दार्चुला लगायत सुदूरपश्चिममा ‘बुढी पोल्ने’ पर्व मनाइँदै

0
363

दार्चुला,असोज ०१ गते ।
असोज संक्रान्तिका दिन मनाईने बुढी पोल्न पर्व आज दार्चुला लगायत सुदुरपश्चिमका पहाडी जिल्लाहरुमा मनाईदै छ । हरेक वर्ष असोज संक्रान्तिका दिनलाई बुढी पोल्ने पर्वका रुपमा धुमधामका साथ मनाउने गरिएको छ । प्रत्येक वर्ष असोज संक्रान्तिका दिन पुतनालाई भगवान श्रीकृष्णले मारेको उत्सवका रुपमा बुन्ढुनी पर्व सुदूरपश्चिममा मनाउने गरिएको जनविश्वास रही आएको छ । यो पर्वमा गाईबस्तु हेर्ने गोठालाहरुले भाद्र संक्रान्ति अर्थात ओल्के पर्वको दिन सल्ला, बाँस लिङगो आदि रुखहरु काटेर बनाएको बुढीलाई पोल्ने चलन छ । द्वापर युगमा राक्षसनी पुतनाले राजा कंशको आदेशले भगवान श्रीकृष्णलाई दूधको रुपमा विष पिलाएर मार्न खोजेको कुरा कृष्णले थाहा पाएर उल्टै पुतनाको वध गरेको खुसीयालीमा सुदूरपश्चिममा यो पर्व मनाउने गरिन्छ । पुतना दहनका लागि शनिबार साँझ सबै घरबाट काँस, अम्रिसो लगायत पाँच जातको घाँसले बेरेको राँको बनाएर बुढी पोल्ने ठाउँमा लैजाने गरिन्छ । दोबाटोमा जलाएको पुतना राक्षसनीको आकृतिबाट जलेको खरानीको तिलक गाईलाई लगाइ दिने चलन छ । बुढी पोल्दा लुतो फाल्ने भन्दै युवाहरु काँक्रो चपाउँदै थुक्ने पनि गर्दछन् र नाम पुकार्दै लुतो लैजा भन्दै नाचगान गर्ने गरिन्छ ।
साँझ आकाशमा तारा चम्केपछि मात्रै राक्षसनी पुतनाको पुत्ला दहन गरिन्छ । यसो गर्दा पशु चौपायमा कुनै रोग नलाग्ने विश्वास रहेको छ । पुत्ला दहन गर्दा ‘बुढीलाई पोल गाईबाच्छा पाल’ भन्ने गरिन्छ । यो पर्व सुदूरपश्चिम प्रदेशका दार्चुला,बैतडी,डडेल्धुरा,बझाङ, अछाम, बाजुरा मनाउने गरिएको छ ।