धार्चुलाका उप जिल्ला अधिकारी भन्छन्ः सीमापुल पिथौरागढका डिएमको निर्देशन पछि खुल्छ

0
1011
भारताको धार्चुलाका एसडिएम अनिल कुमार शुक्ला

दार्चुला, माघ १७ गते ।
नेपालको मन्त्री परिषदको बैठकले शुक्रबार देखि दार्चुला र भारतको धार्चुला जोड्ने सीमा नियमित रुपमा खोल्ने निर्णय गरेको भएपनि शनिबार सम्म सीमा खुल्न सकेको छैन । नाका खोल्न सहजीकरणका लागि भारतको धार्चुला तहशिलका एसडीम अनिल कुमार शुक्ला र पिथौरागढ जिल्लाका डिएम डा. विजय कुमार जोगदण्ड लाई  शुक्रबार नै पत्राचार गरेको जिल्ला प्रशासन कार्यालय दार्चुलाका साहयक प्रमुख जिल्ला अधिकारी जोत्सना भट्ट जोशीले जानकारी दिनुभयो ।  भारतीय पक्षले हाल सम्म सीमानाका खोल्ने विषयमा निर्णय नगर्दा नियमित रुपमा सीमा खुल्न सकेको छैन ।


भारतको धार्चुलाका एसडिएम अनिल कुमार शुक्लाले पिथौरागढ जिल्ला अधिकारीलाई पुल नियमित खोल्ने विषयमा पत्राचार गरेको बताउनुभएको छ । भारतीय पत्रकारहरुलाई प्रतिकृया दिदै शुक्लाले नाका नेपालको तर्फबाट मात्रै बन्द भएको र हाल नेपालले नाका खोलिसकेको अवस्था भएकाले डिएम विजयकुमार जोगदण्डेको निर्देशन अनुसार भारतले पनि नाका खोल्ने बताएका छन् । “मैले नेपाली प्रशासनबाट आएको पत्रको ब्यहोरा जिल्ला अधिकारीलाई पठाएकोछु, जिल्ला अधिकारीले सीमा खोल्ने विषयमा निर्णय लिन्छन्” उहाँले भन्नुभयो ।
धार्चुला तहशिलका उप जिल्ला अधिकारी अनिल कुमार शुक्लाले माघ १६ गते शुक्रबार पिथौरागढ जिल्ला अधिकारी विजयकुमार जोगदण्डेलाई सीमापुल खोल्नेबारे आवस्यक निर्देशन दिन पत्राचार गरेका छन् ।


भारतको धार्चुलाका ब्यापारी र जनप्रतिनिधिले लामो समय देखि नेपाल–भारत जोड्ने पुल माग गरिरहेको अवस्थामा माग अनुसार नेपालले हाल नाका नियमित खोल्ने निर्णय गरेको शुक्लाको भनाई छ ।

भलिबल प्रतियोगिताका लागि दैनिक तीन घण्टा सीमापुल खुल्ने

नियमित सीमा खोल्न सहजिकरणका लागि जिल्ला प्रशासन कार्यालय दार्चुलाले शुक्रबार गरेको पत्रको भारतीय स्थानिय प्रशासनले हाल सम्म जवाफ नदिएको साहयक प्रमुख जिल्ला अधिकारी जोत्सना भट्ट जोशीले जानकारी दिनुभयो । नियमित रुपमा पुल खुल्ने पत्रको जवाफ नआएपनि माघ १७ देखि २२ सम्म दैनिक दुई घण्टा सीमा खोल्न भारतीय पक्षले पत्राचार गरेको उहाँले बताउनुभयो । धार्चलामा कैलाश रावत भलिबल प्रतियोगिता सञ्चालमा रहेकाले फेब्रुअरी ४ तारेख अर्थात माघ २२ गते सम्म विहान ९ बजे देखि ११ बजे सम्म र साझँ ५ बजे देखि ६ बजे सम्म गरि दैनिक तीन घण्टा सीमा पुल खोल्न धार्चुला तहशिलले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्राचार गरेको छ । भलिबल प्रतियोगितामा नेपालका खेलाडी र दर्शकहरु भारत आउने भएकाले सीमा पुल खोल्न भारतको धार्चुलाका विधायक हरिष सिह धामीले धार्चुला तहशिललाई पत्राचार गरेका थिए । नेपालबाट भारत प्रबेश गर्नेहरुलाई कोरोना प्रोटोकल प्रयोग गराउन धार्चुला तहशिलले संयुक्त चिकित्सालय धार्चुलालाई पत्राचार गरेको छ । भने भारत प्रबेश गर्नेहरुलाई एक–एक गरेर छोड्न भारतीय सशस्त्र सीमाबललाई पत्राचार गरेको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले पनि माघ १७ गते देखि २२ गते सम्म पुल खुल्ने विषयमा सूचना जारी गरेको छ । छ दिन सम्म नेपाली समय अनुसार विहान ९ः१५ बजे देखि ११ः१५ बजे सम्म र बेलुकी ५ः१५ देखि ६ः१५ बजे सम्म नेपाल भारत जोड्ने खलंगा स्थित सीमा पुल खुल्ने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

यो पनि पढ्नुहोसः भारत संगको नाका खोल्ने मन्त्री परिषदको निर्णय भारतीय प्रशासनले अड्कायो