महाकाली पारीका ‘अलपत्र’ नेपालीबारे फरक मत

651

शंकर सिंह धामी

कोरोना संक्रमणको जोखिमले देश लकडाउन र सीमाबन्द भएका बेला महाकाली पारी ‘अलपत्र’ रहेका सयौं नेपालीबारे धेरैले आफ्ना बुझाइ र विचार सार्वजनिक गरेका छन् । अधिकांशले नेपाल सरकारलाई घचघच्याएका छन्, सीमानामा नागरिक अलपत्र पर्दा उनीहरुको सहज नेपाल आगमन गराउन धेरैजसोले नेपाल सरकारलाई आग्रह मात्रै गरेका छैनन्, सरकारको भूमिकाप्रति आलोचना र आक्रोस समेत पोखेका छन् ।
मान्छेपिच्छे फरक बुझाइ र दृष्टिकोण हुनु स्वाभाविक छ । विचारमा विविधता मात्रै होइन व्यक्तिपिच्छे फरक स्वभाव, प्राथमिकता र क्षमता पनि हुन्छ । यसलाई हामी सबैले स्वाभाविक रुपमा ग्रहण गर्न सक्नुपर्छ । एउटै विषयवस्तुमा फरक बुझाइ र दृष्टिकोण हुनु नयाँ कुरा होइन । एउटै व्यक्तिको एउटै सन्दर्भ र विषयवस्तुप्रतिको बुझाइ र दृष्टिकोणमा त परिवर्तन आइरहन्छ भने लकडाउन र कोरोना संक्रमणको जोखिम र अलपत्र नेपालीबारे विविधतापूर्ण भनाई सार्वजनिक हुनुलाई सहज र स्वाभाविक रुपमा ग्रहण गर्नुपर्ने हुन्छ ।
चैत्र १० गतेदेखि लकडाउन भएको सिंगो नेपाल भौतिक रुपमा सुनसान भए पनि सामाजिक सञ्जाल र सञ्चारमाध्यममा कोलाहलपूर्ण छ । लकडाउनकै क्रममा सबै अन्र्तराष्ट्रय सीमानाका बन्द गरिएको जानकारी देशभित्र मात्रै होइन कम्तिमा पनि संसारभर छरिएका सबै नेपालीलाई थाहा छ । सीमानाका बन्दसहित देश लकडाउन गर्ने रहर होइन, समय र परिस्थितिको अनिवार्य आवश्यकता बनेको हो । सिंगो विश्व प्रभावित बनेको र मानव जीवन नै खतरामा परेकोले कोरोनाको संक्रमण रोक्न देश लकडाउनको विकल्प सायदै थियो ।
मेरो बुझाइमा लकडाउन भनेको असामान्य अवस्था हो । यस्तो असामान्य अवस्था कि जो जहाँ छ, त्यही सुरक्षित बस्ने, एक ठाँउबाट अर्को ठाँउमा आवतजावत नगर्ने, गर्दैआएको दैनिक कार्य पनि सुरक्षित र संवेदनशील भएर गर्ने, अर्को व्यक्तिसंगको भेटघाट र सम्पर्कमा समेत निकै सावधानी अपनाउनुपर्ने परिस्थिति हो । नेपालसंगै भारतमा पनि लकडाउन गरिदा दुबै देशमा नागरिकको आवागमन ठप्प हुनुपथ्र्यो । अधिकांश क्षेत्रमा लकडाउनको पालना भए पनि केही हजार नेपाली नागरिक घर फर्किने नाममा सीमाक्षेत्रमा पुगे । विडम्बना के भने चैत्र ७ गते नै नेपाल लकडाउनको घोषणा गरिएको थियो । लकडाउनको घोषणा गरिसकेको अवस्थामा नेपाल (घर) फर्किन्छु भन्ने सोच र प्रयास नै गलत हो ।
काम विशेषले भारतमा बसोवास गर्दैआएका नेपालीले यस्तो परिस्थितिमा नेपाल फर्किन किन हतार गर्नुपरेको ? केही दिन आफु बसेकै स्थान र अवस्थामा रहेर कोरोना संक्रमणको जोखिम न्युनिकरणमा योगदान गर्नु सबैको दायित्व हुन्थ्यो । तर आफुले काम गर्दै आएको स्थानमा दैनिक कामकाज बन्द हुनेवित्तिकै लौ म त घर (नेपाल) फर्किन्छु भन्ने मानसिकता र हर्कतले सिंगो देश र मानव जीवनलाई जोखिममा पार्ने निश्चित थियो । कुनै नागरिकले लकडाउनका बेला घर फर्किन चाहे वा खोजे पनि तिनलाई गाडीमा होस् कि पैदल नै किन नहोस् निर्वाध हिडडुलको छुट दिने भारतीय प्रशासनको लापरवाही हानिकारक छ ।
