भारतको सहयोग र चीनको चमत्कारले देश बन्दैन

0
1068

शंकर सिंह धामी
निष्ठा, इमान्दारिता र परिश्रमविना देश बन्दैन । मैले ऋषिमुनि, शास्त्र र पूर्खाहरुले बताएकै कुरा यहाँ राखेको छुँ । साथै देश बनाउने सन्दर्भमा वर्तमानको अवस्थालाई जोड्न खोज्दैछु । देशलाई सम्वृद्ध, स्वतन्त्र र बलियो बनाउन सबैक्षेत्रमा निष्ठा, इमान्दारिता र परिश्रम चाहिन्छ । यसप्रति कसैको पनि विरलै असहमति हुनसक्छ ।
अहिले धेरैले भन्ने गरेका छन्, यसरी देश बन्दैन । देशको अवस्था र विकासप्रति असन्तुष्टि पोख्नेहरु धेरै छन् । देशको अवस्था र विकासप्रति आ–आफ्ना बुझाई र दृष्टिकोण हुनु स्वाभाविकै हो । नीतिनिर्मातादेखि सर्वसाधारणसम्मको निष्ठा, इमान्दारिता र परिश्रमविना बलियो राष्ट्र र राष्ट्रियता निर्माण हुन सक्दैन । यो कुरालाई सिद्धान्ततः सबैले स्वीकार गरे पनि व्यवहारिक रुपमा केही गरेर देखाउनु आवश्यक छ ।
छिमेकी देश र विश्वको तुलनामा नेपाल र नेपाली समाजमा पनि आधुनिक सुविधाहरु पुगेका छन् । विकासका केही अभ्यास भइरहेका छन् । आधुनिक विज्ञान र खोजअनुसन्धानबाट हासिल भएका पछिल्ला वस्तु र सेवासम्म नेपाली समाजको पनि पहुँच छ । तर हामी आजसम्म उपभोक्ता मात्रै छौ, उत्पादनकर्ता बन्न सकेका छैनौ । अरुले आविस्कार गरेको र विकास गरेको वस्तु तथा सेवा उपभोगबाटै हामी सम्वृद्ध र बलिया कसरी हुन सक्छौ ?
भौतिक विकास र सुविधाको विस्तार त समयक्रमले आफै पनि हुन्छ । त्यसका लागि निष्ठा, इमान र परिश्रम चाहिन्छ भन्ने छैन । वर्तमानमा नेपाली समाजले उपभोग गरिरहेको भौतिक सुविधा समय र विज्ञानको प्रतिफल हो । सुचना प्रविधि र मानव जीवनशैलीलाई सुविधायुक्त बनाउन विश्वव्यापी बजारीकरणले मद्दत गरेको छ । खुला बजारको सुविधाले आधुनिक सुविधाहरु किनेर उपभोग गर्न सकिन्छ । तर सुविधा किन्ने अर्थको व्यवस्थापनमा गम्भीर बन्नुपर्छ । भिख मागेर पनि गुजारा त गर्न सकिन्छ ।
नेपालको विकास निर्माणमा प्राप्त हुने अधिकांश सहयोग एक प्रकारको भिख नै हो । यहाँ, भिख माग्नेले लाज मान्दैन, भिख माग्नु आफ्नो अधिकार ठान्दछ । त्यसैगरी भिख दिनेले आफुलाई महान, शक्तिशाली ठान्छ र त्यही रुपमा प्रस्तुत हुन्छ । एउटा कालखण्डमा दिएको भिखले सधैभरी आफ्नो गुणगान गाएको देख्न र हेर्न चाहन्छ । अहिले बहस भइरहेको अमेरिकी सहयोग एमसिसि पनि एकप्रकारको भिख नै हो । भोली चीनले दिने विआरआईको सहयोग होस् कि विद्यालय भवन र एम्बुलेन्सको नाममा भारतले दिने सहयोग होस् यी सबै भिखका दृष्टान्त मात्रै हुन् । आफ्नो स्वार्थ नहेरी अर्कोलाई सहयोग गर्ने ऋषिमुनि युग अहिले छैन । आफुलाई शक्ति राष्ट्र बनाउने होडमा दौडिरहेका मुलुक वा पक्षबाट ऋषिमुनि युगको जस्तो मानवीय सहयोगको अपेक्षा गर्नु सरासर गलत हुन्छ ।
