दार्चुला, साउन ८ गते ।
दार्चुला गत वर्ष विद्युत महशुल संकलन एकतिहाइले बढेको छ । आर्थिक वर्ष २०८२–८३ मा विद्युत महशुल संकलन ३४ प्रतिशतले बढेर ८ करोड १९ लाख ८७ हजार १४१ रुपैयाँ १५ पैसा पुगेको दार्चुला वितरण केन्द्रले जनाएको छ ।
विगत ८ वर्षको अवधिमा सर्वाधिक विद्युत महशुल संकलन भएको केन्द्रको तथ्याङ्क छ । अघिल्लो वर्ष २०८१–८२ मा ६ करोड १२ लाख ४४ हजार १९७ रुपैयाँ ४४ पैसा विद्युत महशुल संकलन गरिएको थियो ।
अघिल्लो वर्षकोभन्दा गतवर्ष २०८२–८३ मा २ करोड ७ लाख ४२ हजार ९४३ रुपैयाँ ७० पैसा बढी महशुल संकलन गरिएको केद्रका प्रमुख रोशन कुमार ठाकुरले बताउनुभयो । अघिल्लो वर्षको तुलनामा ३३ दशमलव ८७ प्रतिशत बढी महशुल उठेको छ ।
नेपाल विद्युत प्राधिकरणको दार्चुला वितरण केन्द्रको विवरणअनुसार आर्थिक वर्ष २०८१–८२ मा अघिल्लो आर्थिक वर्ष २०८०–८१ को भन्दा ३२ लाख ६४ हजार १९५ रुपैयाँ ३८ पैसा बढी महशुल संकलन भएको थियो । यो ५ दशमलव ३३ प्रतिशत बढी हो । आर्थिक वर्ष २०८०–८१ मा ५ करोड ७९ लाख ८० हजार २ रुपैयाँ ६ पैसा विद्युत महशुल उठेको थियो ।
ग्राहक संख्या र विद्युत उपभोग दुबै बढेकोले महशुल एकतिहाइले बढेको वितरण केन्द्र प्रमुख ठाकुरले बताउनुभयो । ‘पछिल्लो समय ग्राहकको संख्या बढिरहेको छ, गतवर्ष मात्रै ३ हजार नयाँ ग्राहक थपिएका छन् । विद्युतको खपत पनि बढेकाले महशुल वृद्धि भएको देखिन्छ’ उहाँले भन्नुभयो ।
विद्युतको बक्यौता रकम उठेकोले पनि महशुल संकलन वृद्धि भएको वितरण केन्द्रका लेखा प्रमुख धर्मराज रेग्मीले बताउनुभयो । गतवर्ष दार्चुला वितरण केन्द्रअन्तर्गत ७ करोड ६० लाख ७७ हजार ६६६ रुपैयाँ ६८ पैसाको विद्युत बिक्री गरिएको छ । तर विद्युत महशुल संकलन भने ८ करोड १९ लाखभन्दा बढी पुगेको छ ।






