दार्चुला, जेठ १९ गते ।
बालेन नेतृत्वको रास्वपा सरकारले सामरिक र रणनीतिक महत्वको दार्चुला–टिंकर सडकमा ठगेको छ । आर्थिक वर्ष २०८३र८४ को बजेट विनियोजनमा आफ्नै पूर्वघोषणा कार्यान्वयन नगरी रास्वपा सरकारले सिमाक्षेत्रलाई धोका दिएको छ ।
नयाँ बजेटका लागि नीति तथा कार्यक्रममाथि छलफल गर्नेक्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेले टिंकर सडकमा ‘उल्लेख्य बजेट’ राखिने बताएका थिए । प्रतिनिधिसभाको बैठकमा यस्तो अभिव्यक्ति दिएका अर्थमन्त्री स्वयंले टिंकर सडकमा १३ करोड मात्रै बजेट छुट्याएका छन् ।
सोमबार सार्वजनिक गरिएको रातो किताबमार्फत टिंकर सडकमा न्युन बजेट विनियोजनको तथ्य खुलेको हो । नेपाली सेनामार्फत निर्माण भइरहेको यो सडकमा ३० करोड रुपैयाँ बजेट मागिएको थियो ।
जेठ १५ गते प्रस्तुत गरिएको बजेट वक्तव्यमा पनि अर्थमन्त्री वाग्लेले ‘महाकाली कोरिडोरअन्तर्गत दार्चुला–टिंकर खण्डको ट्रयाक खुलाउने कार्यलाई विशेष प्राथमिकता दिइएको’ बताएका थिए । नीति तथा कार्यक्रममाथि छलफल र बजेट वक्तव्य दुबैमा टिंकर सडकमा पर्याप्त बजेट विनियोजन हुने बताइए पनि रातो किताबको विवरणमा निराशाजनक बजेट राखिएको छ ।
अर्थमन्त्रीले यसअघि दुइपटक टिंकर सडकबारे सार्वजनिक अभिव्यक्ति दिएकाले यसपटक पर्याप्त बजेट विनियोजन हुने अपेक्षा गरिएको थियो । नेपाली सेनाले मागेको ३० करोड बजेट सरकारले विनियोजन गर्ने र सडक निर्माणले गति पाउने आशमा सिमावासी थिए । तर सोमबार सार्वजनिक बजेट विवरणले सरकारप्रति निशारा र आक्रोस बढाएको छ ।
अर्थमन्त्री वाग्लेले टिंकर सडकमा पर्याप्त बजेट छुट्याउन नेपाली सेनाले पनि आग्रह गरेको जानकारी पनि सार्वजनिक गरेका थिए । वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा जवाफ दिदै अर्थमन्त्री स्वर्णिम वाग्ले आफैले टिंकर सडकमा यो वर्ष ‘उल्लेख्य बजेट’ विनियोजन गरिने बताएका थिए ।
अर्थमन्त्री आफैले उल्लेख्य बजेट विनियोजन गरिने र विशेष प्राथमिकता दिइने भने पनि टिंकर सडकमा बजेट भने सेनाले मागेको भन्दा ५७ प्रतिशत न्युन छुट्याइएको छ ।
न्युन बजेट विनियोजनका कारण सेनाले निर्माण गरिरहेको टिंकर सडक निर्माणले गति लिन सकेको छैन । नीति तथा कार्यक्रममाथिको छलफलमा दार्चुलाका सांसद गणेश सिंह ठगुनाले यसबारे गम्भीर रुपमा प्रश्न उठाएका थिए । सांसद ठगुन्नाको प्रश्नलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले टिंकर सडकमा उल्लेख्य बजेट विनियोजन गरिने र यसबारे सेनाले पनि आग्रह गरेको बताएका थिए ।
सोमबार अर्थ मन्त्रालयले रातो किताब सार्वजनिक गरेको छ । रातो किताबमा टिंकर सडक निर्माणका लागि १२ करोड ९९ लाख रुपैयाँ पूजीगत बजेट छुट्याइएको छ । रातो किताबको विवरणअनुसार टिंकर सडक निर्माणका लागि सेनालाई चालूतर्फ ३७ लाख र पूजीगततर्फ १२ करोड ९९ लाख गरी कुल १३ करोड ३६ लाख बजेट दिइएको छ ।
अर्थमन्त्रीले बजेट वक्तव्यमा टिंकर सडक खण्ड निर्माणलाई ‘विशेष प्राथमिकता’ दिइएको उल्लेख गरे पनि बजेटको अंक खुलाएका थिएनन् । बजेट वक्तव्यमा अंक नखुलाइ चलाखीपूर्ण रुपमा टिंकर सडक खण्डको ट्रयाक खुलाउने कार्यलाई ‘विशेष प्राथमिकता’ दिएको अर्थमन्त्रीको भनाइ आयो ।
अर्थमन्त्रीले उल्लेख्य बजेट र विशेष प्राथमिकता दिने भनेर बोलेको झुट सोमबार सार्वजनिक रातो किताबबाट सार्वजनिक भएको छ । सेनाले जिम्मा लिएको ७९ किलोमिटर दार्चुला–टिंकर सडक खण्डमध्ये हालसम्म १८ किलोमिटर मात्रै ट्रयाक खुलेको छ । सडक निर्माणका लागि सेनालाई पर्याप्त बजेट विनियोजन गर्न चार वर्षदेखि माग हुँदै आएकोमा वार्षिक बजेट विनियोजनमा धोका दिइदैआएको छ ।








