अतिक्रमित नेपाली भूमीमा भारतीय सुरक्षा निकायका ११ पोष्ट, हजारौको संख्यामा सुरक्षार्मी परिचालन

0
776
फाईल फोटोः कौवा र गुञ्जी क्षेत्र

विरा दत्त भट्ट, दार्चुला ।

असोज १८ गते । भारतले अतिक्रमण गरेको दार्चुलाको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रमा भारतले सुरक्षार्मी थपेको छ । नेपालले नयाँ नक्सा जारी गरेपछि त्यस क्षेत्रमा सुरक्षार्मीहरु थपिएको ब्यास क्षेत्रका नागरिकहरुले जानकारी दिएका छन् ।
अक्रिमित नेपाली भूमीमा भारतीय सुरक्षा निकायका ११ पोष्टहरुमा चारवटा सुरक्षा निकायहरु परिचालन गरिएको छ । गुञ्जीमा आर्मी, एसएसबी, आइटीविपी र प्रहरी , कालापानीमा आर्मी, एसएसबी र आइटीविपी, नाबिढाङ तथा लिपुलेक क्षेत्रमा आर्मी र आइटीवीपी तथा कुटी गाउँमा आर्मी र आइटिवीपी तैनाथ गरेको छ । अतिक्रमित भुमीमा भारतले हाल हजारौको संख्यामा सुरक्षाकर्मीहरु परिचालन गरेको अनुमान छ । दैनिक महाकाली पारीको सडकमा भारतीय सुरक्षा निकायका सयौँ गाडीहरुले ओहोर दोहोर गरिरहेको ब्यास गाउँपालिका वडा नं ४ का स्थानिय धरम सिह धामीले जानकारी दिए ।
अतिक्रमित नेपाली गाउँ गुञ्जीमा एसएसबी, आर्मी, आइटीविपी र प्रहरीका पोष्टहरु छन् ।
नेपाली अतिक्रमित क्षेत्र कालापानी, लिपुलेक र लिम्पियाधुरा पुग्न गुञ्जी मुख्य ठाउँ भएकाले गुञ्जीलाई सुरक्षा निकायको केन्द्र बनाईएको छ । धार्चुलापछि गुञ्जीमा भारतले सुरक्षा ब्यवस्थापनको केन्द्र बनाएको छ । गुञ्जीमा भारतीय आर्मीका मेजरले कालापानी, नाविढाङ क्षेत्र र कुटी हुदै लिम्यिाधुरा सम्म आर्मीहरुको परिचालन गर्ने गरेको स्रोतले बतायो ।
गुञ्जीमा बर्षादको मौषममा ३ देखि ४ सय सम्म आर्मीहरु बस्ने गरेको उक्त क्षेत्रमा पुगेका एक जना नेपाली कामदारले बताए ।
गुञ्जीमा एसएसबीका डिएसपीको कमाण्डमा ८५ जनाको फौज रहेको छ । त्यसैगरि भारत तिब्बत प्रहरी (आइटीविपी) मेजरको कमाण्डमा एक सय संख्यामा फौज रहेको छ भने भारतीय प्रहरीको पनि असईको नेतृत्वमा प्रहरीहरु बस्ने गरेका छन् । प्रहरीहरु भने हिउदको समयमा स्थानियहरु संगै धार्चुला झर्ने गरेको छ ।
गुञ्जीबाट ९ किलोमिटर टाढा रहको कालापानीमा आर्मी मेजरको कमाण्डमा, एसएसबी र आइटीवीपी इन्सपेक्टरको कमाण्डमा रहेको छ । कालापानीमा तिन वटै सुरक्षा निकायका लागि ५० भन्दा बढी हटहरु ( हिउदमा पनि बस्न मिल्ने विषेश प्रकारका घर) बनाइएका छन्। तिनै वटै सुरक्षा निकायका ४ सय भन्दा बढी सुरक्षाकर्मीहरु बस्ने गरेका छन् । पछिल्लो समय केहि सुरक्षाकर्मीहरु अझै थपेको अनुमान छ ।
