दार्चुलामा संचालित आँखा शिविरमा झण्डै साढे तीन हजार जनाले सेवा लिए

0
299

दार्चुला,असोज ०६ गते ।
गत भाद्र २५ गते देखि असोज ४ गते सम्म दार्चुला जिल्लाको गोकुलेश्वर, पस्ति र खलंगामा गरि ३ स्थानमा संचालित आँखा शिविरमा ३ हजार ४ सय ३५ जनाले आँखा उपचार सेवा लिएका छन् । नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पताल र स्थानीय पालिकाहरुको आयोजना तथा तेज कोहली रुईत फाउण्डेशन र रोटरी क्लब अफ इल्भेरम नर्वेको सहयोगमा आँखा शिविर संञ्चालन गरिएको हो । आँखा शिविरमा ४ सय ४८ जनालाई निःशुल्क शल्यक्रिया सेवा प्रदान गरिएको भने ४ सय ४१ जना मोतिविन्दुका विमारीहरुको शल्यक्रिया गरि लेन्स प्रत्यारोपण द्वारा गुमाएको दृष्टि पुनः प्रदान गर्न अस्पताल सफल भएको गेटा आँखा अस्पतालका नेत्र विशेषज्ञ डा. स्मध अधिकारीले बताउनु भयो । उक्त शिविरहरुमा ७ जनामा आँखाको अन्य रोगको शल्यक्रिया गरिएको छ । यस्तै १ हजार ३ सय ४ जनालाई निःशुल्क चश्मा उपलब्ध गराईएको १ हजार ६ सय ८३ जना आँखाका रोगीहरुको निःशुल्क औषधि उपचार समेत गरिएको जनाएको छ । आँखा शिविर शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर मा वि गोकुलेश्वर, मालिकार्जुन गाउँपालिकाको शंकरपुर मा वि पस्ति र महाकाली नगरपालिकाको महेन्द्र नमुना मा वि खलंगामा संचालन गरिएको थियो ।
कोभिड संक्रमणको कारणले लामो समय सम्म उक्त क्षेत्रमा आँखा शिविर संचालन गर्न नसकिएकोले सेवा लिने मध्ये केही आर्थिक अभाव, तथा सेवा लिन अस्पताल आउन नसकेका मोतिविन्दुको कारणले दुबै आँखाको दृष्टि गुमाएर लामो समय देखि कष्टकर जीवन निर्वाह गरि रहेका आँखाका रोगीहरुले पुनः दृष्टि पाउँदा हर्षित देखिएका थिए । गेटा आँखा अस्पतालका नेत्र विशेषज्ञ डा. स्मध अधिकारीको नेतृत्वमा संचालित उक्त शिविरहरुमा, १५ जना प्राविधिकहरुको टोलीले सेवा प्रदान गरेको थिए । सुदूरपश्चिम प्रदेशको अन्धोपन न्यूनीकरण गर्न गेटा आँखा अस्पताल तथा यस प्रदेशका ९ वटै जिल्लामा संचालित २१ वटा शाखाहरुबाट उपलब्ध गराईने नियमित उपचार सेवाको अतिरिक्त प्रत्येक वर्ष विभिन्न सरकारी तथा गैर सरकारी सामाजिक संस्थाहरुबाट सहयोग जुटाइ प्रदेशका ९ वटै जिल्लाहरुका ग्रामीण क्षेत्र सम्म आँखा उपचार सेवाको पहूँच बढाउन वर्षमा ६० भन्दा बढि स्थानमा आँखा शिविर संचालन गरि निःशुल्क सेवा प्रदान गर्दै आई रहेको वाह्य कार्यक्रम व्यवस्थापक रमेश चन्द्र भट्टले जानकारी दिनु भयो