दार्चुला कारागारमा कोराना जोखिमः दुई जनाको परिक्षण गर्दा दुबैमा कोरोना देखियो

0
1084

बिरा दत्त भट्ट, दार्चुला ।
असोज २९ गते । दार्चुला कारागारमा कोरोना परिक्षण गरिएका दुई जनामा कोरोना पुष्टि भएको छ । दार्चुला कारागारबाट कोरोना परिक्षणका लागि दुई जनाको स्वाव संकलन गरिएकोमा दुबै जनामा कोरोना पुष्टि भएको कारागार कार्यालय दार्चुलाका प्रमुख मान बहादुर खडायतले जानकारी दिनुभयो ।
कोरोना प्रभावलाई मध्यनजर गर्दै कारागारमा चैत्र ११ गते यता कैदिबन्दी तथा थुनुवा भेटघाटमा समेत प्रतिबन्ध लगाइएको थियो । प्रतिबन्ध लगाइएको भएपनि कारागार भित्र कोरोनाले प्रबेश गरेको छ ।
“दुई जना कैदिहरुलाई थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएकाले उनिहरुलाई पठाउन पिसिआर परिक्षण गरिएको थियो तर दुबैमा कोरोना पुष्टि भएको छ” कार्यालय प्रमुख खडायतले भन्नुभयो ।
दुई जना मध्ये एक जना मानसिक र एक जना हर्निया सम्बन्धी रोगी रहेकाले थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको उहाँको भनाई छ । कोरोना पुष्टि भएका दबैजनालाई कारागारको एक छेउको कोठामा अलग्गै राखिएको जेलर खडायतले जानकारी दिनुभयो । दुई जनाको कोरोना परिक्षण गरिएकोमा दुबै जनामा कोरोना पुष्टि भएपछि कारागार भित्रका अन्य कैदिबन्दी पनि जोखिममा परेका छन् ।

क्षमता भन्दा बढी कैदिबन्दी

दार्चुला कारागारको क्षमता २५ जना पुरुष र १५ जना महिला गरि ४० जना कैदिबन्दी राख्ने क्षमता हो । तर क्षमता भन्दा झण्डै २२ जना बढी कैदिबन्दी राखीएका छन् । हाल दार्चुला कारागारमा १२ थुनुवा र ५० जना कैदी गरि ६२ जना कैदीबन्दी रहेका छन् जसमा ३ जना महिला समेत रहेको कारागार कार्यालय दार्चुलाका प्रमुख मान बहादुर खडायतले जानकारी दिनुभयो ।
कोरोना प्रभावले भारत लगायत विभिन्न ठाउँमा गएका मानिसहरु समेत घर फर्किएका छन् । फर्किएका मध्ये फरार अभियुक्तको सूचिमा रहेकाहलाई प्रहरीले पक्राउ गरि अदालतलाई बुझाएको थियो भने अदालतले कारागार चलान गरेको थियो । उनिहरुबाट नै कारागार भित्र कोरोनाले प्रबेश पाएको हुन सक्ने आशंका गरिएको छ । क्षमता भन्दा बढी कैदीबन्दीको भिडभाड भएकाले कारागार भित्र कोरोनाको जोखिम झन बढेको छ ।

थप ३८ जनामा कोरोना पुष्टि

दार्चुला सदरमुकाम खलंगा क्षेत्रमा थप ३८ जनामा कोरोना पुष्टि भएको छ । विहिबार डडेलधुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा दार्चुला सदरमुकाम खलंगा क्षेत्रका ३८ जना कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्र कार्कीको भनाई छ ।
विहिबार कोरोना पुष्टि भएका मध्ये १४ जना सशस्त्र प्रहरी ४४ नम्बर गणका, २ जना कारागारका कैदीहरु, ३ जना रेडक्रस दार्चुलाका र बाकि मोहतीका रहेका छन् । जसमध्ये मोहतीका कोरोना पुष्टि हुनेका १२ जना महिला समेत रहेका छन् ।
दार्चुलामा हाल सम्म ३१ सय १२ जनाको कोरोना परिक्षण गरिएकोमा १ सय ९१ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये ९३ जना सक्रिय संक्रमित रहेका छन् ।