सहुलियत दरको चामल बिक्री रोकियो

0
16

दार्चुला, असार २१ गते ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दार्चुलामा बिक्री गर्दैआएको सहुलियत दरको चामल बिक्री कार्य शुक्रवारदेखि रोकिएको छ । निर्धारित परिमाणमा चामल बिक्री भइसकेकोले खलंगा र खण्डेश्वरीमा सहुलियत दरको चामल बिक्री रोकिएको कम्पनीले जनाएको छ ।
सरकारी स्वामित्वको खाद्य कम्पनीले दार्चुलामा ५ सय क्वीन्टल चामल सहुलियत दरमा बिक्रीवितरण गर्न सुरु गरेको थियो । असार १२ देखि सुरु भएको बिक्री कार्य शुक्रवारसम्म चलेको दार्चुलास्थित कम्पनीको शाखा कार्यालयले जनाएको छ ।
खलंगास्थित कम्पनीको कार्यालय र अपीहिमाल गाउँपालिकाको केन्द्र खण्डेश्वरीमा रहेको डिपो कार्यालय गरी दुईस्थानमा सहुलियत दरको चामल बिक्री गरिएको थियो । अरुवा मोटो चामल र स्टिम जिरा मसिनो चामलमा प्रतिकिलो १० रुपैयाँ छुट दिएर बिक्री थालिएको थियो ।
सहुलियतपछि मोटो चामल प्रतिकिलो ४६ रुपैयाँ र जिरा मसिनो चामल प्रतिकिलो ७४ रुपैयाँमा बिक्री गरिएको कम्पनीका दार्चुला शाखा प्रमुख हर्कराज उपाध्यायले बताउनुभयो । २५ किलोग्रामको बोरामा मोटो चामल ११ सय ५० रुपैयाँ र स्टिम जिरा मसिनो चामल १८ सय ५० रुपैयाँमा उपभोक्तालाई बिक्री गरिएको उहाँले बताउनुभयो ।
निर्धारित परिमाणमा सहुलियत दरको चामल बिक्री पूरा भएपछि कम्पनीको केन्द्रीय सर्कुलर अनुसार बिक्री रोकिएको उहाँको भनाइ छ । अब मसिनो चामल प्रतिकिलो ८४ रुपैयाँ र मोटो चामल प्रतिकिलो ५६ रुपैयाँमा बिक्री हुनेछ ।
खाद्य कम्पनीको बिक्री वितरण विभागले छोटो समयका लागि सहुलियत दरमा चामल बिक्री खुल्ला गर्न जिल्लास्तरमा सर्कुलर गरेको थियो । दार्चुलामा सहुलियत दरको चामल बिक्री गर्न ५ सय क्वीन्टलको कोटो तोकिएको थियो ।
चामलको मूल्य प्रतिकिलो १० रुपैयाँ सस्तो भएपछि उपभोक्ताहरुको भीड लागेको थियो । खलंगा र खण्डेश्वरी दुबै स्थानमा चामल खरिद गर्ने उपभोक्ता बढेकाले शुक्रवार नै निर्धारित कोटा सकिएको कम्पनीको शाखा कार्यालयले जनाएको छ । कम्पनीको केन्द्रीय कार्यालयले सहुलियत दरको चामल बिक्रीवितरण शनिवारदेखि बन्द गर्न सर्कुलर गरेको थियो ।
दार्चुलाभरी १८ स्थानमा खाद्य कम्पनीले बिक्री केन्द्रहरुमार्फत चामल वितरण गर्दैआएको छ । सहुलियत दरको चामल भने खाद्य कम्पनीका आफ्नै कर्मचारी संयन्त्र भएको खलंगा र खण्डेश्वरीबाट बिक्री गरिएको छ । अन्य स्थानमा स्थानीय तह र वडा कार्यालयहरुसंगको सहकार्यमा बिक्री केन्द्र सञ्चालनमा छन् ।
दैनिक कारोबारको व्यवस्थापन गर्नुपर्ने भएकाले बिक्री केन्द्रहरुमार्फत सहुलियत दरको चामल बिक्री गर्न नसकिएको खाद्य कम्पनीका दार्चुलास्थित कार्यालयले जनाएको छ । खाद्य बिक्री केन्द्रहरुको सञ्चालन तथा व्यवस्थापन स्थानीय तह र सम्बन्धित वडा कार्यालयहरुबाट हुँदैआएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here