दार्चुला, बैशाख १६ गते ।
नेकपा एमाले व्यास गाउँपालिकाले सम्पूर्ण जनताको निःशुल्क दुर्घटना बिमा गर्ने देखि लोकल रक्सीलाई ब्रान्ड बनाउने प्रतिवद्धता गरेको छ । स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले जिल्लाको समग्र घोषणा पत्रका साथै स्थानीय तहगत रुपमा प्रतिवद्धता सार्वजनिक गरेको छ । दार्चुलाको विकट व्यास गाउँपालिकामा नेकपा एमाललेले आफूले निर्वाचन जितेमा विभिन्न काम गर्ने प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ ।
व्यास गाउँपालिकामा लोकल मदिरा प्रसस्त उत्पादन हुने गरेको छ । त्यसको व्यवस्थापन नहुदाँ गाउँघरमा विकृति बढ्नुका साथै त्यसबाट राज्यले पाउने कर समेत पाउन सकिरहेको छैन । व्यासको लोकल मदिरालाई ब्रान्ड बनाउन पहल गर्ने र देश विदेशमा बिक्री गरि समृद्ध व्यास बनाइने नेकपा एमाले जिल्ला कमिटी सदस्य एबं व्यास गाउँपालिका वडा नं ३ का वडाध्यक्षका उम्मेदवार उपेन्द्र सिह धामीले बताउनुभयो ।
पालिका भित्रका सम्पुर्ण टुहुरा बालबालिकाहरुलाई शिक्षा र स्वास्थ्य व्यवस्थापनको लागि मासिक रुपमा भत्ताको व्यवस्था गर्ने एमाले व्यासले प्रतिबद्धता गरेको छ । अति गरिब परिवारको पहिचान गरि विद्युत निशुल्क गर्ने र पालिकाबाट अन्य सेवा सुविधा उपलब्ध गराउने, पालिकाको सबै क्षेत्रमा विद्युतीकरण गर्ने, गाउँपालिका भरिका नागरिकहरुको निःशुल्क दुर्घटना बिमा गर्ने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ । एमालेले निर्वाचन जितेमा गाउँपालिकामा एमबिबिएस डाक्टर अन्य सुविधा सम्पन्न एक्सरे, अल्ट्रासाउन्ड ल्याबका व्यवस्था गर्ने धामीले बताउनुभयो । साथै बाख्रा पालन, पशुपालन तथा कृर्षिमा विभिन्न कारणले कृषकको क्षति हुने भएकाले पशु विमा र कृर्षि बिमा गर्ने, युवालाई रोजगारी दिने, स्वास्थ्य र शिक्षा निःशुल्क गर्ने, भौतिक पुर्वाधार निर्माण, युवालाई सीपमुलक तालिम, दलित उत्थान तथा लोक संसकृतीको संरक्षण गर्ने एमालेले प्रतिबद्धता गरेको छ । व्यास गाउँपालिकामा नेकपा एमालेबाट गाउँपालिका अध्यक्षमा मंगल सिह धामी र उपाध्यक्षमा चन्द्रा कुवर चुनावी मैदानमा छन् भने गठबन्धनबाट अध्यक्षमा नेपाली काङग्रेसबाट दिलिप सिह बुढाथोकी र उपाध्यक्षमा नेकपा माओबादीबाट विनोद सिह कुवर चुनावी मैदानमा छन् ।