नरजन तामाङ, हुम्ला ।
कर्णाली करिडोर अन्तर्गत कालीकोटको खुलालुदेखि हुम्लाको सल्लीसल्लासम्मको १२३ किलोमिटर सडक कालोपत्र हुने भएको छ।
१२३ किलोमिटर दुरी सडकको ट्र्याक निर्माण भएसँगै अब कालोपत्र सडक स्तरोन्नतिका लागि बहुवर्षीय ठेक्का सहमति भएको कर्णाली करिडोर बाजुराले जनाएको छ।
खुलालुदेखि कोट १३ किलोमिटर, भुक्काखोलादेखि बाजुरा पिलुचौरसम्म १५ किलोमिटर र हुम्लाको तुम्चदेखि सल्लीसल्लासम्म १३ किलोमिटर सडक कालोपत्र गर्न ३ अर्ब १५ करोड रुपैयाँ बराबरको बहुवर्षीय ठेक्का सहमतिका लागि अर्थ मन्त्रालयमा माग गरिएको थियो ।
उक्त खण्डको स्रोत सुनिश्चित भएको र ४१ किलोमिटर सडक ठेक्का चाँडै व्यवस्थापन गरिने कर्णाली करिडोर बाजुराका योजना प्रमुख बिसुनदास लामाले जानकारी दिए।
खुलालु-सल्ली खण्डकाे ३५ किलोमिटर ग्राबेल सडकको स्तरोन्नति भइसकेको र घाटाचाैरदेखि भुक्का खाेलासम्म १४ किलाेमिटर सडकको नेपाली सेनाले कडा चट्टान फाेडिसकेकाे याेजना प्रमुख लामाले बताए ।
१४ किलोमिटर कडा चट्टानी भागको प्रतिवेदन नेपाली सेनाले बुझाएपछि मात्रै कालाेपत्रे तथा स्तराेन्नतिका लागि ठेक्का व्यवस्थापन गरिने कर्णाली करिडाेर बाजुराका याेजना प्रमुख लामाले अनलाइनखबरसँग बताए ।
पिलीचौरदेखि कुबाडी २३ किलोमिटर (बाजुरा जिल्लामा) र कुवाडीदेखि तुम्चा (हुम्ला जिल्लामा) २७ किलोमिटर सडक कालोपत्रे गर्न ठेक्का व्यवस्थापन भई काम सुरु भइसकेको समेत याेजना प्रमुख लामाकाे भनाइ छ।
भाैतिक प्रगति करिब १७ प्रतिशत रहेकाे र यस आर्थिक वर्षमा २४ कराेड खर्च भइसकेकाे उनले बताए।
१५ पुलमध्ये ९ पुल निर्माणाधीन अवस्थामा
कर्णाली करिडोर सडक खण्डमा १५ वटा पुलमध्ये ९ वटा पुल निर्माणाधीन र ६ वटा पुलको बजेट सुनिश्चित भएको छ ।
६ वटा पुल निर्माणका लागि ६२ करोड बजेट सुनिश्चित भएको कर्णाली योजना प्रमुख लामाले बताए ।
भुक्काखाेला, सेराखाेला र बाँधुखाेला, तुसारेखाेला, पैमा खाेला, मकै खाेला गरी ६ वटा पुल निर्माणका लागि बहुवर्षीय ठेक्का सहमतिकाे लागि अर्थ मन्त्रालयमा माग गरिएकाेमा सुनिश्चित भएकाे याेजना प्रमुख लामाले बताए।
’यस वर्षको अन्त्यसम्म केही पिलीचौर-कुवाडी खण्डको केही भागमा कालोपत्रे गर्ने लक्ष्यका साथ अगाडि बढेका छौं,’ याेजना प्रमुख लामाले भने।
(अनलाइनखबर डटकमबाट साभार)








