दार्चुला कारागारमा क्षमताभन्दा बढी कैदीवन्दी

0
2117

जानकी धामी, गोमती धामी ।
दार्चुला, माघ २२ गते ।
जिल्ला कारागार दार्चुलामा क्षमताभन्दा बढी कैदीवन्दी रहेको पाइएको छ । सदरमुकाम खलंगामा रहेको कारागारमा ४० जना कैदीको क्षमता भए पनि कारागारमा ४८ जना कैदी र ११ जना बन्दी राख्नुपरेको जिल्ला कारागार कार्यालय प्रमुख मानबहादुर खडायतले बताउनुभयो ।
उहाँका अनुसार जिल्ला कारागारमा २५ जना पुरुष र १५ जना महिला गरि जम्मा ४० जनाको मात्रै क्षमता हो । तर कैदी र बन्दी गरि जिल्ला कारागारमा ५९ जना रहेका छन् । ‘जिल्ला कारागारको क्षमता ४० जनाको मात्रै हो, तर अहिले कैदी तथा बन्दी गरि जम्मा ५९ जना रहेका छन्’ कार्यालय प्रमुख खडायतले भन्नुभयो ।
जिल्ला कारागारमा ४५ जना मात्रै पुरुष कैदी रहेका छन् भने तीन जना महिला कैदी रहेको कार्यालय प्रमुख खडायतले बताउनुभयो । कैदीहरुमध्ये सबैभन्दा बढी कर्तब्यज्यान मुद्दा अन्तरगत २२ जना रहेका छन् । तीमध्ये २१ जना पुरुष र एक जना महिला रहेको जिल्ला कारागारको तथ्यांक छ ।
जबरजस्तीकरणी मुद्दा अन्तरगत ११ जना पुरुष कैदी रहेका छन् । बन्यजन्तु ओसारपोसारका २ कैदी र २ वन्दी छन् । सार्वजनिक हित बिरुद्धको अपराध लगायतका मुद्दाका कैदीहरु रहेका छन् । तीमध्ये २५ देखि ३० वर्ष उमेर समूहका कैदीवन्दीहरु बढी रहेको उहाँले बताउनुभयो ।
जिल्ला बाहिरका मात्रै ६ जना कैदी
जिल्ला कारागारमा दार्चुला जिल्ला बाहिरका मात्रै ६ जना कैदीहरु रहेको जिल्ला कारागार कार्यालय प्रमुख मानबहादुर खडायतले बताउनुभयो ।
बन्यजन्तु ओसारपोसार अन्तरगत कालिकोटका एक जना, जबरजस्तीकरणी अन्तरगत बाँकेका एक जना, कर्तब्यज्यान मुद्दा अन्तरगत बाँकेकै एकजना रहेका छन् । यस्तै जबरजस्तीकरणी मुद्दा अन्तरगत बाजुराका एक जना, जबरजस्तीकरणी अन्तरगत नै बैतडीका दुईजना रहेको कार्यालय प्रमुख खडायतले बताउनुभयो ।
स्वास्थ्य परीक्षणमा समस्या
जिल्ला कारागारमा अहेबको दरबन्दी रिक्त रहेको छ । जिल्ला कारागारमा रहेका कैदीहरुको नियमित चेकजाँचका लागि अहेबको दरबन्दी रहे पनि रिक्त हुदाँ समस्या हुने गरेको छ ।
कैदीहरुको नियमित चेकजाँचका लागि दरबन्दी अभावमा चेकजाँच गर्न नसकिएको जिल्ला कारागार कार्यालय प्रमुख मानबहादुर खडायतले बताउनुभयो । ‘कैदीहरुको नियमित स्वास्थ्य परीक्षण गर्नुपर्ने हो तर अहेबको दरबन्दी नै रिक्त हुदाँ स्वास्थ्य परीक्षणमा समस्या भइरहेको छ’ कार्यालय प्रमुख खडायतले भन्नुभयो ।
एकातिर जिल्ला कारागारमा क्षमता भन्दा १९ जना जना बढी कैदी–बन्दीहरु रहेका छन् भने अर्काेतिर कैदीहरुको नियमित स्वास्थ्य परीक्षणका लागि समस्या भइरहेको छ । जिल्ला कारागारमा रहेका कैदीहरुको समस्या त्यति मात्र नभई ठाउँ साँघुरो हुदाँ सुत्न समेत समस्या हुने गरेको कार्यालय प्रमुख खडायतले बताउनुभयो । कैदीहरुका लागि खानेपानीको समेत समस्या हुने गरेको छ भने चर्पी प्रयोगमा समेत समस्या छ । जम्मा कैदी बन्दी ५९ जना रहेकोमा चार ओटा मात्रै शौचालय रहेकाले समस्या हुने गरेको हो ।
जिल्ला कारागारमा २० जना सुरक्षाकर्मीको दरबन्दी छ । हाल १८ जना सुरक्षाकर्मी कार्यरत छन् । कैदीहरुलाई दैनिक खाद्यान्न सामग्री प्रति व्यक्ति ७ सय ग्रामका दरले उपलब्ध गराइन्छ भने दैनिक ६० रुपैयाँ नगद पनि दिइदै आएको छ । कैदीहरुलाई जिल्ला कारागारले वर्षमा दुई पटक लुगा दिने गरेको छ भने दुई वर्षको एक पटक बिछ्याउने कपडा उपलब्ध गराउने गरेको कारागार प्रमुख मानवहादुर खडायतले बताउनुभयो ।