लकडाउनका बेला सीमानामा पुगेका नागरिकलाई नेपाल फिर्ता लैजाउ भन्ने सन्देश भारतीय पक्षले दिनु अर्को गल्ती हो । किनभने नेपाल र भारतमा संगसंगै लकडाउन भइहेका बेला भारतीय नागरिकलाई घरभित्र सुरक्षित बस भन्ने र नेपालीलाई सीमानासम्म पुग्ने छुट दिने गलत अभ्यास भारतीय पक्षबाट भएको छ । सीमानामा पुगेका नागरिकलाई हामी त सीमा खोलिदिन्छौ, तिमीहरुकै सरकारले स्वदेश छिर्न दिएको छैन भन्ने प्रचारबाजी पनि गरेको देखियो ।
एउटा नागरिकले जुनसुकै अवस्थामा पनि जिम्मेवार बन्नुपर्दछ । पेशाले मजदूर होस् कि जेसुकै होस् आफ्नो दायित्व र अधिकार दुबैप्रति उ सचेत हुनुपर्छ । देश लकडाउनको अवस्थामा नेपाल फर्किन्छु भन्ने हर्कतले गैरजिम्मेवारीबाहेक केही देखिएन । कोरोना संक्रमणको जोखिम भइरहेको अवस्थामा घर फर्किन्छु भन्नु र त्यस्तो प्रयास हुनुभनेको आफ्नो घरपरिवार, समाज, देश र सिंगो मानव सभ्यतालाई कोरोनाको जोखिममा राख्नु हो । यो वास्तविकतालाई धेरैले नबुझेको देखिन्छ । त्यही भएर सीमानामा अलपत्र नेपालीलाई उद्धार गर्नुपर्ने, देशभित्र आउन दिनुपर्ने, सरकार जिम्मेवार हुनुपर्ने उपदेशहरु जताततै देखिन्छन् ।
भारतमा ४०÷५० लाख नेपाली बस्दैआएका छन् । सबैले वा केहीले यही समयमा नेपाल आउन चाहदैमा लकडाउनमा बन्द गरिएको सीमानाका खोलेर स्वागत गर्नुपर्छ भनेको कोरोना संक्रमणको जोखिमलाई निम्त्याउनु हो । एक दुई लाख मात्रै होइन, दुईचार जनाबाट फैलिने संक्रमण नै नेपाली जनजीवन सिध्याउने कारण बन्न सक्ने वास्तविकतालाई देख्न सक्नुपर्छ । आफ्नो मातृभूमि फर्किन पाउने हक सबैलाई छ तर असामान्य अवस्थामा यस्तो हकअधिकारको प्रयोग केही समयका लागि रोकिनु स्वाभाविक हुन्छ ।
अहिलेको समय र परिस्थितिलाई सही ढंगले बुझ्न नसक्दा अन्यौलता र भ्रम देखिन्छ । अहिलेको अवस्था भनेको घरको कुनै सदस्य कोरोना संक्रमणले मर्दा त्यसको दाहसंस्कार समेत घरपरिवार र आफन्तजनले गर्न नसक्ने वा नपाउने अवस्था हो । नेपाल जस्तो शासकीय र व्यवस्थापकीय क्षमता कमजोर भएको देशको सरकारबाट धेरै अपेक्षा गर्नु भनेको भ्रम र आदर्श मात्रै हुन्छ । आज अमेरिका, युरोपेली देशहरु कोरोना संक्रमणबाट संकटमा छन् । शक्तिशाली र सम्पन्न देशहरुकै व्यवस्थापन र कोरोना विरुद्धको लडाइ हेर्दा लाग्छ नेपाल सरकारबाट ठूलो अपेक्षा गर्नु भनेको भ्रम नै हो । त्यसमाथि कोरोना संक्रमणकै मौका छोपेर औषधि र सामग्री खरिदमा कमिशनको खेल खेल्ने भ्रष्टहरुको हर्कतले आशावादी बन्ने अवस्था छदैछैन ।
