चीनका लागि भारतीय राजदूत लिपुलेकमा

0
54

दार्चुला, असार १२ गते ।
चीनका लागि भारतीय राजदूत विक्रम दोराईस्वामीले चीनिया भूमिबाट लिपुलेकको भ्रमण गरेका छन् । लिपुलेकबाट कैलाश–मानसरोवर यात्रा र व्यापार गर्ने भारत–चीनको सम्झौताप्रति नेपालले आपत्ति जनाइरहेको बेला चीनका लागि भारतीय राजदूतले लिपुलेक नाकाको भ्रमण गरेका हुन् ।
बेइजिङबाट तिब्बतको ल्हासा हुँदै कैलाश–मानसरोवर क्षेत्र पुगेका राजदूतले कैलाश पर्वतको परिक्रमा समेत गरेका छन् । कैलाश परिक्रमापछि सामाजिक सञ्जाल एक्समा आइतबार (असार ७ गते) एउटा भिडियो सन्देश सार्वजनिक गरेका छन् ।
भारत–चीनबीचको सहमतिअनुसार यो वर्ष २०२६ मा सञ्चालन गरिन लागेको कैलाश–मानसरोवर यात्राको तयारी एवं व्यवस्थापनबारे जानकारी लिन राजदूत दोराईस्वामी तिब्बतको ताक्लाकोट र लिपुलेक सिमाक्षेत्रसम्म पुगेका छन् ।
आसन्न कैलाश–मानसरोवर यात्राको तयारी अवस्थाबारे जानकारी लिन आफुले लिपुलेक र नाथुला दुबै प्रवेश विन्दुको भ्रमण गरेको जानकारी राजदूतले दिएका छन् । भारत–चीनको सहमतिअनुसार यो वर्ष नाथुला र लिपुलेक नाकाबाट १०–१० वटा टोलीले कैलाश–मानसरोवर यात्रा गर्दैछन् । लिपुलेकबाट १० टोली र नाथुलानाका भएर १० टोलीले कैलाश भ्रमण गर्नेछन् । हरेक टोलीले ५० जना यात्री सहभागी हुनेछन् ।
आफुले पहिलोपटक कैलाश दर्शन र परिक्रमा गर्न पाएकोमा राजदूतले खुशी व्यक्त गरेका छन् । जीवनकै अविस्मरणीय यात्राको रुपमा उनले कैलाश परिक्रमालाई चित्रण गरेका छन् । राजदूत दोराईस्वामीले पहिलोपटक तिब्बत क्षेत्रमा भ्रमण गरेका हुन् । स्थानीय चीनिया अधिकारीहरुको समन्वय र सहभागितामा राजदूतले तिब्बत क्षेत्रको भ्रमण गरेका हुन् ।
चीनिया अधिकारीहरुसहितको भ्रमणअन्तर्गत कैलाश यात्राको तयारी, भौतिक पूर्वाधार, व्यवस्थापकीय तयारी, होटल र सुरक्षा प्रबन्धलगायतको विषयमा जानकारी लिइएको राजदूतले बताएका छन् । आफुले कैलाश परिक्रमा गरिसकेपछि तिब्बतको याडोङ्ग काउन्टीबाट राजदूतले भिडियो सन्देश सार्वजनिक गरेका हुन् ।
‘कैलाश–मानसरोवर यात्रामा सहभागी भारतीय तिर्थयात्रीहरुलाई स्वागत छ’ भन्दै राजदूतले यात्राको क्रममा अपनाउनुपर्ने सावधानी र आवश्यक तयारीबारे समेत जानकारी दिएका छन् । करिब ५ मिनेटको भिडियो सन्देशमा यात्राको तयारी, हावापानी, स्वास्थ्य उपचार, न्यायो कपडा व्यवस्थापन लगायतको विषयमा जानकारी दिएका छन् । नाथुला नाकाका साथै लिपुलेक नाकाबाट कैलाश यात्रा सञ्चालन हुने जानकारी राजदूतले दिएका छन् ।
भारत–चीनको सहमतिप्रति नेपालले विरोध जनाउदै कुटनीतिक नोट पठाएको र परराष्ट्रमन्त्री शिशिर खनालले हालैको चीन भ्रमणका क्रममा पनि यो विषय उठाएको पृष्ठभूमिमा भारतीय राजदूतले लिपुलेकको प्रसंग उठाएका छन् ।
नेपालको विरोधका कारण लिपुलेक नाकाबाट कैलाश–मानसरोवर यात्रा स्थगित हुन्छ कि भन्ने आशंकालाई भारतीय राजदूतले हटाउन खोजेका छन् । लिपुलेक नाका हुँदै भारतीय नागरिकले परम्परागत रुपमा तिब्बतको यात्रा गर्दैआएको प्रसंग राजदूतले उल्लेख गरेका छन् ।
लिपुलेक नाकाबाट कैलाश–मानसरोवर यात्रा गर्ने पहिलो टोली जुलाइ ६ मा पिथौरागढ धारचुला बजार पुग्नेगरी कैलाश यात्राको तालिका पनि सार्वजनिक गरिएको छ । उत्तराखण्ड सरकारको कुमाउँ मण्डल विकास निगमले यात्राको व्यवस्थापन गरिरहेको छ भने भारत–तिब्बत सीमा पुलिस (आइटिबिपी)ले सुरक्षा व्यवस्थापनको जिम्मेवारी लिएको छ ।
आइटिबिपीका आइजीले जेठ २७ गते मात्रै भारतीय सेनाको हेलिकोप्टरमार्फत लिपुलेक क्षेत्रको निरीक्षण भ्रमण गरेका छन् । पिथौरागढस्थित आइटिबीपिको ११औं बटालियन मुख्यालयका साथै धारचुला, गुञ्जी र कालापानीस्थित आइटिबिपीका क्याम्पहरुको निरीक्षण गरिएको छ ।
निरीक्षण भ्रमणको क्रममा भारतीय सेनाको हेलिकोप्टरले व्यासको छाङरु र तिंकरसहितको नेपाली आकाशमा पनि फन्को लगाएको थियो । व्यासक्षेत्रका रहेको सुरक्षा टोलीले जिल्ला र केन्द्रमा रिपोर्टिङ गरेपछि मिडियामा पनि यसबारे समाचार आएको थियो । यसबारे नेपाल सरकारले भने कुनै प्रतिक्रिया दिएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here