व्यास टावरबाट भारतीय क्षेत्रमा पनि सुविधा

0
1032

दार्चुला, असार १० गते ।
व्यास गाउँपालिकाको वडा नम्बर १ छाङरुको सर्जिकोट डाडामा रहेको स्काई मोबाइलको टावर सञ्चालनमा आएपछि सीमाक्षेत्रका हजारौं जनतालाई सुविधा भएको छ । छाङरु र तिंकर क्षेत्रका स्थानीयका साथै सीमावर्ती भारतीय वस्तीमा पनि टेलिकमको मोबाइल सुविधा पुगेको छ ।
सीमा नजिक महाकाली किनार क्षेत्रमा बसोवास गर्ने भारतीय नागरिक र सुरक्षाकर्मीले समेत नेपालको स्काई मोबाइल प्रयोग गर्दछन् । भारतको छियालेक र गव्र्याङमा बसोवास गर्ने नागरिकलाई समेत सञ्चार सुविधा पुगेको व्यासका स्थानीय बताउँछन् ।
व्यासको स्काई टावरबाट एक हजारभन्दा बढी मोबाइल नम्बरले सेवा पाएको टेलिकम दार्चुलाका प्रमुख कृष्णवहादुर गुरुङले बताउनुभयो । गतवर्षको हिउददेखि बन्द भएको मोबाइल टावर आइतवार साँझदेखि सञ्चालनमा ल्याइएको छ । एकपटकमा ६० देखि ७० जना प्रयोगकर्ताले मोबाइल सम्पर्क गर्न सक्ने क्षमता रहेको उहाँको भनाई छ ।
अतिक्रमित नेपाली भूमि गुञ्जीसम्म स्काई टावरले सुविधा पुगेको छ । छाङरु गाउँको सीमावर्ती गव्र्याङ वस्ती र गुञ्जीका स्थानीयलाई सहज रुपमा स्काई मोबाइलको सुविधा पुगेको छ । नेपालतर्फ भने छाङरु र तिंकरमा गरी २ सयको हाराहारीमा मात्रै मोबाइल प्रयोगकर्ता रहेका छन् ।
भारतको छियालेकमा भारतीय सेना, आइटिविपीको क्याम्प छ । गव्र्याङमा आइटिविपी र एसएसवी छ भने गुञ्जीमा सेना, आइटिविपी र एसएसवीका साथै उत्तराखण्ड प्रहरीको थाना पनि छ । सबै प्रकारका सुरक्षाकर्मीले नेपालको स्काई मोबाइल प्रयोग गर्ने गरेको छाङरुका एक स्थानीयले बताए ।
महाकाली किनारको बुँदी र गुञ्जी गाउँमा भारतीय सरकारी कम्पनी विएसएनएलको भिस्याट फोन भए पनि भरपर्दो र गुणस्तरीय नभएको स्थानीयको भनाई छ । भारतीय सुरक्षाकर्मीका सञ्चार सेटबाट तत्काल र जरुरी खवरहरु आदानप्रदान हुँदैआएको छ ।
‘नेपालको मोबाइल सेवाले छिमेकमा पनि सुविधा पुगेको छ, आवतजावतमा नेपालीले भारतको बाटो प्रयोग गर्छौ, उनीहरुले हाम्रो मोबाइल सेवा पाएका छन्’ छाङरुका एक अर्का वासिन्दाले भन्नुभयो । सीमावर्ती क्षेत्रमा एकअर्काको पूर्वाधार र व्यवस्थालाई उपभोग गर्न पाउदा दुबैतर्फको जनजीवन सहज भएको उहाँको भनाई छ ।
व्यासको स्काई टावरमा सौर्य ऊर्जा प्रणालीबाट विद्युत व्यवस्थापन गरिएको छ । घाम परेको दिन २४सै घण्टा मोबाइल टावर सुचारु हुने टेलिकम दार्चुलाका प्रमुख कृष्णवहादुर गुरुङ बताउनुहुन्छ । ‘टावर सञ्चालनमा ल्याइएपछि लगातार दुई दिन २४सै घण्टा टावरले काम गरेको छ, लगातार घाम नपरे मात्रै केही समय विद्युत अभाव हुनसक्छ’ उहाँले भन्नुभयो ।
नेपाल टेलिकमले स्याटेलाइट लिंकमार्फत व्यासमा स्काई मोबाइलको टावर सञ्चालन गर्दैआएको छ । व्यासक्षेत्रका सुरक्षाकर्मी, यार्सागुम्बा संकलक, भेडाबाख्रा चराउनेहरु र व्यापारीहरुलाई समेत व्यासको टावरबाट मोबाइल सुविधा पुगेको छ ।