भारत संगको नाका खोल्ने मन्त्री परिषदको निर्णय भारतीय प्रशासनले अड्कायो

0
865
नेपाल भारत जोड्ने दार्चुला सदरमुकाम खलंगा स्थित पुल

बिरा दत्त भट्ट
दार्चुला, माघ १६ गते । दार्चुलाको नेपाल भारत जोड्ने सीमानाका नेपाल सरकारको मन्त्री परिषदले शुक्रवार देखि खोल्ने निर्णय गरेपनि भारतीय प्रशासनले स्विृकति नदिदा नियमित नाका खुल्न सकेन । कोरोना प्रभावले २०७६ चैत्र ११ गते देखि नेपाल सरकारले अन्र्तराष्टिय सीमानाका बन्द गर्ने निर्णय गरेको थियो । सोहि अनुसार नेपाल भारत जोड्ने दार्चुलाका सबै सीमापुलहरु बन्द गरिएका थिए । निश्चीत समयका लागि सीमापुलहरु खोलिएपनि नियमित खोलिएको थिएन ।

पछिल्लो समय कोरोनाको प्रभाव केहि कम भएको भन्दै सरकारले शुक्रबार देखि देशभरका ३० सीमानाका सहित दार्चुलाको खलंगा स्थित नेपाल भारत जोड्ने सीमापुल पनि खोल्ने निर्णय गरेको छ । तर भारतको स्थानिय प्रशासनले स्विकृती नदिदा शुक्रबार नियमित झै सीमापुल खोल्न नसकिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका साहयक प्रमुख जिल्ला अधिकारी जोत्साना भट्ट जोशीको भनाई छ । मन्त्री परिषदको निर्णय अनुसार सीमानाका खोल्न सहजिकरण गरिदिन भनि भारतको पिथौरागढ जिल्लाका डिएम र धार्चुला तहशिलका एसडिएमलाई पत्राचार गरेपनि दिनभरि पत्रको कुनै जवाफ नआएको साहयक प्रमुख जिल्ला अधिकारी भट्टको भनाई छ । “हाम्रो तर्फबाट सीमा पुल खुला भईसक्यो, भारतको सम्बन्धित स्थानिय प्रशासनहरुमा पनि पत्राचार गरिसकेका छौ, उता पनि छलफल भएर जवाफ आउँछ होला” साहयक प्रमुख जिल्ला अधिकारी भट्ट जोशीले भन्नुभयो ।

शुक्रबार २ घण्टा मात्रै खुल्यो सीमापुल

मन्त्री परिषदको निर्णय अनुसार नियमित खुल्ने भनिएको खलंगा स्थित नेपाल भारत जोड्ने सीमापुल शुक्रबार दुई घण्टा मात्रै खुलेको छ । विहान १० बजे देखि ११ बजे सम्म र अपराहन्न ४ बजे देखि ५ बजे सम्म दुई घण्टा सीमापुल खोलीएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एबं सूचना अधिकारी पुस्कर ऐरीले जानकारी दिनुभयो । केहि ब्यक्ति भारत जान र केहि ब्यक्ति नेपाल आउने प्रयोजनका लागि पुल खोल्न प्रशासनको निर्देशन अनुसार शुक्रबार दुई घण्टा सीमापुल खोलिएको प्रहरी निरीक्षक ऐरीले जानकारी दिनुभयो । “ नियमित खुलेको हैन, आवस्यक कामका लागि मात्रै खोलिएको हो, नियमित सीमा खोल्न भारतीय पक्षलाई पत्राचार भएकाले उता आवस्यक छलफल भएर थप जानकारी आउँछ होला” उहाँले भन्नुभयो ।