दार्चुलाका व्यापारी पुगे ताक्लाकाेट

0
43

दार्चुला, असार १० गते ।
परम्परागत व्यापारकाे सिलसिलामा दार्चुलाका व्यापारीहरूकाे टाेली मंगलबार चीनकाे ताक्लाकाेट बजार पुगेको छ । पवित्र कैलाश-मानसरोवरकाे आधार क्षेत्र रहेकाे ताक्लाकाेट बजारमा दार्चुलाका व्यासी शाैका समुदाय र स्थानीयले व्यापार गर्दैआएका छन् ।
याे वर्ष पहिलोपटक व्यापारीसहित ६२ जनाकाे टाेली टिंकर नाका हुँदै ताक्लाकाेट प्रवेश गरेकाे सशस्त्र प्रहरी र नेपाल प्रहरीले जनाएको छ । चिनियाँ पक्षले व्यापार टाेलीका लागि याे वर्ष हिलोपटक असार ९ गते नाका खाेलिने जानकारी दिएको थियाे ।
चिनियाँ पक्षकाे खबरपछि दार्चुलाको स्थानीय प्रशासन र सुरक्षा निकायहरूलाई जानकारी दिई व्यापारिक टाेली ताक्लाकाेटतर्फ गएको हाे । व्यास गाउँपालिकाकाे वडा नम्बर १ तिंकरकाे छियालेकमा रहेको सशस्त्र प्रहरीको विओपी र नेपाल प्रहरीको इलाका प्रहरी कार्यालयले ताक्लाकाेट प्रवेश गर्ने व्यापार टाेलीकाे अभिलेख राखेको छ ।
५० जना पुरूष र १३ जना महिलाको व्यापार टाेली छियालेकहुँदै ताक्लाकाेटका लागि प्रस्थान गरेकाेमा टाटाक्षेत्रबाट एकजना फर्किएको सशस्त्र प्रहरीले जनाएको छ । स्वास्थ्यमा समस्या आएपछि एकजना फर्किए पनि बाँकी सबैजना १ नम्बर पिलर हुँदै सकुशल ताक्लाकाेट पुगेका छन् ।
छाङरू गाउँका स्थानीयकाे टाेली साेमबार नै ताक्लाकाेटका लागि हिडेका थिए । साेमबार साँझ १ नम्बर पिलर नजिककाे डाेङकाङ क्षेत्रमा बास बसेका छाङरूवासी मंगलवार विहान ताक्लाकाेटतर्फ हिडेका थिए । तिंकर गाउँका स्थानीय भने मंगलवार विहानै गाउँबाट ताक्लाकाेटका लागि हिडेका थिए ।
व्यापार टाेलीका सबैजना मंगलवार अपरान्ह ४ बजे ताक्लाकाेट बजार पुगेको नेपाल-चीन हिमालय मैत्री समाजका केन्द्रीय सदस्य एवं अगुवा व्यवसायी याेगेश बाेहराले बताउनुभयाे । टाटा र १ नम्बर पिलरक्षेत्रमा हिउँ पग्लिसकेकाेले यात्रामा अप्ठ्यारो नभएको उहाँले बताउनुभयाे । `१ नम्बर पिलर कटेपछि चिनकाे भूगाेलमा केही हिमपात छ तर हामीलाई कुनै समस्या भएन । सबैजना सकुशल ताक्लाकाेट पुगेका छाैं´ उहाँले भन्नुभयाे । १ नम्बर पिलरक्षेत्रमा भने तिब्र हावा चलेकोले विश्राम नलिइकन चीनतर्फकाे ओरालाेमा झर्नुपरेकाे उहाँले बताउनुभयो ।
नेपाली व्यापार टाेलीलाई १ नम्बर पिलरभन्दा आधाघण्टाकाे दूरीमा रहेकाे चिनियाँ सुरक्षाकर्मी र अध्यागमन विभागकाे टाेलीले स्वागत गरेको छ । व्यापार टाेलीलाई ताक्लाकाेट लग्न चिनियाँ चेकपोस्टमै चिनियाँ गाडी पुगेका थिए ।
डाेङकाङ क्षेत्रबाट ४-५ घण्टा र तिंकर गाउँबाट ६-७ घण्टाकाे पैदल हिडाइपछि चिनकाे भूमिमा गाडी चढ्न पाएकाे बाेहराकाे भनाइ छ । ताक्लाकाेटमा दार्चुलाका व्यापारीले कार्तिक-मंसिरसम्म व्यापार व्यवसाय गर्छन् ।
ताक्लाकाेटमा तिब्बत सरकारले दार्चुलाका व्यापारीलाई तीन दर्जन पसलहरू भाडामा उपलब्ध गराएको छ । ३२ वटा पसल र ४ वटा हाेटलहरू दार्चुलाका व्यवसायीले सञ्चालन गर्दैआएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here