धेरैले भन्छन्, हामी वीर गोर्खालीका सन्तान । हौं पनि । हामी कसैको उपनिवेशमा बसेनौ, यो इतिहास हो । साथै कहिल्यै स्वतन्त्र पनि भएनौ, यो यथार्थ हो । किनभने भूगोल र सीमानाका हिसाबले नेपाल र नेपालीहरु कसैको दास भएनन् । तर राजनीतिक र आर्थिक रुपमा नेपाल स्वतन्त्र भएको छ र ? कसैले इतिहासको कुनै कालखण्डमा हामी राजनीतिक र आर्थिक रुपमा पनि स्वतन्त्र थियौ भन्न सक्छन् तर इतिहास अहिलेको पुस्ताले भोगेकोे हुँदैन, पढेको मात्रै हुन्छ । यसमा शंका पनि गर्न सकिन्छ । अर्को कुरा, इतिहासभन्दा पनि वर्तमानको अवस्था र भोगाइ हाम्रा लागि महत्वपूर्ण हुन्छ । राणाकालमा ब्रिटिसहरुको प्रभाव, २००७ सालदेखि हालसम्म भारतको प्रभाव नेपालको राजकीय क्षेत्रमा हुँदैआएको छ । पछिल्लो समय विकास साझेदारी र मानवीय सहयताको नाममा चीन, अमेरिकासहित धेरैजसो मुलुकले नेपाललाई प्रभावित गर्दैआएका छन् । नेपालको राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा आफु अनुकुलको परिस्थिति निर्माण गर्न कुटनीतिक अभ्यास भइरहेको छ । राजकीय, आर्थिक र सैन्य कुटनीतिका जबर्जस्त अभ्यासहरुमा भारत, चीन, अमेरिका जस्ता देशहरुको प्रतिस्पर्धा नै छ ।
स्वतन्त्रता धेरै प्रकारको हुँदो रहेछ । नेपालीले राजनीतिक स्वतन्त्रताको अभ्यास गरिरहेका छौ । गास, वास, कपास, शिक्षा, स्वास्थ्य र रोजगार जस्ता आधारभूत आवश्यकताको सुनिश्चितता विनाको राजनीतिक स्वतन्त्रताले त्यति महत्व राख्दैन । तर हाम्रो राजनीति यसप्रति गम्भीर र जिम्मेवार देखिदैन । नारा, भाषण र कागजी योजनाले भने नेपालमा समाजवादी व्यवस्था वकालत गर्दछ तर व्यवहारमा दलाल पूजीवाद र सामन्तवादका अभ्यास व्यापक छन् ।
यो अवस्थाका लागि नीति निर्माण तहलाई मात्र दोष छैन । नागरिकको चेतनास्तर र भूमिका पनि यसका लागि जिम्मेवार छ । राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक सबै क्षेत्रमा स्वतन्त्रताका साथै दायित्व पनि जोडिनु आवश्यक छ । नेपाली जनजीवनलाई अधिकारमुखी मात्रै बनाइएको छ, दायित्वमुखी बन्न सकेको छैन ।
देश स्वतन्त्र हुन स्वाभिमान र सम्वृद्धि चाहिन्छ । नेपालमा त्यो हुन सकेको छैन । पूर्खाहरुको गौरवपूर्ण इतिहास छ तर त्यसले मात्रै पुग्दैन । आफ्नो समयमा केही गरेर देखाउनुपर्छ । नेपालमा दैविय शक्तिहरुको वास र आशीर्वाद छ । तर कर्मविनाको दैविय कृपाले सबैथोक पूरा हुँदैन । काम नगरी फलको आश राख्ने प्रवृतिले धोका मात्रै प्राप्त हुन्छ । हामी वौद्धिक वा श्रम चोरी गरेर आजको गुजारा चलाउछौ तर भोलिको लागि सोच्दैनौ । भोलिको दिन पनि बाच्नु छ, आफु मरेर गए पनि सन्ततीलाई पनि बचाउनु छ भन्ने विर्सनु हुदैन ।
