दार्चुला, चैत्र १० गते ।
तुइन विस्थापन गरी झोलुंगे पुल निर्माणको गृहकार्य गर्न दार्चुला पुगेको सांसद हर्क साङपाङको प्राविधिक टोलीलाई जनप्रतिनिधिहरु र स्थानीय जनताले भव्य स्वागत गरेका छन् भने दार्चुलाका सिडिओ अनिल पौडेलले त्रास देखाएका छन् ।
दार्चुलामा कुनै पनि सामाजिक कार्य वा विकास निर्माण गर्न सर्वदलिय सहमति आवश्यक पर्ने सिडिओको भनाई छ ।
महाकाली नदीमा तुइन विस्थापित गरी झोलुंगे पुल निर्माण गर्ने घोषणासहित श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साङपाङले एउटा प्राविधिक टोली दार्चुला पठाएका छन् । शनिवार दार्चुला सदरमुकाम पुगेको प्राविधिक टोलीलाई व्यास गाउँपालिका अध्यक्ष मंगल सिंह धामीले खादा लगाएर स्वागत गरेका छन् । प्राविधिक टोली दुम्लिङ क्षेत्रतर्फ जादा व्यास गाउँपालिका–२ का वडा सदस्य नरेन्द्र सिंह धामीले स्वागत गरेका छन् भने स्थानीय जनतामा आश जागेको बताएका छन् ।
दार्चुलाका सिडिओ अनिल पौडेलले भने झोलुंगे पुल वा अन्य जुनसुकै निर्माण कार्य गर्नुअघि जिल्लामा क्रियासिल राजनीतिक दलहरुको सहमति लिनुपर्ने अनौठो शर्त राखेका छन् ।
‘एक किसिमको राजनीतिक सहमति चाहिने होला । यहाँहरुले त्यो खालको सहझदारी गर्नु भएको छ कि छैन ?’ सिडिओ पौडेलले प्राविधिक टोलीसंग भनेका छन्– ‘जिल्लाबाहिरबाट आएर काम गर्दाखेरी उहाँ (स्थानीय दल र नेता)हरुको प्रतिष्ठामा आघात पुग्न सक्छ । त्यो खालको समन्वय पनि जरुरी छ ।’
‘जिल्लास्तरमा क्रियासिल राजनीतिक दलहरुको एकखालको भिजन छ, मिशन छ । उहाँहरु त्यो अभियानमा हुनुहुन्छ । भर्खर निर्वाचन सम्पन्न भएको छ । उहाँहरुसंग समन्वय गर्नुपर्छ, पालिकाहरुसंग समन्वय गर्नुपर्यो’ श्रम संस्कृति पार्टीको टोलीसंग सिडिओ पौडेलले भनेका छन् ।
अन्तर्राष्ट्रिय सिमाक्षेत्रमा पुल बनाउन सरकारीस्तरबाटै प्रयास गरिनुपर्ने उहाँले बताउनुभयो । व्यास गाउँपालिकाको वडा नम्बर २ दुम्लिङमा महाकाली नदीमा झोलुंगे पुल निर्माण गर्न सांसद हर्क साङपाङले घोषणा गरेका छन् । दुम्लिङमा महाकाली नदीमाथि झोलुंगे पुल निर्माण गर्न केही वर्षअघिदेखि प्रयास भए पनि भारत सरकारबाट सहमति प्राप्त नभएको सिडिओ अनिल पौडेलको भनाई छ ।
झोलुंगे पुल निर्माण भन्दा पनि अन्य विकास निर्माणका कार्य गर्नु उपयुक्त हुने सुझाव सिडिओले प्राविधिक टोलीलाई दिएका छन् । महाकालीको सिमाक्षेत्रमा पुल निर्माण गर्न तम्सिएको श्रम संस्कृति पार्टीको टोलीलाई सिडिओ अनिल पौडेलले भने नौगाड गाउँपालिकाको नागु वस्तीमा झोलुंगे पुल र पैदलबाटो निर्माण गर्न सुझाव दिएका छन् । ‘त्यहाँ एउटा झोलुंगे पुल निर्माण र रेलिङसहितको बाटो बनाउन आवश्यक छ । असजिलो र भिरको बाटो बनाउनु छ त्यहाँ । २०–३० लाख रुपैयाा लागत लाग्छ । त्यो पनि एउटा फ्रुटफुल (उपलब्धिमूलक) हुन्छहोला’ सिडिओको सुझाव छ ।
सिमाक्षेत्रमा निर्माण कार्य सञ्चालन गरिए भारतीय पक्षबाट असहयोग हुने चेतावनी पनि सिडिओले दिएका छन् । भारतीय पक्षलाई चिढाउनेगरी निर्माण कार्य गर्दा स्थानीयवासीले पनि मन नपराउने सिडिओ पौडेलको भनाई छ ।
सिडिओ पौडेलको भनाई ः
‘यहाँ चाहि पब्लिक (जनता)लाई असुविधा हुने गरी धेरै भडकाउ र उत्तेजित कुरा गरेर फाइदा छैन । यहाँ रोटीबेटीको सम्बन्ध छ, एउटा साबुनको डल्लो किन्न पनि पारी जानुपर्ने हार्मोनी र बाध्यता छ । उहाँहरुले यस्ता विषयमा धेरै एक्सपोज (प्रदर्शन) नभइ दिए हुन्थ्यो भन्ने यहाँको पब्लिक (जनता)को चाहना छ । कहिलेकाही एक्सट्रिम (अतिधेरै) कुरा गरिन्छ । कालापानी लिपुलेकका विषयमा आउनुहुन्छ क्या पत्रकारहरु पनि । यो खालको कुरा नगरिदिनु । यस्तो गर्नु भो भने तपाइहरुलाई पारीको (भारतको) पार्टीले पनि असहयोग गर्छ । यहाँको पब्लिक (जनता)ले पनि सहयोग गर्दैन, त्यति निको मान्दैन । जुन कुरा राष्ट्रले सल्ट्याउन सक्या छैन, त्यो विषयमा धेरै घिचिमिचि गरेर पनि खासै अर्थ छैन ।’
