छाङरु र तिंकरमा प्रदेशले खाद्यान्न ढुवानी गर्ने

0
906
फाइल फोटोः सुदुरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहलाई ज्ञापन पत्र बुझाउदै वडाध्यक्ष असोक सिह बोहरा र स्थानिय जहेन्द्र ऐतवाल

दार्चुला, असोज २३ गते ।
सुदूरपश्चिम प्रदेश सरकारले दशैंअघि व्यास गाउँपालिकाको वडा नम्बर १ स्थित छाङरु र तिंकर गाउँमा खाद्यान्न ढुवानी गर्ने भएको छ । हेलिकोप्टरमार्फत खाद्य सामग्री ढुवानी गर्न प्रदेश सरकारले ४५ लाख रुपैयाँ बजेट निकासा गरेको छ ।
उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय दार्चुलालाई खाद्य सामग्री ढुवानीको बजेट उपलब्ध गराएको छ । प्रदेश सरकारले व्यासक्षेत्रमा हेलिकोप्टरमार्फत खाद्य सामग्री ढुवानीमा अनुदान उपलब्ध गराउने घरेलु कार्यालयका प्रमुख गंगा कुमारी मगरले बताउनुभयो ।
व्यासक्षेत्रका दुइ गाउँमा तत्काल हेलिकोप्टरमार्फत खाद्य सामग्री ढुवानी गर्न गृहकार्य सुरु गरिएको उहाँले बताउनुभयो । शुक्रवार यसबारे समन्वय बैठक समेत राखिएको छ । प्रदेशसभा सदस्य गेल्बु सिंह बोहरा, जिल्ला समन्वय समिति प्रमुख करवीरवहादुर कार्की, व्यास गाउँपालिका र १ नम्बर वडा कार्यालयका प्रतिनिधिसंग शुक्रवार बैठक गरी छलफल गरिएको छ ।
दशैंअघि नै व्यासका छाङरु र तिंकर गाउँमा कम्तिमा १ सय ५० क्वीन्टल खाद्य सामग्री हेलिकोप्टरमार्फत ढुवानी गर्ने निस्कर्ष बैठकले निकालेको छ । खाद्य सामग्री ढुवानीको व्यवस्थापन घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय दार्चुलाले गर्नेछ । व्यास गाउँपालिकाको १ नम्बर वडा कार्यालयले खाद्य सामग्री खरिद र वितरणमा सहजिकरण गर्ने वडासचिव विनोद सिंह बुढाथोकीले बताउनुभयो ।
दुबै गाउँका सबै घरधुरीहरुका लागि ढुवानी अनुदानमा खाद्य सामग्री हेलिकोप्टरमार्फत पुर्याइने प्रदेश सरकारको योजना छ । प्रदेश मन्त्रिपरिषद्को निर्णयपछि उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमार्फत जिल्लास्तरबाट बजेट दिइएको हो ।
स्थानीयवासीको आवश्यकताअनुसार चामल, दाल, चीनि, नुन, खानेतेल लगायतका खाद्य सामग्री हेलिकोप्टरमार्फत ढुवानी गर्ने योजना छ । असोज १९ गते व्यास गाउँपालिकाको घाटिबगरमा नेपाली सेनाले निर्माण गरेको बाटो उद्घाटन गर्न दार्चुला पुगेका मुख्यमन्त्री त्रिलोचन भट्टले व्यास क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकता दिएको बताएका थिए ।
नेपाली सेनाको वा नीजिक्षेत्रको हेलिकोप्टरमार्फत व्यासक्षेत्रमा खाद्य सामग्री ढुवानी गरिने घरेलु कार्यालयका प्रमुख गंगा कुमारी मगरले बताउनुभयो । व्यास गाउँपालिकाको १ नम्बर वडा कार्यालयले खलंगामा खाद्य सामग्री खरिद गरेपछि प्रदेश सरकारको ढुवानी अनुदान उपलब्ध गराइने उहाँले बताउनुभयो ।
व्यासको छाङरु र तिंकर गाउँमा गत असार महिनामा नेपाल सरकारको ढुवानी अनुदानमा २ सय क्वीन्टल चामल ढुवानी गरिएको थियो । व्यास क्षेत्र जोड्ने पैदल बाटो हालै मात्र सञ्चालनमा आएको छ । पैदल बाटो सञ्चालनमा आए पनि तत्काल खच्चर वा भरियामार्फत खाद्य सामग्री ढुवानी गर्न सम्भव नभएको छाङरुका स्थानीयवासिन्दा योगेश सिंह बोहराले बताउनुभयो । तम्बाकु र कल्चु क्षेत्रमा पैदल बाटो सुधार गरेपछि मात्रै व्यासबाट गाइवस्तुसहित स्थानीयको कुञ्चा खलंगा सर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।