दार्चुला भेटियो भारतीय डिभाइस जडित शंकास्पद बेलुन

0
722

दार्चुला,माघ २९ गते ।

दार्चुलाको नौगाड गाउँपालिकामा विहीबार राती आकाशबाट एउटा विद्युतीय यन्त्र जस्तो देखिने शङ्कास्पद वस्तु खसेको छ । राती करिब ८ बजेतिर तीन ओटा ब्याट्री जडान गरिएको विद्युतीय यन्त्र जस्तो देखिने बेलुन खसेको वडा नं ३ खारका स्थानीय अर्जुन सिह ठगुन्नाले बताए । 

आकाशमा उडिरहेको बेलुन विद्युतीय पोलमा ठोक्किएर खसेपछि हेर्दा भारतीय मोबाइल नम्बर लेखिएको ब्याट्री जडित डिभाइस जस्तो देखिने वस्तु रहेको पाइएको उहाँले बताए ।

विद्युतीय यन्त्र जस्तो देखिने उक्त वस्तुभित्र मेमोरी कार्ड जस्ता प्लेटहरू, तीन ओटा ब्याट्री जडान गरिएको छ भने भारतीय मोबाइल नम्बर लेखिएको छ ।
उक्त मोबाइल नम्बरमा फोन गर्दा उत्तराखण्ड प्रदेशको राजधानी देहरादुन स्थित भारतीय मौसम विज्ञान विभागको रहेको जानकारी प्राप्त भएको छ । भारतीय मौसम विज्ञान विभागले वायुमण्डलको डाटा संकलनका लागि बेलुन बाधेर उक्त डिभाईस उडाउने गरेको ती व्यक्तिको भनाई छ । 

नौगाड गाउँपालिकाका योजना शाखा अधिकृत नरेन्द्र ठगुन्ना, विपद् व्यवस्थापन शाखा प्रमुख कृष्ण सिंह ठगुन्ना लगायतको टोली पनि उक्त स्थानमा पुगेको थियो । उक्त विषयमा बुझ्न प्रहरी टोली खटाइएकाले विस्तृत जानकारी नआएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक माधव विश्वकर्माले बताउनु भयो । भारतले दार्चुलाको आकाशमा शङ्कास्पद गतिविधि गर्ने गरेको छ । बेलाबेला दार्चुलाको आकाशमा सुरक्षा निकाय रहेका भवन माथि हेलिकोप्टर समेत उडाउने गरेको छ ।