बजेट अभावले महाकाली कोरिडोर निर्माण प्रभावित

0
43

दार्चुला, वैशाख २८ गते ।
सरकारले पर्याप्त बजेट नदिदा महाकाली कोरिडोर सडक निर्माण प्रभावित भएको छ । सडक निर्माण कम्पनीहरुलाई १६ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको महाकाली कोरिडोर सडक योजनाले जनाएको छ ।
चालू वर्षका लागि विनियोजन गरिएको २९ करोड बजेट माघमै सकिएको छ । फागुनदेखि थप बजेटको माग गरिए पनि पर्याप्त बजेट निकासा भएको छैन । लामो प्रयासपछि वैशाख पहिलो साता ५ करोड रुपैयाँ थपिएकोमा भोलिपल्टै निर्माण कम्पनीलाई भुक्तानी गरिएको योजना कार्यालयले जनाएको छ ।
‘अहिलेसम्म निर्माण कार्य भइसकेको तर भुक्तानी गर्न बाँकी रकम १६ करोड छ, थप बजेट प्राप्त भएपछि मात्रै भुक्तानी हुनेछ’ योजना प्रमुख लक्ष्मणदत्त जोशीले भन्नुभयो । जेठ र असार महिनामा गरिने निर्माण कार्यको समेत भुक्तानी गर्न २५ करोड रुपैयाँ थप चाहिने उहाँले बताउनुभयो ।
अर्थ मन्त्रालयले दुई वर्षअघि बजेट सुनिश्चिता गरे पनि महाकाली कोरिडोर सडक योजनामा पर्याप्त बजेट दिइरहेको छैन । गतवर्ष सुरुमा ४१ करोड रुपैयाँ विनियोजन भएकोमा आर्थिक वर्षको अन्तसम्मा १३ करोड रुपैयाँ थपिएको थियो । गत आर्थिक वर्षमा कोरिडोर योजनाले ५४ करोड ३५ लाख रुपैयाँ बजेट खर्च गरेको अभिलेख छ ।
हाल आधा दर्जन ठेक्काहरु सञ्चालनमा रहे पनि बजेट अभावले निर्माण कार्य सुस्ताएको सडक योजना कार्यालयले जनाएको छ । ‘निर्माण कार्य ठप्प नै भएको छैन तर ठेकेदारहरुले काममा सुस्तता ल्याएका छन्, हालसम्म गरिएको कामको भुक्तानी नै हुन नसकेपछि थप काम गराउन चुनौती रहेको छ’ योजनामा सुचना अधिकारी एवं इन्जिनियर दीपक विष्टले भन्नुभयो ।
महाकाली कोरिडोरअन्तर्गत हाल दार्चुलामा तीनवटा सडक कालोपत्रेका ठेक्काहरु सञ्चालनमा छन् । सुन्सेरा र धन्थला–धरमघर क्षेत्रमा सडक फराकिलो बनाउने, नाली निर्माणको ठेक्का चलिरहेको छ । दार्चुला, बैतडी र डडेल्धुरा जिल्लाको भूगोलमा ट्रयाक निर्माणको ठेक्का चालू छ । दार्चुलाको सुगरखालीदेखि कुशकाणा गाउँसम्मको २ किलोमिटर सडकको ट्रयाक निर्माण भएको छ । लालीको मकन्नाक्षेत्रमा पनि सडक निर्माणको काम भइरहेको छ ।
डडेल्धुरामा जोगबुढाक्षेत्रमा ५ किलोमिटर लामो सडक कालोपत्रेको ठेक्का भएकोमा हालसम्म डेढ किलोमिटर सडक कालोपत्रे गरिएको इन्जिनियर विष्टले बताउनुभयो । दार्चुलाको बेतदेखि उकुसम्मको खण्डमा सडक कालोपत्रे गर्ने ठेक्काअन्तर्गत २८ प्रतिशत भौतिक प्रगति भएको छ ।
