निमित्त प्रशासकीय अधिकृतसहित सात जनाविरुद्ध मुद्दा

0
232

दार्चुला,साउन ११ गते ।
शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टसहित ७ जनाका विरुद्ध मुद्दा दर्ता भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विष्टसहित ७ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दिएको हो ।
आयोगले निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्ट, इन्जिनियर सन्तोष पाण्डेय, नगरपालिकाका तत्कालीन इन्जिनियर राजेन्द्र सिंह धामी, नगरपालिकाका सब–इन्जिनियर दिपक सिंह बिष्ट, शैल्यशिखर नगरपालिका पनेबाज बन्तोली बगौरा सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष जनक राज जोशी र सचिव धनन्जय जोशी तथा कोषाध्यक्ष जानकी बडू जोशीविरूद्धा मुद्दा दर्ता गराएको हो ।
निमित्त प्रशासकीय अधिकृतलाई पनेबाज बन्तोली बगौरा सडक खन्ने कार्यमा फिल्डको वास्तविक तथ्य बँग्याई कटिङ गर्दा बढी मुल्याङ्कन गर्न लगाएको अख्तियारको आरोप लगाइएको छ । अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम रु. २६, लाख, २ हजार ५५६ रुपैयाँ बिगो माग दाबीसहित मुद्दा दर्ता गराएको हो ।
नगरपालिकाका इन्जिनियर सन्तोष पाण्डेयलाई उक्त सडक निर्माणमा नापी किताबमा चढाई हस्ताक्ष सहित सहमति जनाई निर्माणस्थलमा भए गरेको कार्यभन्दा बढी तथा साईडमा नगरे, नगराएको परिमाणको झुट्टा बिल भरपाई बढी लिएको आरोप लगाइएको छ । उनीसँग ११ लाख ३० हजार २७२ रुपैयाँ विगो दाबी गरेको छ ।
इन्जिनियर राजेन्द्र सिंह धामीका विरुद्ध पनि सोही कामको आरोप लगाउँदै १४ लाख ७१ हजार २ सय ८३ रुपैयाँ विगो माग दाबीसहित मुद्दा दर्ता गरिएको छ । यसैगरी नगरपालिकाका सब–इन्जिनियर दीपक सिंह विष्टविरूद्ध २६ लाख २ हजार ५ सय ५६ रुपैयाँ विगो माग दाबीसहित पनि मुद्दा दर्ता गरिएको छ ।
उक्त सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष जनक राज जोशी र सचिव धनन्जय जोशी तथा कोषाध्यक्ष जानकी बडू जोशीविरूद्ध २६ लाख २ हजार ५ सय ५६ रुपैयाँ ११ पैसा विगो माग दाबी गरी मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले बताउनु भएको छ ।