कालापानीमा क्षेत्रमा नागरिकहरुको बसोबास नभएपनि भारतीय सुरक्षा निकायका तिनबटा युनिटहरुका लागि बनाइएका संरचना र संख्या हेर्दा गाउँ जस्तै आभास हुने गरेको त्यस क्षेत्रमा रोजगारीका लागि पुगेका एक जना नेपालीको भनाई छ ।
नावीढाङ देखि लिपुलेक सम्मको सीमामा हाल भारतले धेरै सुरक्षाकर्मीहरु परिचालन गरेको भारतीय सञ्चार माध्यमहरुले समाचार लेखेका छन् ।
चीन संग लद्दाखमा स्थिती शान्त नभएकाले चीन संगको सीमा क्षेत्रमा पर्ने लिपुलेक नाविढाङमा नाइट भिजन क्यामेराबाट सीमाको निगरानी भइरहेको र प्रत्येक दिन त्यस क्षेत्रको गतिविधी बारे केन्द्रमा रिर्पाेट पठाउने कार्य भइरहेको बताईएको छ ।
त्यसैगरि कुटी गाउँमा भारत तिब्बत वोर्डर पुलिस ( आइटीविपी) इन्टरपेक्टरको नेतृत्वमा बसेको छ भने आर्मी सुबदारको कमाण्डमा रहेको छ ।
कुटी गाउँ भन्दा माथिल्लो लिम्यिाधुराक्षेत्रमा भने भारतीय सुरक्षा निकायहरु लिम्पियाधुराबाट बग्ने महाकाली नदी परि नै बसेका छन् । लिम्पियाधुरा क्षेत्रका लागि जोलिङकाङमा आर्मी र आइटीविपी तथा लिम्पियाधुराको बेस ओल्सामा आर्मी र आइटीविपी तैनाथ गरेको स्रोतले बतायो ।
भारतले धार्चुलाबाट लिपुलेक र लिम्पियाधुरा दुबै क्षेत्रमा सडक पुगाएको भएकाले उक्त क्षेत्रमा हाल कति संख्यामा सुरक्षाकर्मी परिचालन भएका छन् भन्ने यकिन जानकारी नेपाली पक्ष संग छैन तथापी हाल लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा पुग्ने सडकहरुमा प्रत्येक दिन सयाँैको सख्यामा सुरक्षाकर्मीहरुका गाडीहरु ओहोरओहोर गर्ने भएकाले उक्त क्षेत्रमा हजारौको संख्यामा सुरक्षाकर्मीहरु परिचालन गरिएको अनुमान छ ।
“विगतमा भारतीय सुरक्षार्मीहरुका सवारी साधन यति ठुलो संख्यामा यो सडकमा गुडेको देखेका थिएन, बीस भन्दा बढी गाडीहरु संगै गुडिरहेका हुन्छन्” ब्यास गाउँपालिका एक जना स्थानियले भन्नुभयो ।
धार्चुला–लिपुलेक जोड्ने सडकको उद्धघाटन नहुदाँ सम्म उक्त क्षेत्रमा भारतीय सुरक्षाकर्मीहरुको विभिन्न काम गर्न रोजगारीका लागि नेपालीहरु जाने गरेका थिए तर हाल नेपालीहरुलाई कामदारहरुलाई त्यस क्षेत्रमा रोजगारीमा रोक लगाएको छ ।
२०७६ असोज बाट नै नेपालीहरुलाई उक्त क्षेत्रमा रोजगारीमा प्रतिबन्ध लगाएको उक्त क्षेत्रमा काम गर्न पुगेका ब्यास गाउँपालिका वडा नं ४ का एक जना कामदारले नाम नबताउने सर्तमा जानकारी दिए ।
नेपालले पछिल्लो समय छाङरुमा सशस्त्र प्रहरीको गुल्म तैनाथ गरेको र नेपालका उच्च अधिकारीहरुबाट बेला–बेलामा उक्त क्षेत्रमा भ्रमण भइरहेकाले भारतले अतिक्रमित भूमीमा सुरक्षाकर्मी र सुरक्षा सर्तकता बढाएको छ ।

 

यो पनि पढ्नुहोसः यस्तो छ अतिक्रमित नेपाली भूमिको अवस्थिति ।