इन्जनियर गोपाल राइ नेतृत्वको प्राविधिक टोलीले भने दुम्लिङ गाउँको स्थलगत भ्रमण गरेपछि थप योजना बनाइने बताएको छ । ‘हामी स्थलगत भ्रमण गर्छौ त्यसपछि आवश्यकताअनुसार थप योजना बनाउछौं’ इन्जिनियर राइले भन्नुभयो ।
दार्चुलाका राजनीतिक दलहरुको सहमति लिनुपर्ने सिडिओको सुझावलाई आफुहरुले महत्व नदिएको इन्जिनियर राइको भनाई छ । ‘हामीले यो भनाइलाई महत्व दिएका छैनौं, स्थलगत अध्ययन भ्रमण र प्राविधिक रुपमा हामी अध्ययन गछौं त्यसपछि के गर्नु उपयुक्त हुन्छ त्यसैअनुसार योजना बनाउछौं’ उहाँले भन्नुभयो ।
तुइन विस्थापन हुनेगरी झोलुंगे पुल निर्माण वा दुम्लिङ गाउँसम्म मोटरबाटो सञ्चालनमा ल्याउने कार्य गर्न आफुहरुले अध्ययन गर्ने इन्जिनियर राइको भनाई छ । झोलुंगे पुल निर्माणको विकल्पमा नेपाली सेनाले काम गरिरहेको टिंकर सडक दुम्लिङगाउँसम्म खुलाउने प्राविधिक टोलीले प्रस्ताव गरेको छ ।
दार्चुलाका सिडिओ अनिल पौडेलले भने सेनाले काम गरिरहेको टिंकर सडकमा अन्य पक्षबाट काम गर्न गाइडलाइनले नदिने बताएका छन् । ‘सेना आफैले सडक खुलाउँछ, रकमान्तरको प्रक्रिया अघि बढेको छ, चुनावी आचारसंंहिताले केही ढिला भएको हो’ सिडिओ पौडेलको भनाई छ ।
बजेट अभावले सेनाबाट निर्माण भइरहेको टिंकर सडकअन्तर्गत दुम्लिङ गाउँ जोड्ने मोटरबाटो सञ्चालनमा आउन सकेको छैन । दुम्लिङ जोड्नेगरी सडक खुलाउन सकेमा महाकालीमा जोखिमपूर्ण तुइन तर्नुपर्ने बाध्यता अन्त्य हुने सुझाव दिइएको छ ।
व्यास गाउँपालिका अध्यक्ष मंगल सिंह धामीले श्रम संस्कृति पार्टीको प्राविधिक टोलीलाई स्वागत गर्दै सिमाक्षेत्रको विकास निर्माणमा गाउँपालिकाले समन्वय र सहकार्य गर्ने बताउनुभयो । ‘झोलुंगे पुल वा मोटरबाटो जे बनाए पनि हामी यो कार्यमा सहकार्य गर्छौ’ गाउँपालिका अध्यक्ष धामीले भन्नुभयो ।
शनिवार सदरमुकाममा सिडिओ, गाउँपालिका अध्यक्ष र पत्रकारहरुसंग छलफल गरेपछि प्राविधिक टोलीले आइतवार र सोमबार दुम्लिङ गाउँको भ्रमण गरेको छ । दुम्लिङका स्थानीयले झोलुंगे पुल र मोटरबाटो निर्माण दुबैको माग गरेका छन् । तल्लो दुम्लिङ वस्ती नजिक महाकाली नदी किनारमा सम्भावित पुल निर्माणस्थलको प्राविधिक टोलीले अवलोकन गरेको छ ।
दुम्लिङ गाउँमा झोलुंगे पुल नहुँदा हालसम्म ३६ जनाले ज्यान गुमाउनु परेको स्थानीय महेन्द्र सिंह बुढाथोकीले बताउनुभयो । ‘हाम्रो यो पीडादायी अवस्था बुझेर टोली आएको छ, हामी पुल बन्नेमा आशावादी छौं, केन्द्रीयस्तरमा थप पहल र समन्वय गरेर भए पनि पुल बनाउनुपर्छ । टिंकर सडक निर्माण पनि चाँडो हुनुपर्छ’ उहाँले भन्नुभयो ।
महाकाली नदीमा तत्काल झोलुंगे पुल निर्माण सम्भव नभएमा दुम्लिङ गाउँस्थित घट्टेखोलामा अर्को झोलुंगे पुल निर्माण गर्ने विकल्पबारे पनि प्राविधिक टोलीले अध्ययन गरिरहेको इन्जिनियर गोपाल राइले बताउनुभयो ।
जिल्ला सदरमुकाममा शनिवार सिडिओ अनिल पौडेलले प्राविधिक टोलीसंग त्रासपूर्ण भनाई राखे पनि दुम्लिङ गाउँका स्थानीयले भव्य स्वागत गरेका छन् । फुलमाला र दमाहा बाजाले प्राविधिक टोलीलाई स्वागत गरिएको छ । स्थानीय शौका समुदायको परम्पराअनुसार पगडीसहित टोलीका सदस्यहरुलाई स्थानीयले स्वागत गरेका छन् ।








