दार्चुला, बैशाख ८ गते ।
दार्चुलाको शैल्यशिखर नगरपालिकाको ग्वानीमा नेकपा एमाले र नेपाली काङग्रेसका कार्यकर्ताहरु विच झडप भएको छ ।
शान्तिपूर्ण र्याली गरिरहेका बेला काङ्ग्रेसका कार्यकर्ताहरुले आफुहरुमाथी ढुङ्गा र सिसाका बोतलहरु प्रहार गरेको एमालेका कार्यकर्ता राजेश विष्टले बताउनुभयो । झडपमा गाडीका सिसाहरु फुटाइएको र केही एमालेका कार्यकर्ताहरु घाइते भएको विष्टले बताएका छन् ।
प्रहरीले भने उक्त घटनालाई सामान्य विवाद भएको बताएको छ । नेकपा एमालेका कार्यकर्ताहरुले घरदैलो कार्यक्रम गरिरहेका बेला काङ्ग्रेसका कार्यकर्ताहरु सँग सामान्य विवाद भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक धुब्र विष्टले जानकारी दिनुभयो । विवादका क्रममा एमालेका दुई जना कार्यकर्ताहरुलाई सामान्य चोटपटक लागेको उहाँले बताउनुभएको छ । आज दिउसो करिब साढे १२ बजेतिर नेकपा एमालेका कार्यकर्ताहरुले घरदैलो गरिरहेका बेला काङ्ग्रेसका कार्यकर्ताहरु सँग मुडभेड भएको थियो । घटनास्थलमा प्रहरी टोली खटिएको प्रहरी निरीक्षक विष्टले जानकारी दिनुभएको छ ।
निर्वाचनमा हुने शान्तिपूर्ण र्यालीमा काङ्ग्रेस कार्यकर्ताहरुले उत्तेजक व्यवहार गरेको भन्दै आलोचना भइरहेको छ ।