उत्तराखण्डमा एयर एम्बुलेन्स सञ्चालनको तयारी

0
2224

दार्चुला, मंसिर २१ गते ।
भारतको उत्तराखण्ड राज्य सरकारले एयर एम्बुलेन्स सञ्चालनको तयारी गरेको छ । एयर एम्बुलेन्स सञ्चालन गर्ने पहिलो राज्य उत्तराखण्ड बन्न लागेको छ । मुख्यमन्त्री त्रिवेन्द्रसिह रावतले यसअघि नै उत्तराखण्डमा एयर एम्बुलेन्स सेवा दिइने घोषणा गरिसकेका छन् ।
उत्तराखण्ड सरकारअन्तर्गतको स्वास्थ्य विभागले एयर एम्बुलेन्स सेवा सञ्चालनको गृहकार्य गरिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पहाड र हिमालको कठिन भूबनोट रहेको उत्तराखण्ड राज्यको अधिकांश क्षेत्रमा हेलिकोप्टरमार्फत स्वास्थ्य उपचार सेवा दिइने भएको हो ।
देहरादूनस्थित सहस्त्रधारा हेलिपेडमा सोमबार एयर एम्बुलेन्स सेवा सञ्चालनको नमुना प्रदर्शन गरिएको छ ।
राष्ट्रिय स्वास्थ्य योजनाअन्तर्गत राज्यस्तरमा एयर एम्बुलेन्स सेवाको तयारी भइरहेको अधिकारीहरुले बताएका छन् । केन्द्र सरकारबाट समेत यसबारे सहमति प्राप्त भइसकेको स्वास्थ्य विभागले जनाएको छ ।
भौगोलिक अवस्थितिको विश्लेषण गर्दै एयर एम्बुलेन्स सेवा कुन कुन क्षेत्रमा सञ्चालन गर्नेबारे अध्ययन भइरहेको विभागले जनाएको छ । विज्ञहरुले यसबारे अध्ययन गरिरहेका र प्रतिवेदन आएपछि क्षेत्र छनोट गरिने भएको छ । एयर एम्बुलेन्समा स्वास्थ्य उपकरणसहित प्राथमिक उपचारका लागि एकजना डाक्टरलाई सधै राखिने तयारी छ ।
जिल्ला सदरमुकामस्थित मुख्य चिकित्साधिकारीलाई एम्बुलेन्स परिचालनको जिम्मेवारी दिइने भएको छ । उत्तराखण्ड सरकारका स्वास्थ्य सचिव नितेश झाले एयर एम्बुलेन्स सेवाका लागि टेण्डर प्रक्रिया सुरु हुन लागेको बताएका छन् ।