नेपाली व्यापारीलाई भारतियभन्दा पहिला स्वागत

0
20

दार्चुला, असार १० गते ।
चीनकाे तिब्बतस्थित ताक्लाकाेट बजारमा दार्चुलाका नेपाली व्यापारीलाई भारतियभन्दा पहिला स्वागत गरिएको छ । काेभीड महामारीका कारण छ वर्षसम्म बन्द रहेको भारत-चीन व्यापार याे वर्षदेखि खाेल्ने तयारी छ । तर लिपुलेक नाकाबाट ताक्लाकाेट प्रवेश गर्ने भारतिय व्यापारीभन्दा पहिला नेपाली व्यापारीलाई टिंकर नाकाबाट प्रवेश गराइएको छ ।
सन् २०२० देखि बन्द रहेको लिपुलेक नाकाकाे सीमा व्यापार खाेल्न भारत र चीन दुबै सहमत भइसकेका छन् । यसका लागि दुबैतर्फ आवश्यक तयारी र गृहकार्य पनि भइरहेको छ ।
नेपालसंगकाे टिंकर नाका दुई वर्षअघि नै खाेलिएकाे छ । काेभीडका कारण सन् २०२० देखि २०२३ सम्म चारवर्ष टिंकर नाका पनि बन्द थियाे । सन् २०२४ देखि टिंकर नाका सुचारू गरिएको छ । याे वर्ष भारतिय व्यापारी आउनुभन्दा दुई हप्ताअघि नेपाली व्यापारीका लागि टिंकर नाका खाेलिएकाे छ ।
लिपुलेक नाकाबाट भारतिय व्यापारीहरूकाे टाेली जुलाई दाेस्राे साता मात्रै ताक्लाकाेट प्रवेश गराइने तयारी छ । लिपुलेकबाट कैलाश-मानसरोवर यात्राकाे पहिलो टाेली जुलाई ७-८ तारेखमा प्रवेश गर्दैछ । कैलाश यात्राकाे टाेली प्रवेश गरेपछि भारतिय व्यापारीकाे टाेलीलाई पनि ताक्लाकाेटमा स्वागत गर्ने तयारी छ ।
हुम्लाकाे हिल्सा नाका र लिमी-लाप्चा नाका यसअघि नै खाेलिएकाे छ । हिल्साबाट एक महिनाअघि र लिमीबाट एक हप्ताअघि नेपाली व्यापारी ताक्लाकाेट पुगिसकेका छन् ।
दार्चुलाको टिंकर नाकाबाट असार ९ गते मंगलबार पहिलोपटक व्यापारीहरूकाे टाेली ताक्लाकाेट प्रवेश गरेकाे छ । सिमाक्षेत्रबाट ३० किलोमिटर भित्रकाे क्षेत्रमा पुगेर दुबै देशका नागरिकले व्यापार तथा आवतजावत गर्नसक्ने नेपाल र चीनबीच सम्झौता छ । यही सम्झौताकाे आधारमा हुम्ला, दार्चुला र बझाङका स्थानीय व्यापारीले ताक्लाकाेट बजारमा व्यापार गर्छन् । भाैगाेलिक कठिनाइ र विकटता रहेकोले बझाङकाे उरैनाकाबाट ताक्लाकाेट पुग्ने व्यापारीकाे संख्या न्यून हुन्छ । याे वर्ष उरैनाकाबाट व्यापारीहरू ताक्लाकाेट पुग्न बाँकी छ । ५/७ जना व्यापारी मात्रै आउने भएकोले उरैनाकालाई चिनियाँ पक्षले महत्त्व दिने नगरेकाे ताक्लाकाेट पुगेका नेपाली व्यापारी बताउँछन् ।
गतवर्ष टिंकर नाका असार ७ गते खुलेको थियाे । स्थानीय प्रशासनले उपलब्ध गराएकाे नेपाल-चीन प्रवेश अनुमतिपत्रकाे आधार जिल्लाभित्रका नागरिकले ताक्लाकाेटसम्म प्रवेश पाउँछन् ।
छ वर्षपछि खुल्न लागेकाे लिपुलेक नाकाभएर ताक्लाकाेटमा व्यापार गर्न एक सय ३ भारतिय नागरिकले ट्रेडपास (अनुमतिपत्र)का लागि आवेदन दिएका छन् । साेमबार मात्रै धारचुलास्थित व्यापार कार्यालयले १७ जना व्यापारी र ९ जना सहयाेगीहरूलाई ट्रेडपास वितरण गरेको छ ।
भारत सरकारबाट आवेदन स्वीकृति भएपछि धारचुलाका एसडिएम आशिष जाेशी नेतृत्वको व्यापार कार्यालयले ट्रेडपास वितरण गर्छ । लामाे समयपछि लिपुलेक भएर ताक्लाकाेटकाे व्यापार खुल्ने भएपछि भारतिय व्यापारीमा उत्साह छ । धारचुलादेखि लिपुलेक नजिककाे नाभीढाँगसम्म सडक सुविधा भएकोले चीनसंगकाे सिमा व्यापार बढ्ने आकलन समेत गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here