बझाङको उरैनाका खुलेन

0
21

दार्चुला, साउन २ गते ।
चीनको ताक्लाकोट जोड्ने बझाङको उरैनाका अहिलेसम्म खुल्न सकेको छैन । साइपाल गाउँपालिकाको वडा नम्बर ४ स्थित उरै भञ्ज्याङ भएर ताक्लाकोटसम्म पुगिने नाका अहिलेसम्म खुल्न नसकेको जिल्ला प्रशासन कार्यालय बझाङले जनाएको छ ।
प्रशासन र सुरक्षा निकायको स्तरमा चीनिया पक्षसंग सम्पर्क नभएको बझाङका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले बताउनुभयो । ‘साइपाल गाउँपालिकाका स्थानीयले नाका खोल्नका लागि पहल गरिरहेको खबर छ, केहीले पास (अनुमतिपत्र) पनि लिइसकेका छन्’ उहाँले भन्नुभयो ।
जिल्ला प्रशासन कार्यालय बझाङका अनुसार असारको अन्तिम सातासम्म २० जनाले चीन प्रवेशको अनुमतिपत्र बनाएका छन् । १२ जना अनुमतिपत्र नवीकरण गरेका छन् । असार १९ गतेदेखि अनुमतिपत्र जारी गर्ने र नवीकरण गर्ने कार्य थालिएको जिल्ला प्रशासनले जनाएको छ ।
साइपाल गाउँपालिकाले ताक्लाकोट जान इच्छुक नागरिकलाई जिल्ला प्रशासन कार्यालयबाट अनुमतिपत्र बनाउन सुचना निकालेको छ । ‘ताक्लाकोट जान इच्छुक व्यक्तिलाई साउन ५ गतेभित्र अनुमतिपत्र बनाइसक्न भनेका छौं, साइपाल गाउँपालिकाका सुचना अधिकारी मुकेश वहादुर बोहराले भन्नुभयो । प्रशासन कार्यालयबाट अनुमतिपत्र प्राप्त गर्न गाउँपालिका र सम्बन्धित वडास्तरबाट सिफारिस भइरहेको उहाँले बताउनुभयो ।
उरैनाकाबाट ताक्लाकोट प्रवेश गर्ने पर्याप्त मान्छे नभएकाले नाका खुल्न ढिलाइ भएको जानकारी गाउँपालिकामा प्राप्त भएको बोहराको भनाई छ । ‘५०–६० जना मान्छे पुगेपछि नाका खोल्छौ भन्ने चीनिया पक्षले खबर दिएको छ, त्यसकै लागि ताक्लाकोट जाने सबैलाई अनुमतिपत्र बनाउन सुचना जारी गरेका छौं’ उहाँले भन्नुभयो ।
वर्षौदेखि ताक्लाकोटमा व्यापार गर्दैआएका बझाङका व्यापारी जगत सिंह तामाङले नाका खोल्नका लागि चीनिया पक्षसंग सम्पर्क र समन्वय गरिरहेका छन् । नेपाल सरकारका निकायहरुसंग कुनै सम्पर्कमा नभएको चीनिया पक्षले स्थानीय व्यापारीमार्फत भने सन्देश पठाउने गरेको छ ।
जिल्ला प्रशासन कार्यालय बझाङका अनुसार गतवर्ष ५६ जनाले चीन प्रवेशको अनुमतिपत्र बनाएका थिए । यो संख्या अघिल्लो वर्षको अनुमतिपत्र नविकरण गर्ने र नयाँ अनुमतिपत्र बनाउने दुबैको हो ।
अघिल्लो वर्ष २०८१ मा भने ८२ जना चीन प्रवेशको अनुमतिपत्र बनाएका थिए । सन् २०१९ देखि कोभीडका कारण बन्द रहेको चीनसंगको नाका दुईवर्षअघि २०८१ देखि खुलेको थियो ।
उरैनाकाबाट यसवर्ष कुनै पनि व्यक्ति ताक्लाकोट गएका छैनन् । जिल्ला सदरमुकाम चैनपुरबाट सशस्त्र प्रहरीको टोलीले गत असार ८ गते उरैनाकासम्म गस्ती गरेको छ । सीमाक्षेत्रको सुरक्षाका साथै उरै भञ्ज्याङमा रहेको २ नम्बर सिमा पिलरको अनुगमन गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीसंगै नेपाली सेनाले पनि साइपाल गाउँपालिकाको चीन सीमानजिकसम्म गस्ती गरेको थियो । तर सीमा पिलरमै सेनाको टोली नपुगेको बझाङस्थित सुरक्षास्रोतले बतायो । ‘अन्तर्राष्ट्रिय सीमा छुट्याउने पिलरमै सेनाको टोली पुगेन, सीमा सुरक्षाको फ्रन्टलाइनमा सशस्त्र प्रहरी खटिने भएकोले सेनाको टोली पिलरमा नपुगेको हो’ स्रोतको भनाई छ ।
साइपाल गाउँपालिकाको वडा नम्बर ४ काँडामा इलाका प्रहरी कार्यालय सञ्चालनमा छ । उरैनाका नजिकको अन्तिम वस्ती काडामा सरकारको स्थायी उपस्थिति इप्रकाले जनाइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here