त्रिदेशीय सीमाक्षेत्रमा निगरानी बढाउदै सशस्त्र प्रहरी

0
920

यस्तो छ व्यासक्षेत्रको पछिल्लो सुरक्षा अवस्था ?
दार्चुला, असार ५ गते ।
एक महिनाअघि स्थापना गरिएको सशस्त्र प्रहरीको व्यास विओपीले त्रिदेशीय सिमाक्षेत्रमा निगरानी बढाउन थालेको छ । एक महिनाको अवधिमा चार पटक कालापानी नजिकको सीमाक्षेत्र र तिनपटक चीन सीमा नजिकको तिंकरमा सशस्त्रले गस्ती गरेको छ ।
महाकाली नदीको किनारैकिनार तल्लो र माथिल्लो कौवाक्षेत्रमा सशस्त्र प्रहरीको टोलीले गस्ती गरिरहेको छ । भारतबाट अतिक्रमित नेपाली भूमि गुञ्जीको सामुन्ने पूर्वपट्टि कौवाक्षेत्र पर्दछ । सशस्त्र प्रहरीले नियमित रुपमा त्यसक्षेत्रमा गस्ती गरिरहेको खलंगास्थित ५० नम्बर गुल्म हेडक्वाटरका गुल्मपति डम्बरवहादुर विष्टले बताउनुभयो ।
सशस्त्र प्रहरी निरीक्षक लिलिवहादुर चन्दको नेतृत्वमा हतियारसहितको सुरक्षाकर्मी टोलीले सिमाक्षेत्रमा गस्ती गरेको छ । गस्ती टोलीमा कम्तिमा १५ जना सुरक्षाकर्मी खटाउने गरिएको सशस्त्र प्रहरी स्रोतले बतायो । स्रोतका अनुसार पहिलो पटक जेठ ४ गते कौवाक्षेत्रमा सशस्त्र प्रहरीले गस्ती गरेको थियो । जेठ १० गते दोस्रो पटक तथा जेठ १८ गते तेस्रो पटक तल्लो र माथिल्लो कौवाक्षेत्रमा गस्ती गरिएको स्रोतले बतायो । त्यसपछि पनि एकपटक सशस्त्रको टोली कौवाक्षेत्रमा पुगेको छ ।
दोस्रो पटकको गस्तीको नेतृत्वमा सशस्त्र प्रहरी नायव निरीक्षक (सई)ले गरेका थिए । पहिलो र तेस्रो पटकको गस्तीमा भने विओपी कमाण्डर लिलिवहादुर चन्द आफै गएका थिए । जेठ १८ गतेको गस्ती टोलीले कालापानी क्षेत्रसम्म पुग्ने योजना बनाएको थियो । तर एसएसवीको टोलीले माथिल्लो कौवाभन्दा केही माथिको क्षेत्रमा सशस्त्र प्रहरीलाई रोकेको सुरक्षा स्रोतको भनाई छ ।
सशस्त्र प्रहरीको गस्ती टोली कालापानीतर्फ प्रस्थान गरेको जानकारी पाएको एसएसवी टोली कालापानीबाट २ किलोमिटर तल पुगेको थियो । ‘माथिल्लो कौवाभन्दा केही माथिसम्म सशस्त्रको टोली पुगेको थियो, ५ जनाको एसएसवी टोलीले त्यहाँभन्दा अगाडि जान नदिएको खवर छ’ व्यासक्षेत्रका एक वासिन्दाले भन्नुभयो ।
एसएसवीको इन्सपेक्टर मान सिंहको नेतृत्वमा ५ जना भारतीय सुरक्षाकर्मीले सशस्त्र प्रहरीको टोलीसंग कालापानी नजिकको क्षेत्रमा भेट गरेका थिए । ‘कालापानी क्षेत्रसम्म जानदिने माथिको आदेशको छैन’ भन्दै सशस्त्र टोलीलाई सशस्त्र प्रहरीलाई रोकेको थियो ।
सशस्त्रको टोलीले त्यसदिन कालापानीसम्म पुग्ने र भारतीय पक्षले बनाएको मन्दिर हेर्ने तयारी गरेको थियो’ स्रोतले भन्यो, ‘एसएसवीले रोकेपछि २ किलोमिटर तलबाटै टोली फर्कियो ।’ एसएसवीका इन्सपेक्टर मानसिंह सहितको टोलीले सशस्त्र टोलीसंग मित्रतापूर्ण कुराकानी र व्यवहार गरेको थियो । ‘दुबै टोलीले एकआपसमा जुस र विस्कुट समेत खाएको’ स्रोतको भनाई छ । आ–आफ्नो म्यान्डेट र माथिको आदेशअनुसार सीमाक्षेत्रमा खटिएको र आपसी समन्वय गरिरहनेबारे कुराकानी भएको थियो ।