देशको उपप्रधानमन्त्री, विभागिय मन्त्री र उच्च तहका प्रशासनिक पात्रहरु औषधि र सामग्री खरिदको कमिशनमा आरोपित भइरहदा नेपाल सरकारले धेरै राम्रो गर्छ र गर्नुपर्छ भन्ने आदर्शको उपदेश दिनुको औचित्य छैन । अहिलेको सबैभन्दा उत्तम विकल्प भनेको लकडाउनलाई लम्ब्याएर विदेशबाट आउने कोरानाको संक्रमणलाई छेक्नु नै हो । क्वारेन्टाइन स्थापना गरेर, विदेशबाट आउनेलाई क्वारेन्टाइनमा राखेर कोरोनाको संक्रमण नहुने भ्रम कसैले नपाल्दा हुन्छ । सुदूरपश्चिम प्रदेशमा धनगढीमा कोरोना संक्रमणको परीक्षण सुविधा छ । तर दार्चुला जस्तो क्षेत्रमा क्यारेन्टाइनमा राखिएका व्यक्तिहरुको सहज, नियमित, प्रभावकारी र विश्वसनिय परीक्षण हुन सम्भव छैन । तसर्थ क्वारेन्टाइनको नाटक मञ्चन धेरै नगर्दा ठिक हुन्छ ।
क्वारेन्टाइनमा बस्ने हाम्रै दाजुभाइ हुन् । उनीहरुको इमान्दारिता र अनुशासन बुझ्न धेरै गाह्रो छैन । उनीहरुको स्थान र अवस्थामा आफुलाई एकपटक राखेर तुलना गरौं, के लगातार १४ दिनसम्म इमान्दारिता र अनुशासनमा बसेर क्वारेन्टाइनमा बस्न सकिन्छ ? घरभित्र वा गाउँमै बनाइएको क्वारेन्टाइनमा बस्दा घरपरिवार र समाजका अन्य सदस्यहरुको सम्पर्क र आवागमनलाई रोक्न सकिन्छ ? विदेशबाट आएका आफ्ना अभिभावकलाई साना वालवालिकालाई टाढैबाट हेरेर चित्त बुझाउछन् कि हामफालेर तिनको काखमा बस्न खोज्छन् ? वर्षौसम्म घरपरिवारबाट टाढा रहेको व्यक्तिले घरपरिवार र समाजका आफन्तजनसंग भेटघाट गर्दैन ? मानवीय स्वभाव मात्रै होइन, हाम्रो पारिवारिक र सामाजिक जीवनको प्रवृति कस्तो भन्ने हेक्का राखौं ।
दार्चुलाको नाकाबाट पहिलो पटक भित्रिएका ७८ जना र दोस्रो पटक भित्रिएका २ सय २५ जनाकै अवस्था लेखाजोखा गरौं । उनीहरु अहिले कहाँ छन् ? कतिजना क्वारेन्टाइनमा छन् ? यसबारे कुन निकायले निगरानी गरिरेको छ ? फेरि सयौं होइन करिब हजारौंको संख्यामा सीमानामा रहेका नागरिकलाई नेपाल आउन दिनुपर्छ भन्नेहरुले कस्तो दृश्य देख्न चाहेका छन् ? अब आउने सबै इमान्दार छन् र निर्धा्रित क्वारेन्टाइनमा बस्छन् भन्ने ग्यारेन्टी कस्ले गर्छ ? पेशा जेसुकै होस्, लकडाउनका बेला नेपाल भित्रिन खोज्नु आफु र आफ्नो घरपरिवारलाई जोखिममा राख्नु हो । त्यतिमात्रै होइन, सिंगो समाज र जनमानसको जीवनलाई जोखिमपूर्ण बनाउनु हो । यो सच्चाई र वास्तविकतालाई नबुझेरै अभियन्ताहरुले सीमानामा अलपत्र नेपालीको वकालत गरिरहेका छन् ।
भारतमा बस्ने वा सीमानामा पुगेका नेपाली नागरिक हाम्रै दाजुभाइ हुन् । तिनीहरुसंग मेरो कुनै दुश्मनी र पूर्वाग्रह छैन । अलपत्र परेकामध्ये कतिपय मेरा आफ्नै इष्टमित्र, शुभचिन्तक पनि होलान् । तर यो अवस्था र प्रवृति जोखिमपूर्ण छ । यस्तो जोखिमपूर्ण अवस्था र परिस्थिति हाम्रो नियन्त्रणबाहिर जाने खतरा रहन्छ । यस्ता तर्क पनि आए कि वैधानिक सीमानाका बन्द गरेर के भयो ? महाकालीमा तुइन, ट्युव र पौडी खेलेर धेरै मान्छे नेपाल आइरेका छन् । यो अवैध आवागमन राज्यले रोक्नुपर्ने हो । तुइन, ट्युव र पौडीको अवैध तरिकाले नेपाल भित्रिनेहरुलाई कारवाही गर्नुपर्छ । किनकी एकजनामा पनि कोरोनाको संक्रमण रहेछ भने त्यस्को मूल्य सिंगो समाज र देशले चुकाउनुपर्ने अवस्था छ । पौडी खेलेर नेपाल आउनेहरुलाई घर पठाउने काम सरकारी निकायको होइन । कानुनविपरितको आवागमनलाई नियन्त्रण गर्नुपर्छ । यसका लागि प्रहरी र सशस्त्र