दार्चुला, माघ ८ गते ।
महाकाली नदी स्वच्छताका लागि दार्चुलामा सञ्चालन गरिएको पवित्र महाकाली नदी स्वच्छता अभियानमा पत्रकार महासंघ दार्चुला शाखाले ऐक्यबद्धता जनाएको छ । शनिबार बसेको दार्चुला शाखाको बैठकले संस्थागत ऐक्यबद्धता जनाउदै सहकार्य र योगदान गर्ने निर्णय गरेको पत्रकार महासंघ दार्चुला शाखाका उपाध्यक्ष सन्तोस सिह कोट्टारीले जानकारी दिनुभयो ।
महाकाली नदीको स्वच्छताका लागि स्वःस्फुर्त नागरिक अभियानले सकारात्मक सन्देश, उत्साह र उर्जा दिएको दार्चुला शाखाले जारी गरेको ऐक्यवद्धता पत्रमा भनिएको छ ।
सनातन धर्मावलम्बीहरूको आस्थाको धरोहर पवित्र महाकाली नदीको स्वच्छता , सरसफाइ र संरक्षणका लागि थालिएको अभियानमा तन, मन, वचन र कर्मले सकारात्मक योगदान पुर्याउन सम्पूर्ण खलंगाबासि, महाकाली नदी तटिय क्षेत्रका नागरिक, स्थानिय सरकार, सरकारी र गैरसरकारी निकायहरूलाई पत्रकार महासंघ दार्चुला शाखाले आव्हान गरेको छ ।
प्रकृति संरक्षणको पवित्र अभियानमा सिर्जनात्मक रुपमा सक्रियताका लागि सम्पूर्ण सञ्चारकर्मी तथा सरोकारवालाहरुमा अनुरोध गरिएको छ ।
दार्चुला सदरमुकाम खलंगामा बढेको सहरीकरणले पछिल्लो समय महाकाली नदी प्रदुषित भइरहेको छ । महाकाली नदीमा शौचालयको ढल मिसाउने तथा सिसाजन्य फोहार तथा अन्य फोहोर नदीमा फाल्ने प्रवृत्ति रहेको छ ।
गत पुष १७ गते महाकाली नदीको स्वच्छताका लागि सामूहिक संकल्प गरि नदी स्वच्छता अभियानको शुभारम्भ गरिएको हो ।
हिन्दु धर्मावलम्बीहरूको विषेश धार्मिक महत्वको महिनाको रुपमा रहेको माघ महिना सुरुवातका दिन तथा पुष शुक्ल पूर्णिमा तिथि माघ ३ गते का दिन महाकाली नदी किनारमा १ हजार ८ दीप प्रज्वलन गरि नदीको पुजा समेत गरिएको छ ।
महाकाली नदी पवित्र हो भन्ने चेतनाको कमी तथा सम्मान भाव नभएकाले फोहोर गर्ने समस्या रहेको छ । महाकाली नदी प्रतिको सम्मान भाव जगाउनु आजको आवश्यकता रहेको छ ।