थप २७ व्यापारी पुगे ताक्लाकोट

0
26

दार्चुला, असार २० गते ।
दार्चुलाको टिंकर नाका भएर थप २७ जना व्यापारी चीनको ताक्लाकोट बजार पुगेका छन् । ताक्लाकोटमा परम्परागत व्यापार गर्न व्यास क्षेत्रका व्यापारीका लागि असार १८ गते दोस्रो पटक नाका खोलिएको हो ।
चीनको प्रशासनले यो वर्ष ताक्लाकोट प्रवेशका लागि दोस्रोपटक नाका खोलेको हो । यसअघि असार ९ गते पहिलोपटक नाका खोलिएको थियो । पहिलोपटक नाका खोलिदा ६२ व्यापारीहरु व्यासक्षेत्रबाट ताक्लाकोट प्रवेश गरेका थिए ।
दोस्रोपटक खोलिएको टिंकर नाकाबाट व्यापारिक सामानसहित २७ जना नेपाली ताक्लाकोटतर्फ प्रवेश गरेको इलाका प्रहरी कार्यालय तिंकरले जनाएको छ । ताक्लाकोट प्रवेश गर्नेमा अधिकांश छाङरु र तिंकर गाँउका वासिन्दा छन् ।
जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराएको नेपाल–चीन प्रवेश अनुमतिपत्रका आधारमा दार्चुलाका स्थानीय चीनको ताक्लाकोट बजारसम्म जान पाउँछन् । व्यास क्षेत्रका शौका समुदाय र केही अन्य क्षेत्रका व्यापारीले ताक्लाकोटमा परम्परागत रुपमा व्यापार व्यवसाय गर्दैआएका छन् ।
चीनको प्रहरी–प्रशासनले दोस्रोपटक नाका खोलेको हो । चीनको प्रशासनले ताक्लाकोट प्रवेशका लागि निश्चित दिनमा मात्रै नाका खोल्ने गर्छ । टिंकर नाकाबाट ताक्लाकोट प्रवेश गर्ने सबै नागरिकको अभिलेख राख्ने गरिएको इलाका प्रहरी कार्यालय तिंकरका इन्चार्ज सई धन सिंह धामीले बताउनुभयो ।
दुइ सय घोडाखच्चर र झुपुहरुमा व्यापारिक सामान ढुवानी गरिएको छ । तिंकर गाउँनजिकैको छियालेकस्थित इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरीको विओपीले व्यापारी र सामानको अभिलेख राख्ने गरेको छ ।
असार महिनाको अन्तिमतिर तेस्रोपटक आवतजावतका लागि चीनिया पक्षले टिंकर नाका खोल्ने अनौपचारिक जानकारी प्राप्त भएको तिंकरका स्थानीय बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here