दार्चुला, असार १४ गते ।
भारतबाट तरकारी आयातमा रोक लगाएपछि भन्सार महशुलमा गिरावट आएको छ । दार्चुला भन्सार कार्यालयले गत जेठ महिनामा आयाततर्फ ३ लाख २८ हजार ८२४ रुपैयाँ मात्रै भन्सार महशुल संकलन गरेको छ ।
वैशाख महिनामा भने आयातमा ७ लाख ६ हजार ४७६ रुपैयाँ र निर्यातमा ३ लाख रुपैयाँ भन्सार महशुल संकलन गरिएको थियो । वैशाखमा ८ लाख ८१ हजार रुपैयाँ भन्सार महशुल संकलनको लक्ष्य रहेकोमा लक्ष्यभन्दा २ लाख ८ हजार ७९९ रुपैयाँ बढी संकलन गरिएको थियो । अन्य शीर्षकहरुमा समेत गरी गत वैशाखमा कुल १० लाख ८९ हजार ७९९ रुपैयाँ राजश्व संकलन भएको थियो ।
भन्सार कार्यालयको तथ्यांकअनुसार जेठ महिनामा आयातभन्दा निर्यातमा बढी भन्सार महशुल संकलन भएको छ । आयातमा ३ लाख २८ हजार ८२४ रुपैयाँ भन्सार महशुल संकलन गरिएकोमा निर्यातबाट ४ लाख ६५ हजार रुपैयाँ महशुल संकलन गरिएको छ ।
दार्चुलाबाट भारत निकासी हुने खरिढुंगाबाट निर्यातको भन्सार महशुल संकलन गरिएको कार्यालय प्रमुख धामीले बताउनुभयो । जेठ महिनामा ८ लाख ९७ हजार रुपैयाँ भन्सार महशुल संकलन गर्ने लक्ष्य राखिएको थियो । दार्चुला भन्सार कार्यालयले लक्ष्यभन्दा केही कम अर्थात ८ लाख २२ हजार ९७५ रुपैयाँ महशुल संकलन गरेको छ ।
आयातमा भन्सार महशुल घटे पनि निर्यातबाट भन्सार उठेकोले लक्ष्यनजिक महशुल संकलन भएको भन्सार कार्यालयले जनाएको छ । जेठ महिनामा लक्ष्यअनुसार भन्सार संकलन नभए पनि चालू आर्थिक वर्षको वार्षिक लक्ष्यभन्दा बढी राजश्व ११ महिनाको अवधिमा संकलन भइसकेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्णयपछि जेठ २२ देखि दार्चुलाको नाकाबाट कृषिजन्य उपजहरु आयातमा रोक लगाइएको दार्चुला भन्सार कार्यालयले जनाएको छ । नेपालमा दैनिक आयात हुने कृषिजन्य उपजहरु क्वारेन्टाइन कार्यालयहरुबाट मात्र आयात गर्ने व्यवस्था गर्न प्रधानमन्त्री कार्यालयले सर्कुलर गरेको थियो ।
क्वारेन्टाइन कार्यालय रहेको सिमानाकाहरुबाट गुणस्तर परीक्षणपछि मात्रै कृषिजन्य उपजहरु आयात गर्नुपर्ने प्रावधान छ । दार्चुलामा कृषिजन्य उपजहरुको परीक्षण गर्ने क्वारेन्टाइन कार्यालय नभएकोले तरकारी र फलफुल आयात रोकिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जेठ २१ गतेको सचिवस्तरीय निर्णयबाट परीक्षणविना कृषिजन्य उपजहरु आयातमा रोक लगाइएको हो । कृषि मन्त्रालय र उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालय मातहतका निकायहरुलाई यसबारे सर्कुलर गरिएको थियो ।
भारतको धारचुला बजारसंग जोडिएको दार्चुला नाकाबाट दैनिक रुपमा तरकारी र फलफुल नेपाल भित्रिने गर्दथ्यो । सरकारको निर्णयपछि तरकारी र फलफुल आयत पूर्णरुपमा रोकिएको दार्चुला भन्सार कार्यालयका प्रमुख दिनेश सिंह धामीले बताउनुभयो ।
भारतबाट तरकारी र फलफुल आयात हुँदा साप्ताहिक ४०–५० हजार रुपैयाँ भन्सार उठ्ने गरेको थियो । हरेक हप्ता सोमबार, बुधवार र शुक्रवार भारतको हल्द्वानीबाट धारचुलासम्म फलफुल र तरकारीको गाडी आउने गरेकोमा धेरैजसो सामग्री नेपाल आयात हुने गर्दथ्यो ।
आप, केरा, अंगुर लगायतका फलफुल र आलु, प्याज, टमाटर, लौकीलगायतको तरकारी मुख्यगरी धारचुलाबाट आयात हुँदैआएको थियो । भारतबाट तरकारी र फलफुल आयातमा रोक लगाइएपछि अहिले दार्चुलाको ग्रामिण भेगमा उत्पादन भएको तरकारीले स्थान पाएको थियो । गाउँघरमा उत्पादित केराले पनि अहिले बजार पाएको छ । स्याउ र आप लगायतका फलफुल भने धनगढीबाट ढुवानी भइरहेको छ ।







