हुस्कर मावि काँटैको ४ कोठे विद्यालय भवन भुकम्पले चर्कियो,पठनपाठन गर्न जोखिम

0
635

दार्चुला
महाकाली नगरपालिका वडानम्बर ३ काँटैमा रहेको हुस्कर मावि काँटैको ४ कोठे विद्यालय भवन भुकम्पको झट्काले चर्किएको छ । मंगलबार दिउँसो २ बजेर ४० मिनेट र ३ बजेर ७ मिनेटको समयमा महसुश गरिएको भूकम्पको धक्काले हुस्कर मावि काँटैको चार कोठे भवन चर्किएको शिक्षक धनसिह महरले जानकारी दिनुभयो ।
भुकम्पको झट्काले भवनका पर्खाल र बिमसमेत चर्किएको हुँदा जोखिम बढेको शिक्षक महरले बताउनुभयो । अर्को सानो झट्का आयो भने मानवीय क्षति हुने सम्भावना रहेकाले विद्यार्थीहरुलाई राखेर पठनपाठन गर्दा जोखिम हुने समस्या भएको शिक्षक महरले जानकारी दिनुभयो । कोलम बिम पनि पुरै चर्किएकोले पुर्ण जोखिम भएको हुँदा भोलीदेखि विद्यार्थीहरुलाई उक्त कक्षाकोठामा राखेर पठनपाठन नगरिने उनले बताउनुभयो ।
विद्यालयको नयाँ १२ कोठे २ तले भवन गत आर्थिक वर्षमै निमार्ण सम्पन्न भइ सक्दा पनि हस्तान्तरण हुन नसक्दा नयाँ भवनमा कक्षा सञ्चालन भएको छैन । १२ कोठे विद्यालय भवन अढाइ करोड लागतमा गत आर्थिक वर्षमा निर्माण सम्पन्न भईसक्दा पनि हस्तान्तरण हुन नसकेको छैन् । नयाँ विद्यालय भवनको छतमा ताल बाँधिने, चुहिने र शौचालय मर्मत कार्य बाँकी नै रहेकोले विद्यालय भवन हस्तान्तरण हुन नसकेको विद्यालयका प्राधानाध्यापक महेश भट्टले बताउनुभयो ।
साथै विद्यालयको पछाडि पहिरो रहेकोले उक्त क्षेत्रमा तारजाली वा केहि छेकबारको कार्य पनि हुन नसकेकोले हस्तान्तरण नभएको उनले बताउनुभयो । उक्त क्षेत्रमा निकै जोखिम रहेको उनको भनाई छ । हस्तान्तरण नभएको उक्त विद्यालय भवन नमस्कार कन्ट्रक्सन निर्माण सेवा प्रालिले निर्माण गरेको थियो ।