एक वर्षमा २८ सयले बनाए बहुयात्रा अनुमतिपत्र

0
12

दार्चुला, साउन ७ गते ।
एक वर्षको अवधिमा २ हजार ८३६ जनाले बहुयात्रा अनुमतिपत्र बनाएका छन् । यो भारतको बाटो हुँदै व्यासक्षेत्र पुग्नका लागि आर्थिक वर्ष २०८२–८३ को अवधिमा अनुमतिपत्र बनाउनेको संख्या हो ।
अध्यागमन तथा सीमा प्रशासन कार्यालयको अभिलेखअनुसार २ हजार ३७३ पुरुष र ४६३ महिलाले यस्तो अनुमतिपत्र बनाएका हुन् । जिल्ला समन्वय समितिको कार्यालयबाट भरिएको अनुसूची फारम अध्यागमन कार्यालयले प्रमाणित गरी अभिलेख राख्ने गरेको कार्यालय प्रमुख गोपाल सिंह बोहराले बताउनुभयो ।
जिसस कार्यालयमा भरिएको अनुसूची फारमलाई अध्यागमन कार्यालयले प्रमाणिकरण गरेपछि स्वीकृतिका लागि धारचुलास्थित तहसिल कार्यालय पुग्नुपर्छ । धारचुलाका एसडिएमले अनुसूची फारममै स्वीकृतिको छाप लगाएर हस्ताक्षर गर्छन् । एसडिएम कार्यालयको छाप र हस्ताक्षरसंगै अनुमतिपत्रको अवधि र स्वीकृति मिति पनि उल्लेख हुन्छ ।
हरेक वर्ष वैशाखदेखि असोज–कार्तिकसम्मको अवधिमा बहुयात्रा अनुमतिपत्र बनाएर व्यासक्षेत्र जाने गरिन्छ । चलनचल्तीको भाषामा बहुयात्रा अनुमतिपत्रलाई ‘पास’ भनिन्छ । व्यास गाउँपालिका वडा नम्बर १ छाङरु र तिंकरका वासिन्दाले पशुचौपायाहरुको समेत पास बनाएर भारतीय बाटो प्रयोग गर्नुपर्ने अवस्था छ ।
अध्यागमन कार्यालयको अभिलेखअनुसार यो वर्ष २०८३ वैशाखमा ९६७, जेठ महिनामा ६८२ र असारमा ५९८ जनाले बहुयात्रा अनुमतिपत्र बनाएका छन् । २०८२ साउनमा १९७, भदौमा ७९ र असोजमा ११६ जनाले पास बनाएका छन् ।
कार्तिकमा ६८, मंसिरमा १३ र पुषमा ५ जनाले बहुयात्रा अनुमतिपत्र बनाएका छन् । माघ र फागुनमा पास जारी गरिएको छैन भने चैत्र महिनामा १११ जनाले पास बनाएका छन् । हिउदमा हिमपातका कारण व्यासक्षेत्रमा आवतजावत हुँदैन । व्यासक्षेत्रका स्थानीयको कुञ्चा (बसाइसराई) चैत्र–वैशाखमा व्यास जाने र कार्तिक–मंसिरमा खलंगा झर्ने गरिन्छ ।
बहुयात्रा अनुमतिपत्र बनाउनेहरु अधिकांश जिल्लाभित्रकै नागरिक छन् । केही जिल्लाबाहिरका नागरिकले पनि अनुमतिपत्र बनाएका छन् । कुनै काम विशेषले वा भ्रमण गर्ने उद्देश्यले व्यासक्षेत्र जाने जिल्लाबाहिरका नागरिकले यस्तो अनुमति बनाएका छन् । व्यास गाउँपालिकाको १ नम्बर वडा कार्यालयको सिफारिसका आधारमा जिल्लाबाहिरका नागरिकलाई अनुमतिपत्र दिइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here