुपर्ने अवस्थामा अनलाइनबाट विवरण भरेर परिवर्तन गर्न सकिने भएको छ । यसका लागि मतदाताले जिल्ला निर्वाचन कार्यालयमा पुग्नु नपर्ने जिल्ला निर्वाचन अधिकारी धामीले बताउनुभयो । ‘विवाह दर्ताको प्रमाणपत्र वा बसाइसराइ दर्ता प्रमाणपत्रको फोटोसहितको विवरण अनलाइनमा भरिएपछि स्वतः नामावली अद्यावधिक हुने व्यवस्था छ’ उहाँले भन्नुभयो ।
मतदाता नामावली अद्यावधिक गर्नकै लागि भौतिक रुपमा जिल्ला निर्वाचन कार्यालयमा पुग्नुपर्ने बाध्यता हटेको छ । मृत्युका कारण नामावलीबाट नाम हटाउनका लागि एकाघरपरिवारको सदस्यले मृत्युदर्ता प्रमाणपत्रको फोटोसहितको विवरण अनलाइनमार्फत नै भर्ने व्यवस्था गरिएको छ ।
मतदाता नामावलीमा कुनै दावीविरोध वा उजुरी भएका भने प्रमाणसहित जिल्ला निर्वाचन कार्यालयमा निवदेन दिनुपर्ने निर्वाचन आयोगले जनाएको छ । कानुनबमोजिम मतदाता हुन योग्यता पुगेका सबैलाई अनलाइनमार्फत विवरण गर्न आयोगले आव्हान समेत गरेको छ । अर्को सुचना जारी नभएसम्म मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने कार्य जारी रहने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।