देशको माटोप्रति निष्ठा हुनुपर्छ, जनताप्रति इमान्दारिता चाहिन्छ । निष्ठा र इमान्दारिताले मात्रै हुँदैन परिश्रम पनि गर्नुपर्छ । जनस्तरमा प्रष्ट रुपमा सन्देश फैलाउनु आवश्यक छ– आफ्नो क्षेत्रबाट इमान्दार बनौ । परिश्रम गरौ । निर्धारित कर र राजश्व तिरौ । साथै जनताको कर, राजश्व परिचालन गर्ने तहले इमान्दार भइ दिनुपर्छ । नीति निर्माताको स्वार्थ र संकीर्णताले राज्यको भूमिका र प्रत्याभूति जनस्तरसम्म पुग्न सकिरहेको छैन ।
राजनीतिक पात्रहरुमा आफ्नो गृहजिल्ला र निर्वाचन क्षेत्रमा सीमित हुने मानसिकता र अभ्यास छ । चुनाव जितेर सांसद बन्नेहरुको सपना नै मन्त्री बन्ने देखिन्छ । मन्त्री बनेपछि बजेट र शक्ति परिचालन गर्न सकिन्छ । आफ्नो स्वार्थ र प्राथमिकताअनुसार काम गर्न सकिने भएकोले मन्त्रीको दौड प्रष्ट देखिन्छ ।
मन्त्री नपाउदासम्म आफ्नै जिल्ला र निर्वाचन क्षेत्रका लागि केही गर्न नसकेको कुण्ठा पनि सांसदहरुमा छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम नाम दिइएको सांसद विकास कोषको अभ्यासले यसको पुष्टि गर्दछ । आवश्यकता र प्राथमिकतामा आधारित भएर यो बजेट विनियोजन हुँदैन । विनियोजन नै ठिक ढंगले नभएको बजेटको कार्यान्वयन कसरी ठिक हुन्छ ? विनियोजन र कार्यान्वयन गलत रुपमा भएको योजना वा बजेटबाट राम्रो प्रतिफलको अपेक्षा गर्नु मुर्खता हो ।
अहिलेको संसदीय अभ्यास एक निर्वाचनदेखि अर्को निर्वाचनसम्मको यात्रा बनेको छ । जनजीविकाका आम मुद्दाहरु सम्बोधन गर्नुको सट्टा नेता र पार्टी विशेषको लाभहानी हेरेर दोस्रो निर्वाचनसम्मको यात्रा गर्ने प्रवृति छ । अर्को चुनाव कसरी जित्न सकिन्छ र मन्त्री कसरी बन्न सकिन्छ भने चिन्तन व्याप्त छ । मन्त्री नबनेसम्म केही गर्न नसकिदो रहेछ भन्ने बुझाई पनि धेरैको छ । मन्त्री बन्नकै लागि पार्टीभित्रै गुट र नेता विशेषको पक्षधर हुनुपर्ने बाध्यतामा सांसदहरु छन् । संघीय संसद र राजनीतिको छाया प्रदेश तहमा पनि प्रष्ट रुपमा देखिन्छ ।
देश विकासका लागि ‘भिजिनरी’ नेतृत्वसंगै कुशल र इमान्दार कार्यान्वयन ‘मेसिनरी’ पनि चाहिन्छ । तर हालसम्म नेपालमा यी दुबैको अभाव छ । केपी ओलीले सपना देखे पनि ती सपनालाई साकार पार्ने प्रष्ट योजना र कार्यान्वयन गर्ने मेसिनरी देखिएन । देशमा अभूतपूर्व विकास भएको, भ्रष्टाचार न्युनिकरण भइरहेको र सुशासन रहेको ओली भाषणले दुखद् मनोरञ्जन दिइरहेको छ । विगतमा ओलीका उखान टुक्का सुनेर जनता हास्थे, अहिले विकास निर्माण, भ्रष्टाचार नियन्त्रण र सुशासनका सन्दर्भमा व्यक्त ओली विचारले नागरिक खिल्ली उडाउदैछन् । उखान टुक्काको समयमा ओलीप्रति केशी आश थियो, यिनले केही गर्छन् कि भन्ने तर अहिलेको ओली भाषणले जनताको मन दुखाएर मनोरञ्जन दिइरहेको छ ।
