चीनको अनुमति नआएपछि कालापानी पुगेका व्यापारी फर्किए

0
66

दार्चुला, असार २८ गते ।
लिपुलेक नाकाबाट व्यापारका लागि चीनको ताक्लाकोट प्रवेश गर्ने तयारीमा रहेका भारतीय व्यापारी कालापानीबाट फर्किएका छन् । जुलाइ ८ अर्थात असार २४ गते व्यापारीका लागि नाका खोलिने अनौपचारिक खबरपछि व्यापारीको टोली गुन्जी हुँदै कालापानी पुगेको थियो ।
चीनबाट नाका खुल्नेबारे प्रष्ट जानकारी नआएपछि गुञ्जी र कालापानी क्षेत्र पुगेका तीन दर्जन व्यापारी शनिवार धारचुला फर्किएका छन् । भारत–तिब्बत सीमा पुलिस (आइटिबिपी) र गुप्तचर संस्थाका अधिकारीहरुले लिपुलेक नाकाबाट व्यापारीहरुको टोली ताक्लाकोट प्रवेशका लागि आधिकारिक खबर नआएको बताएपछि व्यापारीहरु फर्किएका हुन् ।
कहिले र कुन मितिमा लिपुलेकबाट ताक्लाकोट प्रवेश गर्ने भन्नेबारे आधिकारिक र स्पष्ट खबर नआएको सुरक्षा अधिकारीहरुको भनाई छ । ताक्लाकोटमा व्यापारका लागि भारतमा उत्पादित सामानहरुसहित व्यापारीहरु गुन्जी र कालापानीसम्म पुगेका थिए ।
धेरैजसो व्यापारीले गुञ्जीमा स्थापना गरिएको भन्सार कार्यालयबाट सामानको चेकजाँच समेत पास गराइसकेका छन् । गुड, मिस्री, तामा र स्टिलका भाडावर्तनलगायतका सामान ताक्लाकोट निकासी हुन्छ ।
भारत–तिब्बत सीमा व्यापारका लागि धारचुलामा ट्रेड कार्यालय स्थापना गरिएको छ । धारचुलाका एसडिएमलाई ट्रेड अधिकारीको थप जिम्मेवारी पनि दिइएको छ । ट्रेड कार्यालयले ३७ व्यापारी र ४० जना सहयोगी गरी ७७ जनाको ट्रेडपास (अनुमतिपत्र) जारी गरिसकेको छ ।
ताक्लाकोट पुगेर व्यापार गर्न भारतीय पक्षले सबै तयारी पूरा गरेको छ । गुञ्जीमा भन्सार र बैंक कार्यालय खोलिएको छ । अधिकांश व्यापारीले ठूलो परिमाणमा भारतीय उत्पादनहरु धारचुला हुँदै गुञ्जी, कालापानी र नाभीढाँगसम्म ढुवानी पनि गरिसकेका छन् ।
पछिल्लो समय सडक सुविधाका कारण सामान ढुवानीमा सजिलो भएको छ । ढुवानी खर्च पनि घटेको छ । नाभीढाँगमा व्यापारिक सामान र घोडाखच्चरका लागि अस्थायी संरचना पनि बनाइएको छ । स्थानीय प्रशासनले व्यापारी र आइटिबिपीसंगको समन्वयमा अस्थायी संरचना निर्माण गरेको हो ।
लिपुलेक भएर ताक्लाकोट पुग्न आतुर भारतीय व्यापारीलाई केही समय धैर्य गर्न भनिएको छ । चीनिया पक्षबाट आधिकारिक जानकारी आएपछि मात्रै व्यापारी टोली र सामान ताक्लाकोट पठाइने भारतीय सरकारी निकायहरुको तयारी छ ।
जुलाइ १० अर्थात असार २६ गते यो वर्ष पहिलोपटक लिपुलेक नाकाबाट कैलाश यात्राको टोली ताक्लाकोट प्रवेश गरेको छ । कैलाश यात्राको पहिलो टोलीलाई भारत र चीन दुबै देशका सुरक्षा निकाय र सरकारी अधिकारीहरुको समन्वयमा ताक्लाकोट पुर्याइएको छ ।
कैलाश यात्रीसंगै व्यापारीहरुका लागि समेत लिपुलेक नाका खुल्ने धारचुला क्षेत्रका व्यापारीको आश थियो । तर ताक्लाकोटमा व्यापारीहरुका लागि भवन र भाडाको पसल उपलब्ध गराउने तयारी पूरा भइनसकेको अनौपचारिक जानकारी छ ।
ताक्लाकोट बजार छेउमै भारतीय व्यापारीका लागि छुट्टै दुइ तले व्यापारिक भवन चीनले बनाइसकेको छ । तर भारतबाट धेरै व्यापारी ताक्लाकोट पुग्ने तयारी भएपछि थप भवन वा पसल व्यवस्थापन गर्नुपर्ने अवस्था आएको स्रोतले बतायो ।
विगतदेखि ताक्लाकोटमा व्यापार गर्दैआएका १२–१३ जना व्यापारीलाई भवन उपलब्ध गराउने चीनको तयारी थियो । तर व्यापारीको संख्या बढ्ने भएपछि भारतीय व्यापारीको ताक्लाकोट प्रवेशमा ढिलाइ भएको स्रोत भनाई छ । स्रोतका अनुसार जुलाइ १५ सम्म भारतीय व्यापारीका लागि लिपुलेक नाका खुल्नेसक्ने सम्भावना छ ।
पछिल्लो समय अरुणाञ्चल क्षेत्रमा भारत र चीनबीच भएको तनावका कारण पनि व्यापारका लागि लिपुलेक नाका खुल्नमा ढिलाइ भएको आशंका पनि गरिएको छ । दुइ देशको सम्बन्धमा एउटा भूगोल र एउटा विषय तनाव आउदा फरक र भूगोल र क्षेत्र समेत प्रभावित हुने अवस्था पनि छ । विगतमा कोभीड महामारीले बन्द भएको दुइ देशबीचको व्यापार र कैलाश यात्रा गलवान घटनाले वर्षौसम्म रोकिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here