दार्चुलामा सबै मुद्दाको फैसला तयार

0
135

दार्चुला, साउन १ गते ।
दार्चुला जिल्ला अदालतमा आर्थिक वर्ष २०८२–८३ मा फस्र्यौट भएका मुद्दाहरुको फैसला तयार गरिएको छ । सेवाग्राहीलाई कानूनले तोकिएको २१ दिनभित्रै फैसला तयार गरी उपलब्ध गराइएको जिल्ला न्यायाधिश भुवन गिरीले बताउनुभयो ।
जिल्ला अदालतमा गतवर्ष मात्रै १७७ वटा मुद्दा फस्र्यौट गरिएका छन् । फस्र्यौट गरिएका मुद्दाहरुको फैसला तत्काल तयार गर्ने गरिएको जिल्ला न्यायाधिशको भनाई छ । ‘कानूनले २१ दिनभित्र फैसला लेखन गरी तयार गर्न भन्छ, हामीले सबै मुद्दाको फैसला समयमै तयार गरेका छौं र सेवाग्राहीलाई उपलब्ध गराएका छौं’ जिल्ला न्यायाधिश गिरीले भन्नुभयो ।
आफ्नो कार्यकालमा कुनै पनि मुद्दाको फैसला तयारीमा ढिलाइ नभएको उहाँले बताउनुभयो । २०८२ भदौं तेस्रो सातादेखि दार्चुला जिल्ला अदालतको जिम्मेवारीमा रहेका न्यायाधिश गिरीले विहिवार मात्रै जिल्ला अदालत मुगु सरुवा भएको छ ।
गतवर्ष लगातार ३ महिनासम्म जिल्ला अदालत न्यायाधिशविहिन बनेको थियो । एकजना मात्रै न्यायाधिशको दरबन्दी रहेको दार्चुलामा न्याय परिषद्ले भदौं १८ देखि मात्रै न्यायाधिश गिरीलाई पठाएको थियो ।
मुद्दाका सरोकारवालालाई समयमै फैसला तयार गरी उपलब्ध गराउने कार्य महत्वपूर्ण भएको न्यायाधिश गिरीको भनाई छ । फैसलामा चित्त नबुझाइ माथिल्लो अदालतमा रिट हाल्ने प्रयोजनका लागि पनि समयमै फैसला उपलब्ध हुनु महत्वपूर्ण उहाँको भनाई छ । मुद्दा फैसलाको अध्ययन र जानकारीका लागि पनि फैसला विवरण सेवाग्राहीले माग्नसक्ने व्यवस्था छ ।
उत्कृष्ट कर्मचारी पुरस्कृत
दार्चुला जिल्ला अदालतले आर्थिक वर्ष २०८२–८३ मा उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै दुईजना कर्मचारीलाई पुरस्कृत गरेको छ । असार ३१ गते अदालत परिसरमा आयोजित एक कार्यक्रममा नायब सुब्बा उर्वादत्त जोशी र डिट्ठा महेश सिंह धामीलाई पुरस्कृत गरिएको हो ।
जिल्ला अदालतको कार्य सम्पादनमा उल्लेखनिय भूमिका निर्वाह गरेको भन्दै जिल्ला न्यायाधिश भुवन गिरीले दुबैजनालाई जनही ५ हजार नगद र प्रशंसापत्र दिएका छन् ।
जिल्ला अदालतले गतवर्ष ७६ दशमलव २९ प्रतिशत मुद्दाहरु फस्र्यौट गरेको छ । कुल २३२ मुद्दा रहेकोमा १७७ मुद्दा फस्र्यौट गरिएका छन् । मुद्दा फस्र्यौट लगायत अदालतको नियमित कार्य सम्पादनमा राम्रो भूमिका निर्वाह गरेको भन्दै कर्मचारी पुरस्कृत भएका हुन् ।
अघिल्लो वर्ष २०८१–८२ मा उत्कृष्ट कार्यसम्पादन गर्ने कार्यालय सहयोगी इन्दिरा धामीलाई पनि प्रशंसापत्र उपलब्ध गराइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here