मालिकार्जुन गाउँपालिका अध्यक्ष विरुद्ध अख्तियारमा उजुरी

0
1535

कालापानी न्युज, दार्चुला । कोरोना भाइरसको जोखिम बढी रहेका बेला मालिकार्जुन गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षबीच
आरोप प्रत्यारोप लगाउने कार्य चर्किदै गएको छ ।
उपाध्यक्षले विभिन्न ८ बुदाँमा प्रशासनलाई जानकारी पत्र दिएका थिए । त्यसको लगत्तै गाउँपालिका अध्यक्ष नरेन्द्र सिंह धामीले उपाध्यक्ष पुष्पा अवस्थीको ८ बुँदे आरोपको ७ बुँदे खण्डन गरि पत्रकार सम्मेलनको आयोजना गरेका थिए ।
उपाध्यक्षले जेठ ५ गते जिल्ला प्रशासनलाई जानकारी लेखेपछि गाउँपालिका अध्यक्षले जेठ ६ गते जिल्ला सदरमुकाम खलंगा क्षेत्रममा पत्रकार सम्मेलनको आयोजना गरि उपाध्यक्षले लगाएको आरोप अध्यक्ष धामीले खण्डन गरेका थिए ।
अध्यक्ष धामीले खण्डनका लागि पत्रकार सम्मेलन गरेको ६ दिन पश्चात् सोमबार उपाध्यक्ष अवस्थीले पत्रकार सम्मेलन गर्दै अध्यक्षको ७ बुँदे खण्डनलाई उपाध्यक्ष अवस्थीले पाँच बुदे खण्डन गरेका छन् ।
अध्यक्ष धामीले उपाध्यक्ष गाडीले चढ्ने रहरले उजुरी दिएको, आफ्नो मान्छेलाई कार्यालय सहयोगी नियुक्त गर्न भनिएको र नमान्दा उजुरी दिएको, महेन्द्रनगरबाट आएर क्वारेन्टाइनमा नबसेको, कर्मचारीहरुको मनोबल गिराएको र राष्ट्रपति रनिङ सिल्ड छनौट प्रतियोगिता सम्बन्धी उपाध्यक्ष अवस्थीले खण्डन गरेका छन् ।
गाडीको सम्बन्धमा उपाध्यक्ष अवस्थीले अध्यक्षलाई एकपक्षीय रुपमा सम्झौता किन रद्द गर्नु भएको भनेर सोध्दा अध्यक्षले आफ्नो अधिकारको कुरा भन्ने जवाफ दिएको उल्लेख गरिएको छ । उपाध्यक्ष अवस्थीले आफूले उठाएको बुँदाहरुमा छलफल नै नगरि पत्रकार सम्मेलनबाट पन्छिन खोजेको आरोप समेत लगाएका छन् ।
कार्यालय सहयोगी नियुक्ती सम्बन्धमा वडा नम्बर २ को सेलिचामा बस्तीमा सञ्चालित स्वास्थ्य इकाई केन्द्रमा कार्यालय सहयोगी नियुक्त गर्नुप¥यो भन्दा लकडाउनको समयमा नियुक्त गर्न नमिल्ने जवाफ अध्यक्षले दिएको उहाँले बताउनु भयो । यस्तो जवाफ दिएका अध्यक्ष धामीले लकडाउनकै समयमा आफू कार्यालयमा नभएको बेला शंकरपुर स्वास्थ्य केन्द्र पस्तीमा ल्याब असिस्टेन्टमा आफ्नै नाता पर्ने व्यक्तिलाई नियुक्त गरेको आरोप लागेको छ । अध्यक्ष धामीले सेलिचामा कर्मचारी नियुक्त गर्न लकडाउन भने पनि लकडाउनकै बेला पस्तीमा आफन्तलाई नियुक्त गर्ने नियत ठिक नभएको उपाध्यक्ष अवस्थीको आरोप छ ।
आफू क्वारेन्टाइनमा नबसेको भन्ने सन्दर्भमा आफू महेन्द्रनगरको गाउँको घर गएको र एक जनाको पास बनाई दार्चुला फर्किएको उहाँले बताएका छन् । सवारी पासका लागि अध्यक्षलाई अनुरोध गरेपनि सिफारिस नै नदिएर असहयोग गरेको उपाध्यक्षको गुनासो छ ।
आफ्नै घरबाट फर्किदा समेत के क्वारेन्टाइनमा बस्नुपर्छ र ? भनि उहाँले प्रश्न गरेका छन् । क्वारेन्टाइनमा बस्नुपर्ने भए गाउँपालिकामा पदाधिकारीहरु यसअघि तराईबाट आएकाहरु सिधै कार्यपालिकाको बैठकमा उपस्थित भएको स्मरण गराएका छन् । साथै जिल्ला स्थित कार्यालयका उच्च ओहोदाका कर्मचारी सरुवा भएर आएको र उनीहरु पनि के क्वारेन्टाइनमा बसेका छन् ? उपाध्यक्षले प्रश्न गरेका छन् ।
कर्मचारीहरुको मनोबल आफूले नगिराएको दाबी गर्दै कुनै कर्मचारीले आफ्नो मर्यादा बिपरित अध्यक्षको निर्देशनमा एक पक्षीय किसिमले काम गर्छन् भने निजलाई सोधपुछ गरी अनियमित कामकाज गर्न नदिनु आफ्नो कर्तब्य भएको बताएका छन् ।
राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको खर्च सम्बन्ध्ीमा वडा नम्बर ४ का वडाध्यक्ष चक्रसिंह धामीको संयोजक भएको भन्दै खर्च सम्बन्धी जिम्मेवारी वडाध्यक्षकै भएको भन्ने कुराको समेत खण्डन गरेका छन् । वडा नम्बर ४ का वडाध्यक्ष धामी समिति संयोजक नभई उपसमिति संयोजक भएको र खर्चको जिम्मेवारी गाउँपालिका अध्यक्षका भतिजा पर्ने कम्प्युटर अपरेटर गोबिन्द सिंह धामीको जिम्मेवारी दिइएको र पेश्की पनि उनकै नाममा दिइएको स्पष्ट पारेका छन् ।
साथै सामुदायिक ग्रामीण विकास समाज नेपाल अन्तरगत पलह कार्यक्रमबाट प्राप्त मोटरसाइकल रातो नम्बरप्लेट राखि कम्प्युटर अपरेटर गोबिन्द धामीले प्रयोग गरिरहेको र मोटरसाइकलको कागजपत्रहरु कार्यालयमा बुझाई सेतो प्लेट राख्ने काम हालसम्म नभएको आरोप उहाँको छ । साथै गाउँपालिका अध्यक्ष नरेन्द्र सिंह धामी, प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थी तथा अन्य कर्मचारीहरु जेठ १० गते बिहान चोरको शैलीमा पछाडीको ढोकाबाट कार्यालयमा प्रबेश गर्ने कार्य पनि शंको विषय बनेको उपाध्यक्षको भनाई छ ।
अध्यक्ष धामीलाई उक्त विषयमा छलफल गरि निकास दिन अनुरोध गर्दा जे गर्नुस् गर्नुस्, जहाँ जानुस् जानुस् भन्ने जस्ता जवाफ दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएको जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here