खलंगा स्थित सीमापुल बेलुकी ७ः१५ बजे सम्म खुला रहने  

0
692
नेपाल भारत जोड्ने दार्चुला सदरमुकाम खलंगा स्थित पुल

दार्चुला, पुष १३ गते । 
नेपाल-भारत जोड्ने दार्चुला सदरमुकाम खलंगा स्थित झोलुङ्गे पुल खुला रहने समय सीमा बढाइएको छ । सीमा पुल खुला रहने समय बिहान ७ः१५ बजे देखि बेलुकी ५ः१५ बजे रहेकोमा बेलुकीको समय बढाएर बेलुकी ७ः१५ बजे सम्म खुला रहने गरि मङ्गलबारबाट समय सीमा बढाइएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिनुभयो ।  

सीमापुल खुला रहने समय बढाउनका लागि भारतको धार्चुला तहसिलले दार्चुला प्रशासनलाई पत्राचार गरेको थियो । दुबै देशका नागरिकहरूको हित देखिएकाले सीमा पुल खुला रहने समय बढाइएको प्रमुख जिल्ला अधिकारी जोशीको भनाई छ ।
नेपाली नागरिकहरू दैनिक आवस्यक पर्ने खाद्यान्न सामग्री किन्न भारतीय बजार धार्चुला जाने गरेका छन् भने भारतीय नागरिकहरु कपडा लगायतका सामान किन्न नेपाली बजारमा आउने गरेका छन् । बेलुका ५ः१५ बजे सीमा पुल बन्द हुदाँ किनमेल गर्न दुबैतर्फ आउने÷जाने नागरिकहरु समस्यामा पर्ने गरेका थिए ।
दार्चुला सदरमुकाम खलंगा स्थित सीमापुल खुला रहने समय सीमा बढाइएको भए पनि दार्चुला जिल्लाका अन्य सीमा पुलहरु पुर्ववत् समयमै खुल्ने तथा बन्द हुने प्रमुख जिल्ला अधिकारी जोशीको भनाई छ ।
‘सदरमुकामको सीमा क्षेत्रमा बढी भिडभाड हुने भएकाले यस पुलको समय बढाइएको हो अन्य नाकाहरुमा पनि क्रमशः लागू हुन्छ’ उहाँले भन्नुभयो ।
ब्यास गाउँपालिका वडा नं ५ को तिग्रम पुल हाल विहान १० बजे देखि बेलुका ५ः१५ बजे सम्म सञ्चालनमा रहेको छ । विहान ढिलो गरि पुल खुल्दाँ सीमा क्षेत्रका बासिन्दा समस्यामा परेको भन्दै सीमा पुल विहान ७ बजे देखि खुला गर्न भारतको धार्चुला
तहसिललाई पत्राचार गरिएको प्रमुख जिल्ला अधिकारी जोशीले बताउनुभयो ।
ब्यास गाउँपालिका क्षेत्रमा नेपालको बाटो भएर सदरमुकाम आवतजावत गर्न अप्ठ्यारो बाटो भएकाले त्यस क्षेत्रका बासिन्दा भारतको बाटो भएर आवतजावत गर्ने गरेका छन् ।
दार्चुलामा ब्यास गाउँपालिकाको वडा नं १ सीतापुल, वडा नं ५ को तिग्रम, महाकाली नगरपालिका वडा नं ४ को खलंगा, वडा नं ९ को दत्तु, मालिकार्जुन गाउँपालिका वडा नं ७ को जोलजिविलेकम गाउँपालिका वडा नं ३ को लाली गरि महाकाली नदीमाथि नेपाल-भारत जोड्ने छवटा सीमापुल सञ्चालनमा रहेका छन् ।