व्यासस्थित सशस्त्र प्रहरी टोलीले भारतको गव्र्याङमा रहेको एसएसवी टोलीसंग सम्पर्क र समन्वय गरिरहेको छ । सितापुलमा दुबैतर्फ नियमित र निरन्तर सुरक्षाकर्मी खटिने गरेका छन् । गुञ्जीमा एसएसवीका इन्सपेक्टर मानसिंहको नेतृत्वमा पोष्ट छ भने गव्र्याङको पोष्टमा एसएसवीका असईले नेतृत्व गर्दछन् ।
गव्र्याङबाट करिब २ किलोमिटरको दूरीमा सितापुल छ । सितापुलमा महाकाली नदीमाथि नेपाल भारत जोड्ने काठेपुल छ । विगतदेखि नै यो पुल सञ्चालन भए पनि लकडाउनका कारण आवतजावत बन्द गरिएको छ । सितापुलमा खटिने एसएसवीको टोलीमा ६ जना हुन्छन् । असईको नेतृत्वमा एसएसपीको टोली खटिने गरेकोमा एक हप्तामा नेतृत्व परिवर्तन हुन्छ । जवानहरु भने २४ घण्टा परिवर्तन गरिन्छन् ।
सीतापुलमा नेपालतर्फ सशस्त्र प्रहरीले नियमित बस्ने गरेको छ । पुलछेउमा पोष्ट निर्माण पनि भइरहेको छ । हतियारसहित दैनिक रुपमा सशस्त्र प्रहरी सितापुलमा खटिने गरेको स्रोतले बतायो । सितापुल क्षेत्र सशस्त्र प्रहरीको हालको विओपीबाट एक किलोमिटरको दूरीमा छ ।
सितापुलस्थित महाकाली नदी माथिको काठेपुलमा पछिल्लो समय ढोका राखिएको छ । भारत र नेपाल दुबैतर्फ काठेपुलमा ढोका र छेकवार लगाइएको छ । सितापुलबाट मान्छे मात्रै होइन, जनावरको आवागमन पनि रोकिएको छ । ‘मान्छेका साथै जनावरको आवागमन रोक्नका लागि काठेपुलमा ढोका लगाइएको’ स्रोतले बतायो । भारततर्फ पुलमा ढोका नै बनाइएको छ भने नेपालतर्फ काठको छेकवार लगाइएको छ ।
छाङरुस्थित सशस्त्र प्रहरीको टोलीले गव्र्याङको एसएसपी टोलीसंग समन्वय र सम्पर्क गर्दछ । विओपी स्थापना गर्नेबेला पनि भारतीय सुरक्षाकर्मीसंग भेटघाट गरिएको थियो ।
अतिक्रमित नेपाली भूमि गुञ्जीभन्दा माथि एसएसवीको उपस्थिति छैन । यसअघि गुञ्जीभन्दा ९ किलोमिटर पूर्वोत्तर कालापानीमा एसएसवी पनि बस्दथे । पछिल्लो समय कालापानीमा आइटिविपी र भारतीय सेनाको मात्रै क्याम्प रहेको सुरक्षा स्रोत बतायो । ‘कालापानी क्षेत्रमा नेपालको सिमाना जोडिएको छैन भन्ने देखाउन एसएसवीलाई गुञ्जीमा राखिएको छ, त्यसभन्दा अगाडि राखिएको छैन’ सुरक्षा स्रोतको भनाई छ । ‘कालापानी क्षेत्रमा आइटिविपी र भारतीय सेना मात्रै राखेर उक्तक्षेत्र समेत एकलौटी भारतको हो’ भन्ने सन्देश दिन खोजेको छ ।
जेठ १८ गते कालापानीभन्दा २ किलोमिटर तल सशस्त्र प्रहरीको गस्ती टोलीलाई छेक्न गुञ्जीबाट कालापानी हुँदै एसएसवी टोली पठाइएको थियो । गुञ्जीबाट कालापानीसम्मको ९ किलोमिटर सडकमा गाडीमार्फत पुगेको एसएसवी टोली कालापानीबाट २ किलोमिटर पैदल कौवातर्फ हिडेको थियो । ‘यसअघि महाकालीको नक्कली मुहान देखाइदैआएको महाकाली मन्दिरसम्म पनि नेपाली पक्षलाई पुग्न नदिने हर्कत देखियो’ सुरक्षा स्रोतको भनाई छ ।