खलंगादेखि धारीसम्मको कालोपत्रे गर्ने ठेक्काअन्तर्गत ४५ प्रतिशत प्रगति भएको छ भने धारीको चल्लेगडादेखि सुन्सेराको कोटकट्यासम्मको अर्को ठेक्कामा १३ प्रतिशत भौतिक प्रगति भएको छ । सडक कालोपत्रे निर्माणको ठेक्काअन्तर्गत सडक चौडा बनाउने, टेवापर्खाल निर्माण र नाली निर्माणको कार्य भइरहेको योजनाले जनाएको छ ।
धन्थलादेखि धरमघरक्षेत्रको ५ किलोमिटर लामो सडक स्तरोन्ततीका लागि ठेक्का भए पनि अपेक्षित प्रगति भएको छैन । बजेट अभावले निर्माण कम्पनीहरु पर्ख र हेरको स्थितिमा रहेका छन् । बजेट थपिने अवस्थामा मात्रै निर्माण कार्यलाई गतिदिने मनस्थितिमा ठेकेदारहरु हेका छन् । ‘अहिलेसम्म गरिएको कामको भुक्तानीमा ढिलाइ भएकाले पनि ठेकेदारहरु काम गर्न हिच्किचाइरहेका छन्’ योजनाका एक कर्मचारीले भन्नुभयो ।
सुन्सेराको कोरकट्यादेखि गल्थासम्मको क्षेत्रमा सडक फराकिलो बनाउने ३ ठेक्कामध्ये दुइटाको निर्माण कार्य सम्पन्न भएको छ । तेस्रो ठेक्कामा ४० प्रतिशत भौतिक प्रगति रहेको इन्जिनियर विष्टले बताउनुभयो ।
अर्थ मन्त्रालयले दुई वर्षअघि महाकाली कोरिडोरको सम्पूर्ण ट्रयाक खोल्न र ३७ किलोमिटर सडक कालोपत्रेका लागि बजेट सुनिश्चिता गरेको थियो । झण्डै ३ अर्ब बजेटको स्रोत सुनिश्चिता गरिए पनि आवश्यकता अनुसार बजेट अर्थले दिएको छैन । बजेट अभावले सडक निर्माण कार्य प्रभावित भइरहेको छ ।
फागुनदेखि सडक निर्माणका सबैजसो ठेक्काहरुमा निर्माण सुस्त रहेको स्रोतले बतायो । ‘ठेकेदारहरुले मेसिनहरु साइटबाट फिर्ता लगेको छैनन् तर निर्माण कार्य पनि भइरहेको छैन’ योजना कार्यालयका एक कर्मचारीले भन्नुभयो– ‘निर्माण कार्यक्षेत्र छोडिहालेका पनि छैनन् तर सडक निर्माण कार्य चालू पनि छैन ।’
सडक विभाग र भौतिक योजना तथा यातायात मन्त्रालय हुँदै थप बजेट मागको फाइल अर्थ मन्त्रालयमा पुगेको योजना प्रमुख लक्ष्मणदत्त जोशीले बताउनुभयो । ‘यसअघि नै बजेट सुनिश्चिता भइसकेकोले थप बजेट दिन ढिलाइ नहुनुपर्ने हो, केही हप्ताभित्रै बजेट थपिनेमा आशावादी छौ’ उहाँले भन्नुभयो ।
बजेटको अभावले सदरमुकाम खलंगा क्षेत्रमा भइरहेको करिब ६ सय मिटर लामो आरसिसि कंक्रिट गर्ने कार्य पनि दुई महिनादेखि बन्द छ । ठेकेदारलाई पर्याप्त भुक्तानी गर्न नसक्दा निर्माण प्रभावित भएको र योजना कार्यालयले थप दबाव दिन नसकेको योजनाका इन्जिनियर दिपक विष्टको भनाई छ । बजेट थपिएपछि असारभित्रै खलंगा क्षेत्रको सडक निर्माण पूरा हुने उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here