दुइ वर्षमा बनाउनुपर्ने मोटरपुल आठ महिनामै तयार

0
44

दार्चुला, असार ३० गते ।
विकास निर्माणका कार्यहरुमा ढिलासुस्ती भएको जताजतै सुनिन्छ । समयमै निर्माण कार्य हुननसकेका र वर्षौसम्म ठेक्काहरु अलपत्र खबर पनि आइरहन्छन् । तर दार्चुलाको मालिकार्जुन गाउँपालिकामा दुई वर्षमा बनाउनुपर्ने मोटरपुल आठ महिनामै तयार गरिएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा मेलखेत–लेट्ठेखोलामा मोटरपुल निर्माण गरिएको हो । पूर्वाधार विकास कार्यालय बैतडीको व्यवस्थापनमा निर्माण गरिएको पुलको सबै संरचना तयार भएको छ ।
मोटरपुल निर्माणका लागि ग्वाल्लेक–मोहित जेभी बैतडीले २०८२ असार २२ मा सम्झौता गरेको थियो । २०८४ असार १५ गतेभित्र निर्माण गरिसक्नेगरी पुल निर्माणको सम्झौता गरिएको थियो । तर निर्माण कम्पनीले पुल निर्माण थालेको आठ महिनामा पुलको संरचना तयार गरेको हो ।
गत भदौं–असोजदेखि निर्माण सुरु गरिएको मोटरपुल निर्माण अन्तिम चरणमा पुगेको कम्पनीका प्राविधिक माधव सिंह धामीले बताउनुभयो । भ्याटसहित ४ करोड ६६ लाख ११ हजार २०८ रुपैयाँ ११ पैसामा मोटरपुल निर्माण गर्ने सम्झौता थियो । पुलको लम्बाई २५ मिटर रहेको छ ।
मोटरपुल निर्माणमा ९७ प्रतिशत भौतिक प्रगति भएको पूर्वाधार विकास कार्यालयका इन्जिनियर जितेन्द्रसिंह धामीले बताउनुभयो । निर्माण कम्पनीले छोटो समयमै पुल तयार गरेकोमा स्थानीयवासी पनि खुशी छन् ।
मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ८ र २ को भूगोल जोड्नेगरी मोटरपुल निर्माण गरिएको हो । पुलको निर्माणपछि मेलखेतबाट सेलिचामा–खुना हुँदै मालिकार्जुन जोड्ने छोटो र वैकल्पिक सडकको प्रयोग बढ्नेछ । मालिकार्जुनबाट शंकरपुर–धामीगाडा हुँदै मेलखेत जोड्ने महाकाली लोकमार्गको विकल्पको रुपमा मेलखेत–सेलिचामा–खुना–मालिकार्जुन सडक रहेको छ ।
मोटरपुल निर्माण क्षेत्रमा रंगरोगन र खोला किनार संरक्षणको अन्तिम कार्य गर्न बाँकी रहेको पूर्वाधार विकास कार्यालयका सुचना अधिकारी एवं इन्जिनियर नृपराज जोशीले बताउनुभयो । पुल निर्माण कार्यमा चालू वर्षमै ९५ प्रतिशत सम्झौताअनुसारको रकम भुक्तानी समेत भइसकेको उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here