अर्थ विधेयकमाथिको छलफलका क्रममा राष्ट्रियसभा सदस्य रामनारायण विडारीले राख्नुभएको मन्तव्य मर्मस्पर्शी र सान्दर्भिक छ । जेठ १५ मै बजेट ल्याउने व्यवस्था, बजेट कार्यान्वयनको अवस्था, मन्त्रीहरुको भूमिका, सरकारको दायित्व र सफलता, सांसदहरुको अपेक्षा जस्ता विषयमा उहाँले गहन अभिव्यक्ति दिनुभएको छ । विडारी जस्ता सोच र चिन्तन भएका ८÷१० माननीयहरुको खाँचो छ नेपालमा । राज्य र सरकारलाई खवरदारी गर्नेहरुको पनि अभाव देखियो । साथसाथै, निष्ठा र इमान्दारिताका साथ काम गर्ने प्रवृति छैन । परिश्रम नै नगरी विकसित हुने सपना पनि हामी नेपालीले देखिरहेका छौ ।
भारतमा अंग्रेजहरुले पूर्वाधार विकास गरिदिएका थिए, त्यो पूर्वाधारमा टेकेर अहिलेको भारत बनेको हो । अझै पनि भारतमा गरिबी, असमानता र पछौटेपन छ । देशभित्रको यो अवस्था थाति राख्दै आफ्नो स्वार्थ पूरा गर्न शक्तिशाली देश बन्ने होडमा भारतले अन्य देशलाई सहायता गरिरहन्छ । नेपाल पनि यसबाट अछुतो छैन । भारतले केही करोड रुपैयाँ सहयोग गर्दैमा हामी भारतलाई विकसित ठानिरहेका छौ । भौतिक रुपमा भारतमा पूर्वाधार विकास धेरै भएको छ तर सामाजिक र सांस्कृतिक विकास हुन धेरै बाँकी छ ।
त्यस्तै, उत्तरको छिमेकी चीनको चमत्कारबाट पनि नेपाली समाज प्रभावित छ । हामीले यथार्थता जान्नु पर्दछ कि आजको चीन चमत्कारबाट बनेको होइन । करोडौं नागरिकको मिहिनेतबाट बनेको छ । चीनको शासन व्यवस्थाले मिहिनेतको मात्रै सुनिश्चितता गरेको छैन, कडा अनुशासन र इमान्दारिता पनि नागरिकमा फैलाएको छ । यद्यपि, राजनीतिक स्वतन्त्रतामा भारत, नेपाल वा अन्य देशभन्दा चीन पछाडि छ ।
आज हामीले चीनको विकासलाई चमत्कार ठान्नु हुँदैन । त्यो चमत्कारबाट नेपाल पनि विकसित हुने सपना देख्नुहुन्न । सित्तैमा चीन वा भारत वा कसैले पनि नेपाललाई विकसित बनाउदैन । नेपाललाई विकसित बनाउने नेपालीले नै हो । नेपालीले पनि भाषण गरेर विकास हुँदैन । मातृभूतिप्रतिको निष्ठा चाहिन्छ, जनताप्रति इमान्दारिता चाहिन्छ र पसिना बगाउनुपर्छ, मिहिनेत गर्नुपर्छ । तब मात्रै बन्छ विकसित नेपाल । कोरोनाकालमा मातृभूमि फर्किएका सबै नेपाली अब देशकै लागि बाच्नुपर्छ, देशभित्रै पसिना बगाउनुपर्छ, मिहिनेत गर्नुपर्छ । सरकारले यसका लागि अवसरको सिर्जना गर्नुपर्छ । विश्व बजारका उपभोक्ता बनेर जीवन विताउने वा आफ्नो जीवनकालमा सम्वृद्ध नेपाल बनाउने ? यी दुई विकल्पमध्ये एउटा बाटोमा हिड्ने अवस्थामा आइपुगेका छौ ।