टिंकर नाका तेस्रो पटक खुल्यो

0
44

दार्चुला, असार २९ गते ।
नेपाल–चीन जोड्ने टिंकर नाका तेस्रो पटक सोमबार खुलेको छ । व्यासक्षेत्रका व्यापारीहरु टिंकर नाका भएर चीनको ताक्लाकोट प्रवेश गरेका छन् ।
सोमबार टिंकर नाकाबाट २९ जना ताक्लाकोटतर्फ गएका छन् । तिंकरको छियालेकस्थित इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरीको विओपीले ताक्लाकोट प्रवेश गर्नेहरुको अभिलेख राखेको छ । ताक्लाकोट गएकामध्ये १२ महिला र १७ पुरुष छन् ।
व्यापारका लागि ताक्लाकोट जानेहरुमा अधिकांश व्यास गाउँपालिका–१ छाङरु र तिंकर गाउँका वासिन्दा छन् । यसवर्ष नाका खुलेको यो तेस्रो पटक हो । यसअघि असार ९ मा पहिलोपटक र असार १७ गते दोस्रो पटक नाका खोलिएको थियो ।
चीनिया पक्षले नाका खोलेपछि नेपाली व्यापारीहरु ताक्लाकोट जान पाउँछन् । सोमबार १२ महिलासहित २९ जना टिंकर नाका भएर ताक्लाकोट गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
सोमबार ताक्लाकोटतर्फ गएकामध्ये तिंकर गाउँका मात्रै १९ जना छन् । केही छाङरु गाउँका र दार्चुलाकै अन्य भूगोलका व्यापारी पनि ताक्लाकोट गएका छन् । एक सयभन्दा बढी घोडाखच्चर र झुपुमा सामानसहित व्यापारीहरु ताक्लाकोटतर्फ गएका हुन् ।
टिंकर भञ्ज्याङ चढेर चीनिया भूभागतर्फ एक घण्टा ओरालो हिडेपछि चीनिया सुरक्षाकर्मीको चेकपोष्टमा पुगिन्छ । सामान ढुवानीका लगिएका घोडाखच्चर र झुपुहरु यसै सुरक्षा चेकपोष्टबाट फर्किन्छन् ।
छियालेकस्थित सशस्त्र प्रहरीको विओपी र इलाका प्रहरी कार्यालयमा विहान ४ बजेदेखि नै इन्ट्री गराएर व्यापारीहरु ताक्लाकोटतर्फ गएका थिए । सोमबार विहान मौसम सफा भएकोले ताक्लाकोट गएका व्यापारीहरुलाई टिंकर भञ्ज्याङ चढ्न सहज भएको छियालेकस्थित सुरक्षाकर्मीले बताएका छन् । ‘मौसम बदली हुँदा पानी र हिमपात हुन्छ तर आज विहान मौसम सफा थियो’ छियालेकमा कार्यरत एक सुरक्षाकर्मीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here