कालापानी नजिकको क्षेत्रमा भएको गस्ती र त्यसक्षेत्रको वस्तुस्थितिबारे सशस्त्र प्रहरीको हेडक्वाटरमा सिधै रिपोर्टिङ हुने गरेको छ । छाङरुको गागास्थित विओपी कार्यालयबाट गस्ती निस्कदा पनि हेडक्वाटरकै स्वीकृति र निगरानी हुने गरेको स्रोतको भनाई छ । हेडक्वाटरकै निर्देशनमा जेठ १८ गते कालापानी क्षेत्रसम्म पुग्ने गरी सशस्त्र प्रहरीको टोली गएको थियो । सीमाक्षेत्रका सबै अवस्थाबारे दैनिक रुपमा सशस्त्र प्रहरी हेडक्वाटरले रिर्पोटिङ माग्ने गरेको छ ।
वैशाख ३१ गते मात्रै छाङरुमा पुगेको सशस्त्र प्रहरीको टोलीले जेठ ६ गते तिंकर गाउँसम्म पुग्ने प्रयास गरेको थियो । छाङरुबाट १२ किलोमिटर पूर्वतर्फ तिंकर गाउँ रहेको छ भने तिंकर गाउँबाट करिब ६ किलोमिटरको दूरीमा चीनको सिमाना रहेको छ । भारी हिमपातले सशस्त्रको गस्ती टोली जेठ ६ गते ४ किलोमिटर टाढाको राकाङ क्षेत्रबाट फर्किएको थियो ।
जेठ ९ गते खलंगाबाट हिडेको तिंकरका स्थानीय वासिन्दाको कुञ्चा (वसाईसराईको टोली) जेठ १४ गते छाङरु पुगेको थियो । भोलिपल्ट जेठ १५ गते सशस्त्र प्रहरी टोलीले राकाङदेखि तिंकर गाउँसम्मको बाटो खुलाएको थियो । हिमपहिरोले धेरै ठाउँमा भत्किएको बाटो सशस्त्रको टोलीले मर्मत गरेको थियो ।
तिंकर क्षेत्रमा जेठ ४ गते तेस्रो पटक सशस्त्रको गस्ती टोली पठाइएको छ । विओपी कमाण्डर लिलिवहादुर चन्दको नेतृत्वमा चीनिया सीमाको १ नम्बर पिलरसम्म पुग्ने योजना बनाएको सुरक्षा स्रोतको भनाई छ । सम्भव भएसम्म १ नम्बर पिलरमै पुग्नेगरी गस्ती टोली तिंकरतर्फ हिडेको स्रोतले बतायो । तिंकरको छियालेकमा प्रहरी नायव निरीक्षकको नेतृत्वमा नेपाल प्रहरी टोली पनि रहेको छ । सशस्त्र प्रहरीको टोलीले डोङकाङ र टाटा क्षेत्रका साथै तिंकर भञ्ज्याङसम्म गस्ती गर्ने छ ।
असार ४ देखि ७ गतेसम्म तिंकर क्षेत्रमा सशस्त्र प्रहरीले गस्ती गर्दैछ । असार ३ गते मात्रै प्रधान सेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले छाङरु विओपीको निरीक्षण गरेका थिए ।
छाङरुमा रहेको सशस्त्र प्रहरी र नेपाल प्रहरी तथा तिंकरमा रहेको नेपाल प्रहरी टोलीसंग सञ्चार सुविधा छ । केही दिनअघि छाङरुमा भायनेट प्रालिले वाइफाइ सेवा सुचारु गरेको छ भने नेपाल टेलिकमले स्काई मोबाइलको टावर मर्मत पनि गरिरहेको छ । टावर सञ्चालनमा आएपछि छाङरु र तिंकर दुबै गाउँमा स्काई मोबाइल सेवा सुचारु हुनेछ । टेलिकम दार्चुलाका प्रमुख कृष्णवहादुर गुरुङ आवश्यक उपकरणसहित टावर मर्मतका लागि असार ३ गते छाङरु पुगेका छन् ।