महाकाली कोरिडोरमा ८ किमी नयाँ ट्रयाक निर्माण

0
41

दार्चुला, असार २८ गते ।
महाकाली कोरिडोरमा चालू आर्थिक वर्षमा ८ किलोमिटर नयाँ ट्रयाक निर्माण भएको छ । यो वर्ष १० किलोमिटर नयाँ ट्रयाक निर्माणको लक्ष्य राखिएकोमा ८ किलोमिटर ट्रयाक निर्माण भएको महाकाली कोरिडोर सडक योजनाले जनाएको छ ।
बैतडीमा ७ किलोमिटर र डडेल्धुरामा दुई स्थानमा गरी १ किलोमिटर नयाँ ट्रयाक खोलिएको छ । दार्चुलाको भूगोलमा करिब १७ किलोमिटर ट्रयाक खोल्न बाँकी रहेको इन्जिनियर दिनेश रैखोलाले बताउनुभयो ।
लाली–सलेती खण्डमा स्थानीयको अवरोध र विवादले ट्रयाक निर्माण कार्य हुन नसकेको योजना कार्यालयले जनाएको छ । यसक्षेत्रमा ट्रयाक निर्माण गर्न आर्थिक वर्ष २०७८–७९ मै ठेक्का सम्झौता गरिएको थियो ।
कञ्चनपुर जिल्लामा पर्ने ११ किलोमिटर लामो सडक खण्डमा भने पूरै ट्रयाक निर्माण भइसकेको छ ।
आर्थिक वर्ष २०८२–८३ मा २ दशमलव ५ किलोमिटर ग्राभेल सडक निर्माण गर्ने लक्ष्य रहेकोमा लक्ष्यअनुसार भौतिक प्रगति भएको इन्जिनियर रैखोलाले बताउनुभयो । उहाँका अनुसार लेकम गाउँपालिकाको वडा नम्बर २ धन्थला–बडीपुर क्षेत्रमा ग्राभेल सडक निर्माण गरिएको छ ।
चालू वर्षमा ४ किलोमिटर कालोपत्रे सडक निर्माणको लक्ष्य थियो । डडेल्धुराको जोगबुढा क्षेत्रमा १ दशमलव ७ किलोमिटर लामो सडक कालोपत्रे कार्य सम्पन्न भएको योजनाले जनाएको छ ।
दार्चुलाको भूगोलमा खलंगाभन्दा माथि हिकिला, धौलाकोट क्षेत्रमा र महाकाली नगरपालिकाको बेतदेखि जोलजिवि–उकु क्षेत्रमा सडक कालोपत्रेको तयारी भइरहेको छ ।
मोटरपुल निर्माणअन्तर्गत दुइटा पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएकोमा कुनै प्रगति हुन सकेको छैन । कोरिडोरअन्तर्गत खलंगाको लास्कुखोला र निजाङगाडमा पुल निर्माणका लागि बजेट राखिएको थियो । तर लास्कुखोलामा ठेकेदारले पुल निर्माण गरेका छैनन् भने निजाङगाडमा ठेक्का व्यवस्थापन नै भएको छैन । यसअघि २०७८ सालको बाढीले दुबै स्थानमा बनिसकेका मोटरपुल बगाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here