प्रधानमन्त्री रोजगार कार्यक्रमको दार्चुलाका कुन स्थानिय तहमा कति बजेट हेर्नुहोस !

0
918

दार्चुलामा सबै भन्दा बढी बजेट नौगाडमा, सबैभन्दा कम अपिहिमालमा ।

बिरा दत्त भट्ट
पुस २५ गते, दार्चुला । चालु आर्थिक बर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि दार्चुलामा सबै भन्दा बढी अनुदान नौगाड गाउँपालिकाले पाएको छ । रोजगार ब्यवस्थापन सूचना प्रणाली (इएमआइएस ) मा मंसिर १५ गते भित्र प्रविष्ट गरेको बेरोजगार ब्यक्तिहरुको संख्याको आधारमा गाउँपालिका तथा नगरपालिकाहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि अनुदान उपलब्ध गराइएको प्रधानमन्त्री रोजगार कार्यक्रमका शाखा अधिकृत किसान न्यौपानेले जानकारी दिनुभयो ।
प्रधानमन्त्री रोजगार कार्यक्रमले एक सय दिन बराबरको रोजगारीका लागि देशैभरिका ६ सय ८८ स्थानियतहहरुलाई ३ अर्ब ४४ करोड ७० लाख बजेट अनुदान उपलब्ध गराएको छ । श्रमीकका लागि दैनिक न्युनतम पारिश्रमीक दर ५ सय १७ रुपैयाँ निर्धारण गरिएको छ ।
दार्चुलाबाट सबै भन्दा बढी बेरोजगार ब्यक्तिहरुको तथ्याङ्क रोजगार ब्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट गरेकोले सबै भन्दा बढी बजेट नौगाड गाउँपालिकालाई प्राप्त भएको छ भने जिल्लामा सबै भन्दा कम बेरोजगार ब्यक्तिहरुको तथ्याङ्क प्रविष्ट गरेकोले अपिहिमाल गाउँपालिकालाई सबै भन्दा कम बजेट प्राप्त भएको छ ।
दार्चुलाबाट प्रधानमन्त्री रोजगार कार्यक्रमको रोजगार ब्यवस्थापन सूचना प्रणालीमा बेरोजगार ब्यक्तिहरुको नामावली सबै भन्दा बढी प्रविष्ट गर्नेहरुमा नौगाड गाउँपालिका, त्यसपछि दुहु गाउँपालिका, शैल्यशिखर नगरपालिका, महाकाली नगरपालिका, मार्मा गाउँपालिका, ब्यास गाउँपालिका, मालिकार्जुन गाउँपालिका, लेकम गाउँपालिका र सबै भन्दा कम बेरोजगार ब्यक्तिहरुको नामावली प्रविष्ट गर्ने अपीहिमाल गाउँपालिका रहेको छ ।
नौगाड गाउँपालिकाले गाउँपालिका भरिका बेरोजगार ब्यक्तिहरुले भरेको तथ्याङ्कका आधारमा २ हजार पाँच सय ९७ जनाको तथ्याङ्क रोजगार ब्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट गरेको नौगाड गाउँपालिकामा ५ सय ६२ जना छनोट भएका छन् भने २ करोड ९० लाख ५६ हजार बजेट अनुदान प्राप्त भएको छ ।
दुहु गाउँपालिकाले २ हजार ३ सय ३९ जनाको तथ्याङ्क रोजगार ब्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट गरेकोमा ५ सय १४ जना कार्यक्रका लागि छनोट गरिएका छन् भने २ करोड ६५ लाख ७४ हजार रकम अनुदान प्राप्त भएको छ ।
शैल्यशिखर नगरपालिकाले १ हजार ८ सय ५५ जनाको तथ्याङ्क रोजगार ब्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट गरेको आधारमा ४ सय २५ जनालाई कार्यक्रमका लागि छनोट गरिएको छ । छनोटका आधारमा प्रधानमन्त्री रोजगार कार्यक्रमले शैल्यशिखर नगरपालिकालाई २ करोड १९ लाख ७३ हजार रकम अनुदान उपलब्ध गराएको छ ।
