दार्चुलामा कुनै ट्राभल हिस्ट्री नभएका ब्यक्तिमा देखियो कोरोना , नगरपालिका क्षेत्र सिल गरिदै

0
1517

बिरा दत्त भट्ट, दार्चुला   

भाद्र २४ गते । दार्चुलामा पहिलो पटक ट्राभल हिस्ट्री नभएका ब्यक्तिमा कोरोना संक्रमण देखिएको छ । दार्चुला सदरमुकाम खलंगामा शैलुन ब्यवसाय (कपाल काट्ने) सञ्चालन गरेका एक जना पुरुषमा कोरोना पुष्टी भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
हाल सम्म दार्चुलामा बाहिर जिल्लाबाट आएका र विदेशबाट आएका ब्यक्तिहरुमा मात्रै कोरोना देखिएको थियो, पहिलोपटक समुदायस्तरमै रहेका ब्यक्तिमा कोरोना संक्रमण पाइएको स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिनुभयो ।
ट्राभल हिस्ट्री नभएका ब्यक्तिमा कोरोना पाइएकाले उनको सम्पर्कमा आएकाहरुको कोरोना परिक्षण गरिने र संक्रमित कसको सम्पर्कमा आएर कोरोना सक्रमित भए खोजी गरिने उहाँको भनाई छ ।
दार्चुलामा पहिलो पटक समुदाय स्तरकै मानिसमा कोरोना पुष्टी भएपनि समुदाय स्तरमा नै कोरोना फैलिनसकेको कार्कीको भनाई छ ।
गत २१ गते महाकाली नगरपालिका स्वास्थ्य शाखाले दार्चुला सदरमुकाममा शैलुन ब्यवसाय गरिरहेका तिन जना सहित ४७ जनाको पिसिआर परिक्षणका लागि स्वाब संकलन गरेको थियो । जसमध्ये थप एक जनाको पिसिआर रिर्पाेट पोजेटिभ आएको छ । ब्यास गाउँपालिका वडा नं १ स्थाई ठेगाना भई हाल दार्चुला सदरमुकाम खलंगामा बसोबास गरिरहेका एक जना पुरुषको पनि पिसिआर रिर्पाेट पोजेटिभ आएको स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी कार्कीले बताउनुभयो । भारतबाट आएका ति पुरुष हाल होम क्वारेन्टाइनमा रहेको बुझिएको छ । बुधबार डडेलधुरा अस्पताको प्रयोगशालामा गरिएको परिक्षणमा दार्चुलाका दुई जनामा कोरोना पुष्टी भएको हो।
स्वाब संकलन १० जना पत्रकारको पनि गरिएको थियो । पत्रकार सहित ४५ जनाको कोरोना रिर्पाेट भने नेगेटिभ आएको छ । यो संगै दार्चुलामा सक्रिय कोरोना संक्रमितको संख्या तिन पुगेको छ ।
दुई जना ब्यक्तिमा कोरोना पुष्टी भएपछि महाकाली नगरपालिकाले नगरपालिका क्षेत्र सिल गर्ने निर्णय गरेको छ । नगरपालिका क्षेत्र पुरै सिल गर्ने निर्णय गरिएको महाकाली नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत नर सिह बडालले जानकारी दिनुभयो ।
नगरपालिकाको औपचारीक पत्र आएपछि प्रशासनले सिलको निर्णय गर्ने जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले जानकारी दिनुभयो ।