महाकाली नदी स्वच्छ राख्न सामूहिक संकल्प 

0
656
फाइल फोटोः महाकाली नदीको स्वच्छताका लागि हातमा नदीको पानी लिएर संकल्प गर्दै अभियानकर्मीहरु

दार्चुला, पुष १७ गते । 
महाकाली नदी स्वच्छ राख्न दार्चुला सदरमुकाम खलंगामा ‘पवित्र महाकाली स्वच्छता अभियान’ को सुरुवात गरिएको छ । सनातन धर्मावलम्बीहरूको आस्थाको धरोहर पवित्र महाकाली नदीको स्वच्छताका लागि सामुहिक संकल्प गरिएको ‘पवित्र महाकाली स्वच्छता अभियान’का संयोजक शंकर सिह धामीले बताउनुभयो ।



महाकाली नदीले हामीलाई स्वच्छ हावापानी, ढुङ्गा गिट्टी बालुवा लगायत नदी जन्य पदार्थ दिने मात्रै नभई यसले देशको सीमा सुरक्षा समेत गरेको उहाँको भनाई छ ।
‘प्रकृतीबाट अनुपम, अद्धितिय सम्पदा पाएका छौ, समयमै यसको संरक्षण गर्नु आवश्यक छ’ धामीले भन्नुभयो । 


हाल महाकाली नदी सरसफाईका प्रमुख चुनौतीहरू नदी किनारमा दिशा, पिसाब गर्ने, फोहोरमैला जथाभावि फाल्ने, सिसाका बोतलहरु नदीमा फाल्ने लगायत रहेका छन् । महाकाली नदी पवित्र हो भन्ने चेतनाको कमी तथा सम्मान भाव नभएकाले फोहोर गर्ने समस्या रहेको छ । महाकाली नदीप्रतिको सम्मानभाव जगाउनु आजको आवश्यकता रहेको संयोजक धामीले बताउनुभयो । 


केही बर्ष पहिले दार्चुला सदरमुकाम खलंगाका स्थानीयले महाकाली नदीको पानी पिउने गरेको स्थानिय राजेन्द्र अवस्थीले बताउनुभयो । बढ्दो सहरीकरणले महाकाली नदी पनि फोहोर हुनै गइरहेकाले यसको स्वच्छताका लागि समयमै सजग हुनु आवश्यक रहेको उहाँको भनाई छ । 


दार्चुला सदरमुकाम भन्दा माथिल्लो क्षेत्रमा महाकाली नदीमा फोहोर फाल्ने प्रबृती कम छ । दार्चुला सदरमुकाम क्षेत्र महाकाली नदी फोहोर गर्ने पहिलो विन्दु हो । 


पवित्र महाकाली स्वच्छता अभियान’ले शनिबार दार्चुला सदरमुकाम स्थित महाकाली नदी किनारमा गरेको भेलामा झण्डै ३० जनाले नदीको पानी हातमा लिएर नदी स्वच्छ राख्ने संकल्प लिएका छन् । महाकाली नदी नेपाल र भारतको सीमा नदी भएकाले दुबै देशका स्थानियहरु सचेत भएका नदी स्वच्छ रहनेमा सहभागि एकमत रहेका छन् ।