प्रहरीको जनशक्ति कम हुन्छ भने नेपाली सेनासमेत परिचालन गर्नुपर्छ । एउटा कुरामा हामी सबै प्रष्ट हुनुपर्छ कि ट्युब, तुइन र पौडी खेलेर आइरहेका छन्, त्यो भन्दा त सीमानाका खोलेर नेपाल आउन दिनुपर्छ भन्ने तर्क र भ्रममा कम्तिमा सरकारी संयन्त्र पर्नु हुँदैन । अवैध रुपमा नेपाल प्रवेश गर्ने दुईचार जनालाई कारवाही हुनेवित्तिकै यो हर्कत र प्रवृति रोकिन्छ । राज्यको काम नै एउटालाई कारवाही गरेर हजारौंबाट कानुन पालना गर्न लगाउने हो ।
भारतमा रहेका नेपाली काम विशेषले वा भ्रमण वा अध्ययन गर्न बसेका हुन् । उनीहरु त्यहाँ बस्दा न्युनतम रुपमा खाने, बस्ने व्यवस्था गरेकै हुन्छन् । लकडाउनका बेला जोखिमपूर्ण अवस्थामा नेपाल फर्किनुभन्दा जुन ठाँउमा बसेको छ त्यही स्थानमा सुरक्षित बस्नुको विकल्प छैन । सीमानामा पुगेका नेपालीलाई किस्ता किस्तामा नेपाल भित्र्याउने हो भने नेपाल आउनेको संख्या हजारौं होइन, लाखौं पुग्छ । हाम्रो सरकारसंग यति ठूलो संख्यालाई व्यवस्थापन गर्न सक्ने क्षमता छ र ? देशभित्रकै नागरिकलाई सुरक्षित र आश्वस्त पार्न नसक्ने नेपाल सरकारसंग विदेश रहेका लाखौं नेपालीलाई अहिलेको समयमा नेपाल आउन दिनुपर्छ भन्नु वुद्धिमतापूर्ण हुँदैन ।
सामान्य अवस्थामा फर्किएपछि विदेशमा रहेका दाजुभाइहरु निर्वाध रुपमा आफ्नो जन्मभूमि फर्किनुपर्छ । यसमा कसैले पनि रोकावट गर्ने छैन । तर असामान्य अवस्थालाई सही ढंगले बुझ्नुपर्छ । कुनै वा केही व्यक्तिले चाहदैमा असामान्य अवस्थामा घरपरिवारसंग भेटघाट गर्न सक्दैन, कोरोनाको जोखिमसहित आफ्नै मातृभूमि फर्किन पाउदैन । यो असामान्य अवस्थाको सामान्य जानकारी सबैले ग्रहण गरी आत्मसात गर्न सक्नुपर्छ ।
कोरोना संक्रमणको दोस्र्रो चरणमा हामी प्रवेश गरिसकेका छौ । अब देशभित्रै फैलिदै गरेको संक्रमणलाई पहिचान गरी नियन्त्रण गर्न हामीलाई चुनौती भएको अवस्थामा सीमानाकामा अडिएका वा भारतमा रहेका नेपालीलाई नेपाल आउन दिनुपर्छ भन्ने सोच राख्नु वर्तमानको वास्तविकतालाई आत्मसात गर्न नसक्नु हो । आदर्शको कुरा त जस्ले पनि गर्न सक्छन् तर धरातलको यथार्थमा टिकेर कदम चाल्नुपर्ने अवस्था आइसकेको छ ।
विदेशबाट वैध वा अवैध नाकाबाट घर फर्किसकेकाहरुलाई पहिचान गरी सेल्फ वा होम क्वारेन्टाइन वा स्थानीय तहले निर्धारण गरेको क्वारेन्टाइनमा तत्काल राख्नुपर्छ । क्वारेन्टाइनमा राखेर मात्रै हुँदैन, एउटै व्यक्तिलाई दुइ तिनपटक कोरोना संक्रमणको परीक्षण गर्नुपर्छ । मान्छे स्वस्थ्य देखिए पनि संक्रमण भएको हुनसक्ने सम्भावनालाई नकार्न सकिदैन । त्यसैले सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र कर्मचारी परिचालन गरी घरघरसम्म निगरानी बढाउनुको विकल्प छैन । विचार र दृष्टिकोण त जस्ले पनि राख्नसक्छ, जस्तोसुकै विचार र दृष्टिकोण पनि राख्न सकिन्छ । तर कोरोना संक्रमणको लडाइ जित्नका लागि राज्य संयन्त्र जिम्मेवार भएर परिचालन हुनुको विकल्प छैन ।

तपाईको प्रतिक्रिया दिनुहोस् !