ब्याँसमा आलु उत्पादन प्रयाप्त : न ढुवानी गर्न सडक छ न त कोल्ड स्टोर

0
407

दार्चुला,साउन ०६ गते ।
दार्चुला जिल्लाको आलु फल्ने हावापानी र वातावरण अनुकूल रहेको स्थानीय तहमध्ये ब्याँस गाउँपालिका आलु पकेट क्षेत्रकै रुपमा लिइन्छ । ब्याँस गाउँपालिकाको सबै जसो वडामा आलु फल्ने अनुकूल माटो तथा हावापानी रहेको छ । मुख्यगरी वडा नम्बर ३ सिना क्षेत्र भने गाउँपालिकाकै आलु उत्पादनका लागि उत्तम क्षेत्र मानिन्छ । तर वर्षातको समय सुरु भएसंगै सदरमुकाम खलंगासम्म जोड्ने एकमात्र सडक दार्चुला–टिंकर सडक बन्द हुँदा किसानले उत्पादन गरेका कृषिजन्य उत्पादन खेतबारीमै कुहिन थालेको छ ।
वर्षातले दार्चुला–टिंकर सडक खण्डको विभिन्न ठाउँमा पहिरो खस्दा सडक बन्द भएको हो । सडक बन्द भएपछि ढुवानी गर्न नसकिएर व्याँस गाउँपालिकाका विभिन्न वडाहरुका किसानले व्यक्तिगत तथा समूह मार्फत उत्पादन गरेका कृषि उपजहरु खेतबारीमै कुहिन थालेको जनभावना साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष एवम् कृषक अकबर सिंह धामीले जानकारी दिनु भयो । गाउँपालिकाको कृषि विकास शाखाको आर्थिक तथा प्राविधिक सहयोगमा उत्पादन गरिएका कृषि उत्पादनहरु खेतबारीमा कुहिन थालेपछि किसानहरु चिन्तित भएका छन् । सरकारले उत्पादनमा मात्रै लगानी गरेर नहुने भन्दै उत्पादित कृषि उपजहरुको ढुवानीमा समेत सहयोग गर्नुपर्ने ब्याँसका कृषकहरुले बताएका छन् ।
जनभावना साना किसान कृषि सहकारी संस्था लिमिटेडले विभिन्न कलस्टरमा उत्पादन गरेको आलु खेतबारीमै कुहिन थालेको व्याँस गाउँपालिका कृषि शाखाका प्रमुख विशेश्वर प्रसाद बडूले बताएका छन् । गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा किसानहरुले उत्पादन गरेको करिव ६ सय क्वीन्टल आलु खेतबारीमा कुहिन थालेको छ ।
‘बाटोघाटो बन्द छ, ढुवानी गर्न नसकिदा किसानले उत्पादन गरेको कृषि उपज कुहिदा दुःख लाग्यो, कृषि शाखा प्रमुख बडूले भने ।’ १ सय क्विन्टल आलु खेतबाट निकालेको तथा ५ सय क्विन्टल आलु खेतबारीबाट निकाल्न बाँकी रहेको उनले बताएका छन् ।
आलु उत्पादन भएपनि भण्डार गर्न कोल्ड स्टोरको अभाव हुदाँ समस्या भएको कृषकहरुको गुनासो छ । ‘सहाकारीले आलु उत्पादन गरेका छौँ तर न भण्डारका लागि कोल्ड स्टोर छ, नत बजार पहुँच छ’व्याँसका किसानले उत्पादन गरेको कृषि उपज दिनप्रति दिन खेतबारीमै कुहिदै गएको छ, कृषक अकबर सिह धामीले भने ।’सडक बन्द हुँदा किसानले उत्पादन गरेका कृषि उपज ढुवानी गर्न त पाएका छैनन, कोल्ड स्टोर नहुँदा भण्डारण गर्न पनि पाएका छैनन ।
सरकारले अन्य बिलासिताका वस्तुहरुमा ठुलो रकम खर्च गर्नु भन्दा कृषकका उत्पादन भण्डारण गर्न कोल्ड स्टोर जस्ता संरचनाहरुमा लगानी गर्न सके किसानलाई राहत हुने कृषक अगुवाहरु बताउँछन । कृषि उत्पादनको बजारीकरणमा कृषि ज्ञान केन्द्र दार्चुलाले सहयोग गर्ने भने पनि सडक अवरुद्ध हुँदा कृषि उपज व्याँसमै कुहिन थालेको छ । ब्याँस गाउँपालिका तथा दुहूँ गाउँपालिकालाई यातायात सञ्जालमा जोड्ने मुख्य सडक दार्चुला–तिंकर सडक खण्ड अबरुद्ध हुदाँ अहिले उत्पादन भएको आलु गाउँमै कुहिने चिन्ता कृषकहरुलाई परेको छ । जनप्रतिनिधिहरुले पनि कृषि पेशालाई व्यवसायिक बनाउने भनेपनि गराईमा फरक भएको धामीले टिप्पणी गर्नुभयो । स्थानिय सरकार र प्रदेश सरकारले कार्यकर्तालाई रिझाउने बजेट बनाउनु भन्दा आम सर्वसाधारण किसानको लागि पहुँचमा व्यवसायिक कृषि गर्ने वातावरण सिर्जना गर्न काेल्ड  स्टोर बनाउनु पर्ने माग गरेका छन् ।