मकरीगाड–काफलधार सडक निर्माण थाल्न स्थानीयको माग

0
2340

दार्चुला, पुष १४ गते ।
अपिहिमाल गाउँपालिकाको मकरीगाडदेखि काफलधार हुँदै गाउँपालिका केन्द्र जोड्ने सडक तत्काल निर्माण गर्न स्थानीय वासिन्दाले माग गरेका छन् । मकरीगाड हाइड्रो पावर प्रालिलाई तत्काल सडक निर्माण सुरु गर्न आइतवार ज्ञापनपत्र दिइएको छ ।
मकरीगाडमा जलविद्युत आयोजनाको निर्माण सुरु गरिदा गाउँपालिकासंग भएको सहमतिअनुसार तत्काल मकरीगाडदेखि काफलीधार हुँदै खण्डेश्वरी जोड्ने सडक निर्माण गर्न ज्ञापनपत्रमा भनिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला सदस्य भरतसिह धामीको नेतृत्वमा अपिहिमाल गाउँपालिका वडा नम्बर १, २, ३ र ४ का सयौं स्थानीयको हस्ताक्षरसहित ज्ञापनपत्र दिइएको छ ।
मकरीगाड हाइड्रो पावर प्रालि र अपिहिमाल गाउँपालिकालाई छुट्टाछुट्टै ज्ञापनपत्र दिइएको नेतृत्वकर्ता धामीले बताउनुभयो । नेपाल सरकारको रणनीतिक सडकअन्तर्गत रहेको पारिबगर–मकरीगाड–खण्डेश्वरी सडक निर्माणलाई तत्काल गति दिन माग गरिएको छ ।
मकरीगाडदेखि अगाडि सडक निर्माणको कार्य सञ्चालन नभएकोमा स्थानीय वासिन्दाले सरोकार देखाएको नेकपाका जिल्ला सदस्य एवं अपिहिमाल गाउँपालिका सहइन्चार्ज जीवनसिह लोथ्यालले बताउनुभयो । ‘जनताको विकासको आशा जागेको छ तर सडक निर्माणले गति पाउन सकेको छैन’ उहाँले भन्नुभयो, ‘पूर्वसहमति अनुसार तत्काल मकरीगाडदेखि काफलीधार हुँदै खण्डेश्वरी सडक निर्माण गरिनुपर्छ ।’
मकरीगाड हाइड्रोपावर प्रालिले जलविद्युत आयोजनाको स्थलसम्म सडकको ट्रयाक खोलिसकेको छ । मकरीगाडदेखि अगाडिको सडक निर्माणमा ढिलाई भएको स्थानीयको गुनासो छ । मकरीगाड क्षेत्रमा जलविद्युत आयोजनाका संरचना निर्माण सुरु गरिएका छन् । ‘जलविद्युत आयोजनाका भवन र अन्य संरचना निर्माण गरिदा त्यसभन्दा अगाडिको सडक निर्माणमा ढिलाइ भइरहेको’ नेकपाका अपिहिमाल गाउँपालिका सहइन्चार्ज लोथ्यालले बताउनुभयो । ‘जलविद्युत आयोजना संरचनाले त्यसभन्दा अगाडिको सडक निर्माणमा अवरोध हुने आशंका पनि स्थानीयको छ’ उहाँले भन्नुभयो ।
अपिहिमाल गाउँपालिकाका प्रवक्ता रविन्द्रसिह बोहराले स्थानीयको माग सम्बोधन गर्न गाउँपालिकाले पहल गर्ने बताउनुभयो । ‘पुष १६ गते जलविद्युत आयोजनाका अधिकारीसंग यसबारे छलफल राखिएको छ, गाउँपालिकाले आवश्यक पहल र समन्वय गर्दैछ’ उहाँले भन्नुभयो । अपिहिमाल गाउँपालिकाको वडा नम्बर १ र २ रहेको घुसा क्षेत्रका साथै वडा नम्बर ३ र ४ का सयौं स्थानीय वासिन्दाले ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।