महाकाली नगरपालिकाले १ हजार ७ सय ८ जना बेरोजगार ब्यक्तिहरुको तथ्याङ्क रोजगार ब्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट गरेको आधारमा ३ सय ९८ जना छनोट भएका छन् । छनोटका आधारमा महाकाली नगरपालिकालाई प्रधानमन्त्री रोजगार कार्यक्रमले २ करोड ५ लाख ७७ हजार रकम अनुदान उपलब्ध गराएको छ ।
त्यसैगरि मार्मा गाउँपालिकामा १ हजार ४ सय जना बेरोजगार ब्यक्तिहरुको तथ्याङ्क प्रविष्ट गरेको आधारमा ३ सय ४१ जना छनोट गरिएका छन् । छनोट गरिएका ब्यक्तिहरुको रोजगारीका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमले १ करोड ७६ लाख ३० हजार बजेट अनुदान उपलब्ध गराएको छ ।
ब्यास गाउँपालिकाले १ हजार ३ सय ६५ जना बेरोजगार ब्यक्तिहरुको तथ्याङ्क रोजगार ब्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट गरेको आधारमा ३ सय ३४ जना छनोट भएका छन् । छनोटका आधारमा ब्यास गाउँपालिकालाई प्रधानमन्त्री रोजगार कार्यक्रमले १ करोड ७२ लाख ६८ हजार रकम अनुदान उपलब्ध गराएको छ ।
मालिकार्जुन गाउँपालिकाले १ हजार ६५ जना बेरोजगार ब्यक्तिहरुको तथ्याङ्क रोजगार ब्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट गरेको आधारमा २ सय ७९ जना छनोट भएका छन् । छनोटका आधारमा मालिकार्जुन गाउँपालिकालाई प्रधानमन्त्री रोजगार कार्यक्रमले १ करोड ४४ लाख २५ हजार रकम अनुदान उपलब्ध गराएको छ ।
लेकम गाउँपालिकाले ७ सय ४ जना बेरोजगार ब्यक्तिहरुको तथ्याङ्क रोजगार ब्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट गरेको आधारमा २ सय १२ जना छनोट भएका छन् । बेरोजगार ब्यक्ति छनोटका आधारमा लेकम गाउँपालिकालाई प्रधानमन्त्री रोजगार कार्यक्रमले १ करोड ९ लाख ६१ हजार रकम अनुदान उपलब्ध गराएको छ ।
त्यसैगरि अपिहिमाल गाउँपालिकाले ५ सय २ जना बेरोजगार ब्यक्तिहरुको तथ्याङ्क रोजगार ब्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट गरेको आधारमा १ सय ७५ जना छनोट भएका छन् । बेरोजगार ब्यक्ति छनोटका आधारमा अपिहिमाल गाउँपालिकालाई प्रधानमन्त्री रोजगार कार्यक्रमले ९० लाख २५ हजार रकम अनुदान उपलब्ध गराएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रममा रोजगारीका लागि बेरोजगार ब्यक्तिहरु प्रधानमन्त्री रोजगार कार्यक्रमलले नै छनोट गर्ने गरेको ब्यास गाउँपालिकाका रोजगार संयोजक रमेश भट्टको भनाई छ । वडाबाट संकलन भएका बेरोजगार ब्यक्तिहरुका फारमहरु रोजगार संयोजकले रोजगार ब्यवस्थापन सूचना प्रणाली (इएमआइएस ) मा प्रविष्ट गर्ने र प्रधानमन्त्री रोजगार कार्यक्रमले नै छनोट गर्ने उहाँले जानकारी दिनुभयो । स्थानियहरुले नातागोताका आधारमा रोजगार कार्यक्रममा ब्यक्तिहरु छनोट गरेको आरोप लगाउने गरेको भएपनि रोजगारका लागि ब्यक्तिहरु छनोट गर्नमा रोजगार संयोजकको कुनै हात नरहेको ब्यास गाउँपालिकाका रोजगार संयोजक भट्टको भनाई छ । ब्यक्ति स्वयंले भरेको फारम हु–बहु रोजगार ब्यवस्थापन सूचना प्रणाली (इएमआइएस )मा प्रविष्ट गरिने भएकाले भरेको आधारमा केन्द्रबाटै छनोट गरिने उहाँको भनाई छ ।