किन चाहिन्छ बहुयात्रा अनुमतिपत्र ?

0
11

दार्चुला, साउन ७ गते ।
भारतीय बाटो हुँदै व्यासक्षेत्र जाने सबै नेपाली नागरिकले बहुयात्रा अनुमतिपत्र बनाउनुपर्ने बाध्यता छ । धारचुला तहसिलअन्तर्गत छियालेकभन्दा माथिको क्षेत्र प्रतिबन्धित क्षेत्र (नोटिफाइड एरिया) बनाइएकाले भारतीय प्रशासनको लिखित अनुमतिपत्र लिनुपर्ने अवस्था छ ।
जिल्ला समन्वय समितिको कार्यालयमा भरिएको अनुसूची फारमलाई अध्यागमन तथा सीमा प्रशासन कार्यालयले प्रमाणिकरण गरेपछि स्वीकृतिका लागि धारचुलास्थित तहसिल कार्यालय पुग्नुपर्छ ।
धारचुलाका एसडिएमले अनुसूची फारममै स्वीकृतिको छाप लगाएर हस्ताक्षर गर्छन् । एसडिएम कार्यालयको छाप र हस्ताक्षरसंगै अनुमतिपत्रको अवधि र स्वीकृति मिति पनि उल्लेख हुन्छ ।
हरेक वर्ष वैशाखदेखि असोज–कार्तिकसम्मको अवधिमा बहुयात्रा अनुमतिपत्र बनाएर व्यासक्षेत्र जाने गरिन्छ । चलनचल्तीको भाषामा बहुयात्रा अनुमतिपत्रलाई ‘पास’ भनिन्छ । व्यास गाउँपालिका वडा नम्बर १ छाङरु र तिंकरका वासिन्दाले पशुचौपायाहरुको समेत पास बनाएर भारतीय बाटो प्रयोग गर्नुपर्ने अवस्था छ ।
छियालेकदेखि गब्र्याङ हुँदै सीतापुलसम्मको करिब ५ किलोमिटर लामो क्षेत्रको बाटो प्रयोग गर्न अनुमतिपत्र लिनुपर्ने हुन्छ । सीतापुलमा महाकाली नदीमाथि राखिएको काठेपुल तरेर नेपालको भूमि छाङरु पुगिन्छ ।
नेपालतर्फ पैदलबाटो भए पनि छिटो र सजिलोका लागि व्यासक्षेत्र जाने सबैजसोले भारतीय बाटो प्रयोग गर्छन् । धारचुलादेखि सितापुलसम्म गाडीको सुविधा भएको र ४–५ घण्टामै यात्रा गर्न सकिने भएकाले भारतीय बाटो प्रयोग भइरहेको व्यास गाउँपालिका–१ का वडाअध्यक्ष अशोक सिंह बोहरा बताउनुहुन्छ ।
नेपालतर्फ गत वैशाख २६ मा दुम्लिङसम्मको सडकमा गाडी पुर्याइएको छ । नेपालबाट यात्रा गर्दा दुम्लिङदेखि छाङरुसम्मको ३० किलोमिटर पैदलबाटो हिड्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।
नोटिफाइड एरिया सुरु हुने छियालेकभन्दा माथिको क्षेत्रमा भ्रमण गर्ने भारतीय नागरिकलाई पनि स्थानीय प्रशासनको लिखित अनुमति आवश्यक पर्छ । धारचुलाको तहसिल कार्यालयबाट एसडिएमलाई भारतीय नागरिकका लागि अनुमतिपत्र जारी गर्छन् । यसलाई ‘इनर लाइन परमिट’ भनिन्छ । छियालेकमा रहेको आइटिबीपिको चेकपोष्टले लिखित अनुमतिपत्र भएका व्यक्तिलाई मात्रै छियालेकभन्दा माथि जान दिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here