पाँच हजार यार्सा संकलनबाट शुल्क उठाइने

0
33

दार्चुला, वैशाख २८ गते ।
अपी नाम्पा संरक्षण क्षेत्र कार्यालयले यो वर्ष ५ हजार यार्सागुम्बा संकलकहरुबाट शुल्क उठाउने भएको छ । यार्सागुम्बा संकलन अनुमतिपत्रवाफत यार्सा संकलकहरुबाट शुल्क उठाइने भएको हो ।
यार्सागुम्बा व्यवस्थापन निर्देशिका–२०७३ को व्यवस्थाअनुसार सबै यार्सागुम्बा संकलकहरुले अनिवार्य रुपमा अनुमतिपत्र लिनुपर्ने सुचना कार्यालयले जारी गरेको छ । कोभिड महामारीका कारण २०७६ र २०७७ सालमा यार्सागुम्बा संकलन अनुमतिपत्र जारी हुन नसकेको संरक्षण क्षेत्र कार्यालयले जनाएको छ ।
गतवर्ष र अघिल्लो वर्ष पनि यार्सागुम्बा संकलकहरुलाई कडाइका साथ अनुमतिपत्र लिनुपर्ने व्यवस्था कार्यान्वयन हुन सकेको छैन । यो वर्ष भने जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायहरुसंगको समन्वयमा सबै यार्सा संकलकहरुलाई अनिवार्य अनुमतिपत्र वितरण गर्ने गृहकार्य थालिएको छ ।
अपी नाम्पा संरक्षण क्षेत्र कार्यालयले वैशाख १६ गते सुचना जारी गर्दै संकलन अनुमतिपत्र लिएर मात्रै यार्सागुम्बा संकलन गर्न जानकारी गराएको छ । वैशाख १७ गते प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीको अध्यक्षतामा समन्वय बैठक राखेर यसबारे आवश्यक निर्णय समेत गरिएको कार्यालयका सुचना अधिकारी इन्द्र सिंह नगारीले बताउनुभयो ।
यो वर्ष ४ देखि ५ हजारसम्म यार्सागुम्बा संकलकहरुलाई अनुमतिपत्र वितरणको तयारी भइरहेको छ । ‘यार्सागुम्बा संकलन गरिने सबै क्षेत्रमा झण्डै ५ हजार संकलकहरु पुग्ने अनुमान गरेका छौं’ सुचना अधिकारी एवं रेन्जर नगारीले भन्नुभयो ।
यार्सा संकलन गरिने सबै वनक्षेत्रमा कर्मचारी स्टाफ र आवश्यकता अनुसार सुरक्षाकर्मी समेत परिचालन गर्ने तयारी गरिएको छ । कार्यालय उपलब्ध सबैजसो जनशक्तिलाई यार्सा संकलन स्थलमा परिचालन गरेर अनुगमन गर्ने तयारी गरिएको उहाँले बताउनुभयो ।
अपी नाम्पा संरक्षण कार्यालयको अभिलेखअनुसार गत वर्ष यार्सागुम्बा संकलकहरुबाट १० लाख १७ हजार ४ सय रुपैयाँ राजश्व संकलन भएको छ । अघिल्लो वर्ष २०७९ मा ८ लाख ५७ हजार ५ सय रुपैयाँ र २०७८ सालमा ९ लाख ४ हजार रुपैयाँ यार्सागुम्बा संकलन अनुमतिपत्र दस्तुरवाफत संकलन गरिएको छ ।
यार्सागुम्बा व्यवस्थापन निर्देशिकाअनुसार संरक्षण क्षेत्रभित्रका स्थानीयबाट प्रतिव्यक्ति ५ सय रुपैयाँ, संरक्षण क्षेत्रभित्र नपर्ने दार्चुला जिल्लाका नागरिकबाट प्रतिव्यक्ति २ हजार रुपैयाँ र दार्चुला जिल्लाबाहिरका नागरिकबाट प्रतिव्यक्ति ३ हजार रुपैयाँ संकलन अनुमतिपत्रवाफत राजश्व संकलन गरिन्छ ।
अनुमतिपत्र विना यार्सागुम्बा संकलन गरिएमा संकलन गरिएको यार्सागुम्बा बरामद गरिने र संकलकलाई कानुनबमोजिम कारवाही गरिने कार्यालयले जनाएको छ । यार्सागुम्बा संकलन प्रभावकारी बनाउन स्थानीय तहहरुमा समेत सुचना र पत्राचार गरिएको सुचना अधिकारी इन्द्र सिंह नगारीले जानकारी दिनुभयो ।
आगामी जेठ दोस्रो सातादेखि एक महिनासम्म यार्सागुम्बा संकलनको अनुमतिपत्र जारी गरिने तयारी छ । यार्सा संकलनका लागि स्थानीयवासी भने मध्ये वैशाखदेखि नै उच्च हिमालय क्षेत्रमा प्रस्थान गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here