बंगाबगर क्षेत्रमा नेपालतर्फ महाकाली डाइभर्सन गरिदै

0
332

दार्चुला, माघ २२ गते ।
भारततर्फको तटबन्ध निर्माणका लागि दार्चुला सदमुकाम खलंगाको बंगाबगर क्षेत्रमा महाकाली नदी डाइभर्सन गरिदैछ । भारततर्फबाट नदी किनारमा तारजाली र ठूल्ठूला ढुंगा राखिदैछ भने नेपालतर्फको नदी किनारमा थुप्रिएको ढुंगामाटो हटाउने कार्य भइरहेको छ ।
दुई देशका सरोकारवालाहरुबीच भएको सहमतिका आधारमा निश्चित क्षेत्रमा नदी डाइभर्सन गर्न लागिएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताउनुभयो । दुई देशका प्रशासन, प्राविधिक र नागरिकस्तरमा भएको छलफल र सहमतिका आधारमा डाइभर्सनको काम गर्न दिइएको उहाँले बताउनुभयो ।
भारततर्फको घट्टेखोला क्षेत्रमा झण्डै २ सय मिटर लामो भूभागमा नदी डाइभर्सन गर्न लागिएको छ । दुबैतर्फको समन्वयमा नदी डाइभर्सनको कार्य भइरहेको महाकाली नदी नियन्त्रण आयोजनाका इन्जिनियर केशवप्रसाद शर्माले बताउनुभयो । ‘जिल्ला प्रशासनको नेतृत्व र समन्वयमा हामीले काम गर्दैछौ, नेपालतर्फ १५ मिटर चौडाइको क्षेत्रमा नदी किनार खाली गराउदैछौ’ उहाँले भन्नुभयो ।
घट्टेखोला क्षेत्रमा महाकालीको वहाव भारततर्फको पुरानो तटबन्ध संरचनामा ठोक्किएको छ । करिब १ सय ५० मिटर लामो क्षेत्रमा नदीको वहाव भारततर्फको पुरानो तटबन्ध संरचनामा ठोक्किएकाले नदीको वहाव परिवर्तन गर्ने प्रयास भइरहेको छ ।
घटट्ेखोला क्षेत्रमा महाकाली नदीको वहाव करिब २५ मिटर चौडाक्षेत्रमा फैलिएको छ । नेपालतर्फको ढुंगामाटो हटाएर थप १५ मिटर चौडा बनाउने गरी अहिले काम भइरहेको छ । नेपालतर्फ अहिलेसम्म एउटा स्काइभेटर मेसिनले मात्रै काम गर्दैआएकोमा शुक्रवारदेखि अर्को स्काइभेटर मेसिन पनि थपिएको छ ।
भारतीय पक्षबाट र गृह मन्त्रालयबाट नेपालतर्फको ढुंगामाटो चाँडो हटाउन प्रशासनलाई दबाव आएको स्रोतले बतायो । ‘भारततर्फको तटबन्ध संरचना निर्माण कार्य त्यहीक्षेत्रमा गर्न बाँकी रहेकोले दबाव बढिरहेको छ, नेपालतर्फ जतिसक्दो चाँडो ढुंगामाटो हटाउन सकियो, त्यतिचाँडो भारततर्फको निर्माण अगाडि बढ्ने अवस्था छ’ जिल्ला प्रशासन स्रोतको भनाई छ ।
नेपालतर्फको ढुंगामाटो नहटाउदा भारततर्फको तटबन्ध निर्माण सम्भव नै देखिदैन । त्यसैले भारतीय पक्षले प्रशासनिक, प्राविधिक र नागरिकस्तरबाट नेपाली पक्षलाई रिझाउने प्रयास गर्दैआएको छ । राजनीतिकस्तरमा समेत यसबारे पहल गरिएको छ । केही हप्ताअघि धारचुला क्षेत्रका विधायक हरिश धामीले काठमाण्डौ र धनगढी भ्रमण गरेर केन्द्रीय तथा प्रदेशस्तरका नेताहरुसंग तटबन्ध निर्माणमा सहयोग र समन्वय गर्न अनुरोध गरेका थिए ।
