दार्चुलाका सञ्चारमाध्यमहरुले निर्वाचन आयोगका सूचना प्रशारण नगर्ने

0
830

दार्चुला, माघ १२ गते । दार्चुलामा सञ्चालित विभिन्न सञ्चार माध्यमहरुले निर्वाचन आयोगका सूचना÷सन्देश प्रशारण नगर्ने निर्णय गरेका छन् । निर्वाचनका सूचनाका लागि न्युन बजेट उपलब्ध गराएको भन्दै जिल्लाका सञ्चार माध्यमले आयोगका सूचना÷सन्देश प्रशारण नगर्ने निर्णय गरेका हुन् । निर्वाचन जस्तो प्राथमिकता र संबेदनशील विषयको सूचना प्रसारणमा आयोगले मिडियालाई उपेक्षा गरेको नेपाल पत्रकार महासंघ जिल्ला अध्यक्ष शंकरसिंह धामीको भनाई छ ।
निर्वाचन आयोगले जिल्ला स्थित रेडियो एफ एमहरुमा सन्देश/सूचना प्रसारणका लागि जम्मा १५ हजार मात्रै बजेट उपलब्ध गराउने जिल्ला निर्वाचन कार्यालय दार्चुलाले जानकारि दिएपछि दार्चुलाका सञ्चारमाध्यमहरुले उक्त निर्णय गरेका छन् ।
निर्वाचन जस्तो प्राथमिकताको र संबेदनशिल विषयको सूचना रेडियोबाट मात्रै नभई पत्रपत्रिका, अनलाइन सञ्चार माध्यमहरुबाट समेत प्रकासनका लागि बजेट विनियोजन गरिनुपर्ने दार्चुलाका मिडियाहरुको माग छ ।
आईतबार बसेको दार्चुलाका सञ्चारकर्मी तथा पत्रकारहरुको बैठकले निर्वाचनको सूचना प्रसारणका लागि विनियोजित बजेट बृद्धि गर्न जिल्ला निर्वाचन कार्यालय दार्चुला मार्फत निर्वाचन आयोगलाई सूझाव पत्र पेश गर्ने निर्णय लगायत विभिन्न पाँच ओटा निर्णय गरेको छ । बजेट बृद्धि नगरिए आयोगका कुनै सूचना÷सन्देश प्रशारणनगर्ने निर्णय गरिएको छ ।
सूचना प्रशारण नगरेपनि निर्वाचन सम्बन्धी समाचारका विषयहरु भने प्रशारण प्रकाशन गर्ने दार्चुलाका सञ्चारकर्मी तथा पत्रकारहरुले निर्णय गरेका छन् ।