दार्चुलामा कोरोना संक्रमण किन कम देखियो ?

0
987

दार्चुला, असार २३ गते ।
सुदूरपश्चिममा असार २३ गतेसम्म ३ हजार ५ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका दार्चुलाबाहेक सबै जिल्लामा संक्रमितको संख्या तीन अंक (थ्री डिजिट) मा पुगिसक्दा पनि दार्चुलामा भने २० मात्रै संक्रमित भेटिएका छन् । संक्रमित पुष्टि भएका सबैजना निको भएर घर पनि फर्किसकेका छन् । प्रदेशका अन्य जिल्लामा सयौंको संख्यामा संक्रमित भेटिदा दार्चुलामा भने किन कम देखियोे ? यो जिज्ञासा धेरैको मनमा छ ।
लकडाउनको सुरुवातीमा भारतबाट देश भित्रिनेहरुको दबाव दार्चुलामै सबैभन्दा पहिले देखिएको थियो । लकडाउन सुरु भएकै राती ७८ जना र चैत्र १४ गते २ सय २५ जनालाई दार्चुलामा अन्तर्राष्ट्रिय सिमानाका खुलाएर नेपाल भित्र्याइएको थियो । १ हजार २ सय ९६ जनालाई एक महिना भारतको धारचुलामा बसाएर वैशाख १८ गते दार्चुलाकै नाका भएर स्वदेश ल्याइएको थियो । स्वदेशकै मोटरबाटो भएर दार्चुला भित्रिनेहरुको संख्या पनि हजारौं छ । तर दार्चुलामा अपेक्षा र आशंका गरिएअनुसार कोरोनाको संक्रमण देखिएको छैन ।
लकडाउन अवधिभर दार्चुलाको अन्तर्राष्ट्रिय सिमानाका भएर २ हजार ४ सय २० जना नेपाल भित्रिएको जिल्ला प्रशासन कार्यालयको तथ्यांक छ । स्वदेशकै सडकमार्गबाट दार्चुला भित्रिनेको संख्या हजारौं छ । बाहिरबाट भित्रिएका सबैजसोलाई क्वारेन्टाइनमा राखिदा कोरोनाको संक्रमण नफैलिएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
‘स्थानीय तहहरुको व्यवस्थापनमा ८६ स्थानमा क्वारेन्टाइन सञ्चालन गरिए, बाहिरबाट आएका सबैजसोलाई अनिवार्य क्वारेन्टाइनमा राख्न हामी सफल भयौं’ स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले बताउनुभयो । क्वारेन्टाइनमा बसेका सबैजसोको आरडिटी र आवश्यकताअनुसार पिसिआर परीक्षण गरिएको उहाँको भनाई छ ।
‘अहिलेसम्मको तथ्यांक हेर्दा हामी सन्तोषजनक अवस्थामा छौ तर ढुक्क हुने अवस्था छैन’ जिल्लामा कोरोना नियन्त्रण गर्न समन्वय गरिरहेको स्वास्थ्य कार्यालयका प्रमुख भट्टले भन्नुभयो । ‘उपलब्ध स्रोतसाधनले अधिकतम परीक्षणको प्रयास गरेका छौ, अझै परीक्षण दायरा बढाउन सके वास्तविक अवस्था पत्ता लाग्छ’ उहाँले भन्नुभयो ।
सुदूरपश्चिम प्रदेशका दार्चुला बाहेकका जिल्लामा कोरोना संक्रमितको संख्या बढिरहेको छ । असार २३ गतेसम्म बैतडीमा २ सय ८३, बझाङमा १ सय ३९ र डडेल्धुरामा २ सय ६७ संक्रमित देखिएका छन् । बाजुरामा ३ सय ९०, कञ्चनपुरमा ४ सय २८, डोटीमा ५ सय १४ र अछाममा ५ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिममा सबैभन्दा बढी कैलालीमा ९ सय ५० जना संक्रमित छन् ।
सुदूरपश्चिम प्रदेशमा हालसम्म २५ हजार १ सय ८० को पिसिआर परीक्षण र १ लाख १५ हजार ८ सय ४३ जनाको आरडिटी परीक्षण गरिएको छ । मंगलवारसम्म ९ सय ४ जना संक्रमित निको भइसकेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।
निर्धारण मापदण्डअनुसार क्वारेन्टाइन सञ्चालन हुन नसके पनि संक्रमण रोकथामका लागि सुरक्षा सतर्कता अपनाइएको नौगाड गाउँपालिका अध्यक्ष प्रेम सिंह धामीको भनाई छ । क्वारेन्टाइनमा एकअर्काबीच नजिक सम्पर्क गर्न नदिइएको पनि उहाँले बताउनुभयो ।
अन्य जिल्लाको तुलनामा दार्चुलामा बाहिरबाट आउनेको संख्या पनि न्युन रहेको छ । ‘दार्चुलामा ५÷६ हजार व्यक्ति क्वारेन्टाइनमा बसेका छन्, अन्य जिल्लामा यो संख्या दोब्बरभन्दा बढी छ’ स्वास्थ्य कार्यालय दार्चुलाका फोकलपर्सन वीरेन्द्रराज भट्टले भन्नुभयो । कोरोना परीक्षणको अनुपात भने अन्य जिल्लाकै हाराहारीमा रहेको उहाँको भनाई छ ।
क्वारेन्टाइनमा लामो समयसम्म राखिदा बाहिर संक्रमण फैलिन नपाएको पनि स्वास्थ्यकर्मीहरुको बुझाइ छ । क्वारेन्टाइनमा पनि दूरी कायम गरी बसालिएकाले संक्रमण फैलिन नपाएको विश्लेषण गरिएको छ । शंकास्पद व्यक्ति र आरडिटी पोजेटिभ देखिएका व्यक्तिलाई आइसोलेशनमा राख्ने व्यवस्था गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
पछिल्लो समय भारतबाट आएका व्यक्तिहरुमा कोरोनाको संक्रमण हुने सम्भावना बढी थियो । तर धेरैजसोको पिसिआर परीक्षण गरिदा संक्रमण देखिएको छैन । १४ दिनभन्दा बढी समय पूरा भएका व्यक्तिबाट कोरोना संक्रमण फैलिने सम्भावना नहुने स्वास्थ्य कार्यालयले जनाएको छ ।
मालिकार्जुन गाउँपालिकामा हालसम्म ८४ जनाको पिसिआर परीक्षण गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको स्वास्थ्य संयोजक गुणराज ओझाले बताउनुभयो । दार्चुलामा हालसम्म ४ हजार ३ सय ९२ जनाको आरडिटी परीक्षण गरिएको छ । १ हजार १ सय ८१ जनाको पिसिआर परीक्षण गरिएको छ ।
अहिलेसम्म दार्चुलामा कोरोनाको संक्रमण न्युन देखिए पनि निरन्तरको सतर्कता आवश्यक रहेको स्वास्थ्यकर्मीले बताएका छन् । मास्कको प्रयोग गर्न र स्वास्थ्य सुरक्षाका उपाय अपनाउन स्वास्थ्य कार्यालय दार्चुलाले आग्रह गरेको छ ।