‘भारततर्फको तटबन्ध निर्माणमा कुनै अवरोध गर्ने नियत कसैको छैन तर नेपाल तर्फको जोखिमलाई ध्यान दिनैपर्छ’ बंगाबगर क्षेत्रका स्थानीय वासिन्दा समेत रहनुभएका राप्रपा नेपालका जिल्ला अध्यक्ष वीरसिह बडालले भन्नुभयो ।
पुलघाटदेखि घट्टेखोलासम्मको क्षेत्रमा तटबन्धको संरचना बनिसकेको र जग निर्माण भइसकेको क्षेत्रमा थुप्रिएको ढुंगामाटो भारतीय पक्षले हटाउनुपर्ने माग नेपाली पक्षले गर्दैआएको छ । मंसिर तेस्रो साता ढुंगा हानाहान भएपछि बसेको दुइ देशका अधिकारीहरुको बैठकमा १० दिनभित्र भारततर्फको ढुंगामाटो हटाइसक्ने सहमति गरिएको थियो । तर, अहिलेसम्म पनि तटबन्ध निर्माण भइसकेको क्षेत्रमा थुप्रिएको ढुंगा र माटो हटाइएको छैन ।
तटबन्धको जग र संरचना निर्माण भइसकेको क्षेत्रको ढुंगामाटो हटाउन नेपाली पक्षले लगातार भारतीय पक्षलाई आग्रह गर्दैआएको महाकाली नदी नियन्त्रण आयोजनाका प्रमुख मनोहरकुमार साहले बताउनुभयो । ‘यसका लागि भारतीय पक्षलाई धेरैपटक भनिसकेका छौ, फाउन्डेशनको काम भइसकेको र तटबन्धको संरचना उठिसकेको क्षेत्रमा थुप्रिएको ढुंगामाटो नहटाउदा नेपालतर्फ जोखिम रहिरहन्छ’ उहाँले भन्नुभयो ।
घट्टेखोला क्षेत्रमा तटबन्ध निर्माणका लागि नदी डाइभर्सन गर्न नेपाली पक्षले सहयोग गरेको र भारततर्फ थुप्रिएको ढुंगामाटो हटाउनमा भारतीय पक्षले सहयोग गर्नुपर्नेमा प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जोड दिनुभयो । ‘आपसी समन्वय र सहमतिमा दुबैतर्फको वस्तीलाई सुरक्षित बनाउने काम गरिरहेका छौ, सहमतिअनुसार भारततर्फ थुप्रिएको ढुंगामाटो तत्काल हटाउन हामी सक्रिय भएर लाग्छौ’ प्रजिअ उपाध्यायले भन्नुभयो ।
महाकाली डाइभर्सन गर्दा राखिएका ठूल्ठूला ढुंगा र तारजाली पनि तटबन्ध निर्माण लगत्तै भारतीय पक्षले हटाउने प्रजिअ उपाध्यायको भनाई छ । ‘दुबै पक्षबीच भएको सहमति इमान्दारिताका साथ कार्यान्वयन हुन्छ, यसका लागि थप समन्वय हामी गर्छौ’ उहाँले भन्नुभयो ।
भारतको धारचुलास्थित रं कल्याण संस्थाका अध्यक्ष एवं भाजपा धारचुला मण्डल अध्यक्ष कृष्णा गब्र्याल दुइ देशको सहमतिअनुसार भारततर्फको ढुंगामाटो हटाइने बताउनुहुन्छ । ‘तटबन्धको संरचना निर्माणमा ढुंगामाटो प्रयोग हुन्छ, सहमतिअनुसार भारततर्फको ढुंगामाटो हटाइन्छ’ उहाँले भन्नुभयो । दुई देशका प्रशासन र नागरिक बीचको आपसी हित र समझदारीको विषयमा आशंका नगर्न पनि उहाँले आग्रह गर्नुभयो ।